ए भगवान !
मैले सुनेको,
मैले पढेको-
तिमी अपरम्पार
तिमी विराट
तिमी निर्विकार
तिमी शुक्ष्मातिशुक्ष्म
तिमी नै ब्रम्हाण्ड विशाल
तिमी सृष्टिकर्ता
तिमी नै संहारकर्ता
तर भगवान
अण्डा पहिले कि
कुखुरी पहिले
समेत नवुझेको
यो सोझो मनुवाको जिज्ञासा छ
तिमीले हामीलाई बनायौ
कि हामीले तिमीलाई बनायौं ?
मन्दिर भित्र बसि
फूल,अक्षता,नैवेद्य माग्छौ
धन,द्रव्यमा र्याल चुहाउँछौ
जसले बढि चढाउँछ
उसैसँग प्रशन्न हुन्छौ
त्यसैले कहावतै बन्यो-
“धन देखे महादेवका तीन नेत्र”
भगवान !
तिमीलाई मान्छेले माग्ने गरायो
कि तिमीले
मान्छेलाई मगन्ते गरायौ ?
क्विन्टलका क्विन्टल
तिम्रो खजाना
सुनचाँदी,जुहारत के के गहना ?
चाहे सुनामी आओस्
या बाढीपहिरो होस्
विपद्ले मान्छे वेघरवार बनोस्
खानै नपाइ तड्पेर मरोस्
तर तिम्रो खजाना
घट्दै घट्दैन।
झरीले रुझोस्
वा गर्मीले जलोस्
शीतले कठ्याङ्ग्रिएर
थलै परोस्
आफैलाई सुनको छाना बनाउँछौ
आफ्नै भित्तोमा ताम्र लगाउँछौ
दुःखीलाई हुँदैन सानो छहारी
आफू बनाउँछौ स्वर्ण जलहरी
तै पनि
तिमी नै दयालु
तिमी नै कृपालु
त्यसैले प्रभु
यो अज्ञानी भक्तको
जिज्ञासा मेटाइदेऊ।
मान्छेले तिमीलाई बनायो
या तिमीले मान्छे बनायौ ??
—अस्तु—
[email protected]
अमरपुर, गुल्मी
हालः बुटवल
प्रतिक्रिया