हस्ताक्षर फिर्ता लिन दिएको समयसिमा आज सकिदै,फिर्ता नलिए कार्बाही हुने!

इनेप्लिज २०७८ असार २१ गते १२:५३ मा प्रकाशित

काठमाडौ।काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न एमाले सांसदलाई दिएको समयसीमा आज सकिँदै छ।एमाले अध्यक्ष केपी शर्मा ओलीले हस्ताक्षर फिर्ता लिन आज साँझ बेलुका ५ बजेसम्मको समय दिएका थिए।

देउवालाई प्रधानमन्त्रीका लागि परमादेश जारी गरियोस् भन्ने माग गर्दै एमालेका २३ जना सांसदले सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका छन्।गत शुक्रबार बसेको ओली पक्षीय केन्द्रीय समिति बैठक मार्फत अध्यक्ष ओलीले असार २१ गते सोमबार बेलुका ५ बजेसम्मको समयसीमा दिँदै त्यो बेलासम्म हस्ताक्षर फिर्ता नलिने उनीहरु एमाले हुन नसक्ने बताएका थिए।यद्यपी ओलीले दिएको समयसीमा भित्र माधव नेपाल पक्षले हस्ताक्षर फिर्ता नगर्ने जवाफ दिइसकेको छ।यसले एमालेभित्रको विवाद थप जटिल र नयाँ मोडमा प्रवेश गर्ने भएको छ । ओलीले आफ्नो भनाइ कार्यान्वय गरे भने नेपाल पक्षका २३ जना सांसद कारवाहीमा पर्ने निश्चित छ।

यसबीचमा पार्टी एकताको सन्देश दिन भन्दै दोस्रो तहका नेताहरुले ओली र नेपालको संयुक्त हस्ताक्षरमा विज्ञप्ति निकाल्न गरेको प्रयास पनि असफल भएको छ।सर्वोेच्च अदालतको फैसला आउनै लाग्दा ओली पक्षबाट संयुक्त विज्ञप्तिका लागि भएको प्रयासलाई नेपाल पक्षले मुद्दा कमजोर बनाउने रणनीतिको रुपमा हेरेको छ।

प्रतिनिधिसभा विघटन विरुद्धको मुद्दाको फैसला सर्वोच्च अदालतबाट नआउँदासम्म एमाले एकातको प्रयास निरर्थक हुने देखिन्छ।संयुक्त विज्ञप्तिको प्रयास विफल भएपछि माधव नेपालका बलिया सहयोगी भीम रावललाई ओलीले भेट गरेका छन्।गएराति बालुवाटारमा भएको भेटमा ओली र रावल बीच भएको सम्वादमा के कुरा भयो भन्ने चाहिँ केही सार्वजनिक गरिएको छैन।

प्रतिक्रिया