मोरङमा निषेधाज्ञा एक हप्ता थप–सार्वजनिक सवारी साधन सञ्चालन हुने!

इनेप्लिज २०७८ असार २१ गते १५:१४ मा प्रकाशित

विराटनगर,२१ असार।मोरङ जिल्लामा असार २२ गतेदेखि सार्वजनिक सवारी साधन सञ्चालन सहित आगामी असार २८ गते रातिसम्मको लागि निषेधाज्ञाको समयावधि थप गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाद्वारा हस्ताक्षरित विज्ञप्तिमा जिल्लाभर असार २८ गते मध्यरातिसम्मका लागि दशौं पटक निषेधाज्ञा अवधि थप गरिएको छ।निषेधाज्ञाको अवधिभर मोरङमा असार २२ गते(भोलीदेखि) सार्वजनिक र निजी सवारी साधन जोर–बिजोरका आधारमा सञ्चालन हुने भएको सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी महेशराज तिम्सिनाले जानकारी दिनु भयो।

निषेधाज्ञा अवधिभरि सबै किसिमका पसलहरु विहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गर्न दिने र सार्वजानिक र निजी सवारी साधन जोर बिजोर प्रणाली लागू गर्ने आज बसेको सिसिएमको बैठकले निर्णय गरेको सूचना अधिकारी तिम्सिनाले बताउनु भयो।यसअघि अपरान्ह ४ बजेसम्म मात्र पसलहरू खुल्ला गर्ने निर्णय प्रशासनले गरेको थियो।

शैक्षिक संस्था,सैलुन,ब्यूटी पार्लर,व्यामशाला लगायतका खेलकुद,गुद्री, साप्ताहिक हाटबजार सञ्चालन गर्न निषेध गरिएको छ।सङक्रमणको जोखिम यथावतै रहेकोले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनु सवैसँग अनुरोध गरिएको छ।

जिल्ला प्रशासन कार्यालय मोरङले निषेधाज्ञा उल्लङघन गरेमा सरकारले हालै जारी गरेको कोभिड –१९ संकट व्यवस्थापन अध्यादेश –२०७८ बमोजिम कारबाही गर्न सुरक्षाकर्मीलाई निर्देशन दिइएको सूचनामा जनाइएको छ।कोभिड –१९ महामारीको दोस्रो लहर सुरु भएपछि मोरङ प्रशासनले पहिलो पटक वैशाख १८ गते राति १२ बजेदेखि निषेधाज्ञा लगाएको थियो।

 

प्रतिक्रिया