लघुकथाः विचरी चरी

-मित्र उराठी गौतम २०७८ असार २४ गते २२:२० मा प्रकाशित

गोलु आफ्नो घरको वार्दलीमा बसेर घण्टौं त्यहि रुखको हाँगामा नियालीरहन्छ जहाँ चरीले सानो चिटिक्कको गुँड लगाएको छ।चरीले गुँड लगाउन शुरु गरे देखि नै उत्साहित गोलु चरीले अण्डा पारेपछि त झन खुसी भएको थियो।

हेर्दै जाँदा चरीले अण्डा कोरलेर बच्चा पनि निकालीसक्यो।घरि बच्चा छोपेर बस्ने,घरि भुर्र उडेर गै चारो ल्याएर बच्चालाई खुवाउने गरिरहन्छ चरी।चरीको यो गतिविधि देखेर गोलु औधी रमाएको छ।

आज पनि बिहान उठे देखि बासै वार्दलीमा छ गोलुको।चरीको चारो खोजेर ल्याउने र बचेरालाई खुवाउने उपक्रम पनि चलिरहेकै थियो।
चरी नभएको मौका पारेर हेर्दाहेर्दै एउटा सर्प रुखमा चढेर बचेरा सर्लक्कै निलिदियो।निरीह गोलुको मुटुमा भक्कानो फुट्यो।
सोच्यो -“मेरी आमाको जस्तै चरीको पनि बुबु आउँदो हो त यी बचेरा पनि रमाइ रमाइ बुबु खाने थिए र आज यीनलाई सर्पले निल्न पाउने थिएन।” कठै बरी ! विचरी चरी !!

-मित्र उराठी गौतम

अमरपुर-गुल्मी
हालः बुटवल

प्रतिक्रिया