भानुभक्त आचार्य नेपाली सांस्कृतिक एकताका नायक हुन् : मा.गंगाप्रसाद उप्रेती

सञ्जय मित्र,रौतहट २०७८ असार २६ गते १५:३३ मा प्रकाशित

सञ्जय मित्र,रौतहट-अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) को भाषा तथा साहित्य समितिद्वारा आयोजित भानुजयन्ती विशेष कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति माननीय गंगाप्रसाद उप्रेतीले आदिकवि भानुभक्त आचार्यलाई नेपाली सांस्कृतिक एकताका नायक भएको बताएका छन्।जूम प्रविधिमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै कुलपति उप्रेतीले स्पष्ट शब्दमा “राष्ट्रको पूर्वाधार निर्माण गर्ने एकीकरणकर्ता पृथ्वीनारायण शाह हुन् भने नेपाली सांस्कृतिक एकताका लागि पूर्वाधार तयार पार्ने सांस्कृतिक नायक भानुभक्त आचार्य हुन्” भनी बताएका छन्।

आचार्यको योगदानको चर्चा गर्दै कुलपति उप्रेतीले भानुभक्तको रामायणले विभिन्न देशमा छरिएर रहेका नेपालीबीच सांस्कृतिक एकताको आधार तयार पारेको बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै डा.तुलसी भट्टराईले पौने दुई सय वर्ष पहिले लेखिएको रामायणले आजसम्म नेपाली साहित्यको धेरै किसिमले प्रतिनिधित्व गरेको बताउँदै यस कृतिले आदिकविको अन्तर्राष्ट्रियकरण गरेको बताएका छन्।

दुई सय वर्ष पहिलेको समाज लेखिएको भानुका कृतिहरुको समालोचना अहिलेको समाजको आधारमा गर्न त्यत्ति स्वाभाविक नहुने प्रभा आचार्य भट्टराईले बताउँदै भानुभक्तको योगदानको मूल्यांकन तत्कालीन समाज र संस्कृतिको आधारमा गरिनु न्यायपूर्ण हुने बताएकी छन्।

प्रा.ज्ञानु अधिकारीले भानुभक्तको जीवनी र योगदानको चर्चा गर्दै कतिपयले भानुभक्तको बधूशिक्षा भन्ने कृतिको कडा आलोचना गर्ने गरेकामा त्यसमा व्यक्त गरिएको विचारलाई तत्कालीन समाजको इतिहासको रुपमा स्वीकार गर्नुपर्ने बताउँदै उक्त कृतिलाई तत्कालीन समाजको अवशेषको रुपमा पनि स्वीकार गर्नुपर्ने तर्क दिएकी छन्।

भानु प्रतिष्ठानका अध्यक्ष प्रा.डा.व्रतराज आचार्यले आदिकविको पारिवारिक जीवन,सामाजिक तथा अन्य प्रभावको विस्तृत परिचर्चा गर्दै आदिकविले नेपाली जातित्वको निर्माण गरेको बताएका छन्।आदिकविको परिवारको तत्कालीन राज्यसत्तामा पनि पहुँच रहेको पनि प्रा.डा.आचार्यले स्पष्ट पारेका छन्।


कार्यक्रमलाई सम्बोधन गर्दै इन्स अध्यक्ष अर्जुन उप्रेतीले कार्यक्रमलाई निकै फलदायी रहेको बताउँदै इन्स विभिन्न देशमा फैलिइसकेको बताएका छन्। अध्यक्ष उप्रेतीले अन्तर्राष्ट्रिय नेपाली चिन्तन केन्द्रको स्थापना हुने संकेत पनि गरेका छन्।

इन्सको भाषा तथा साहित्य समिति अध्यक्ष डा.जानुका नेपाल पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्राज्ञ देवी नेपाल,कविता राई, लोचन भट्टराई, प्रकाश सिलवाललगायतले विभिन्न सन्दर्भका रचना वाचन गरेका थिए।दुई दिवसीय कार्यक्रममा सर्जकहरुको रचना वाचनको मुख्य कार्यक्रम आइतवार राखिएको आयोजकले जनाएको छ।

प्रतिक्रिया