पृथ्बीसुब्बा गुरुङको दाबी : केपी ओली र माधव नेपालबीच वार्ता हुन्छ, हामी मिलाउँदैछौं (भिडिओसहित)

इनेप्लिज २०७८ असार १९ गते १२:४१ मा प्रकाशित

काठमाडौं, १९ असार । नेकपा (एमाले) का नेता तथा गण्डकी प्रदेशका निर्वतमान मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले एमाले अहिले नभएर धेरै अगाडि नै फुटेको बताएका छन्। उनले भने,‘नेकपा हुँदै यो फुटिसकेको थियो नि, प्रचण्ड र माधव नेपालजी एकातिर भाको हो।त्यतिखेर पनि हामीले पार्टी बचाउन प्रयत्न गरेको हो।तर, चाहीँ भएन।अहिले चाहीँ अब यो झण्डझण्डै अन्तिम बेला हो।एमाले र माओवादी केन्द्रलाई जसरी पूरानै अवस्थामा पुर्याईदियो,त्यसपछि अहिले नेकपा एमाले फेरि चाहीँ, नेकपा फुट्यो दुई वटा भयो । अर्को फेरि एमाले पनि संग्लो नभएर विभाजन र गुटबन्दी यो जो भैरहेको छ।अहिले मुलुकको राजनीति नै संकटमा परेको छ।अस्थिरता सुरु भएको छ।व्यवस्था र संघीयतामाथि प्रश्न उठ्ने काम चाहीँ भएको छ, मौका कुरेर बसेकाहरुलाई सजिलो भएको छ।’

हिजो राति प्राइम टाईम्स टेलिभिजनबाट प्रसारण भएको जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । मुलुकको लागि पनि एमालेको आन्तरिक एकता आवश्यक र अपरिहार्य रहेको सुनाए । उनले नेताहरुले पछि फर्कनसक्नेगरि अगाडिको कदम चाल्नुपर्नेमा जोड दिए । उनले माधव नेपाल संस्थापक नेता भएकोले गलत कदम नचाल्नेमा आफू विश्वस्त रहेको सुनाए । उनले अध्यक्ष ओली र वरिष्ठ नेता माधव नेपालबीच सहमति हुने दाबी गरे । राजनीतिमा कुनै पनि कुरा असम्भव नरहेको जिकिर गरे । दुई नेताबीच लामो समयपछि टेलिफोनमार्फत कुराकानी भएको र आफूहरु दुई नेतालाई वार्तामा राख्न लागिपरेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया