असार उनन्तीस तिमी जन्मिएको पावन दिन
खुसीमा छमछम नाचेका थिए तनहुँको रनवन
घाँसीबाट अर्ती पाई अमर बन्ने प्रेरणा पायौ
रामायणलाई नेपाली साहित्यमा तिमीले भित्र्यायौ॥१॥
तिमीले वर्णन गरेको राम र राज्य दुवै छैन आज
लक्ष्मण जस्ता भ्राताप्रेमी छैनन् भाइ आज यहाँ
आपसमा षड्यन्त्र,कपट शक्तिशाली हुने होडमा
आफैँलाई कैदी बनाएका छन् अहङ्कारको खोरमा॥२॥
तिमीले सुगन्ध फैलाएको नेपाली भाषा छैन यहाँ
एकताको माला गाँसेथ्यौ चटक्क चुडिँदै छ आज
नेपाली भाषा साहित्य रूँदै भन्छ आऊ मलाई बचाउन
हिन्दी,अङ्ग्रेजीले सलक्क निल्दैछन् संस्कृतझैँ बनाउन॥३॥
नेपाली बुझ्दैनन् छोराछोरी पढ्छन् अङ्ग्रेजीमा उल्था गरी
तिराउँछ स्कुलले शुल्क यहाँ बच्चाले नेपाली बोले भनी
इज्जत गएको सम्झन्छन् अभिभावक सन्तानले नेपाली बोले भनी
सराप्छन् त्यही शिक्षकलाई सिकाएन भाषा र संस्कृति भनी॥४॥
हजुरआमा नातिनातिनीसँग बोल्न पढ्न थालिन् अङ्ग्रेजी
हजुरबुबा अङ्ग्रेजी सिक्दैछन् नेपाली भाषा गोजीमा कोची
नेताहरूको भाषणामा आधा त अङ्ग्रेजीले मिठास छर्दछ
आफ्नो भाषाको मृत्युवरणमा माल्यार्पण गर्दै डलरले बोरा भर्दछ॥५॥
फेरि जन्मेर आऊ न तिमी भानुभक्त
नीतिका कुरा बधुशिक्षा जस्ता कृति फेरि जन्माउन
नेपाली बोल्दा गर्व गर्ने युवा पुस्ता जन्माउन
एकताको माला गाँसी भाषालाई तीनै लोकमा चिनाउन॥६॥
बिन्ती गर्छु म हात जोडी फेरि जन्मी आउन
सम,देवकोटा, पौडेल, घिमिरेका सुझाव लिई आउन
नेपाली भाषा समृद्ध बनाइ विश्वभाषा बनाउन
पाऊन् नेपाली जनले हरदिन भानुजयन्ती मनाउन॥७॥
शशी खड्का
बूढानिलकण्ठ,काठमाडौँ।
प्रतिक्रिया