कविता : आधुनिक नारी

इनेप्लिज २०७८ असार १३ गते १५:१२ मा प्रकाशित

हातमा कुचो लिएर शुरु हुन्छ मेरो शुभ बिहानी
“बेड टि” खाने अरे ओछ्यानमै फेरि पुर्‍याउनु छ चिया नि
दैलो कसेर गरेर नुहाउँदा ढिलै भयो नि क्यारे
कामै नगरी बस्दिने म त फेरि आधुनिक् नारी अरे ।१।

खाना बनाउँदै हतार-हतार बच्चा पढाउँदै पनि
आउँछ आवाज उताबाट फेरि “मोजा कता छन्” भनी?
खोजेर कपडा भान्सामा आउँदा तरकारी डढ्यो क्यारे
कामै नगरी बस्दिने म त फेरि आधुनिक् नारी अरे ।२।

धन्दा सक्नु छ सबै क्षण भरमा अफिस जान फेरि
कामै नभ्याउने भनेर आवाज घन्कन्छ घरिघरि
एकैपल ढिला भए अफिसमा गाली खाइन्छ क्यारे
कामै नगरी बस्दिने म त फेरि आधुनिक् नारी अरे ।३।

घर फिर्दा हात टनाटन भए भान्सा चलाउनै पर्‍यो
हेर्नुपर्दछ गृहकार्य पनि त्यो बच्चाले के के गर्‍यो
जागिरमा पनि सजिलो मलाई समानुपातिक रे
कामै नगरी बस्दिने म त फेरि आधुनिक नारी अरे ।४।

बाल्नु छैन बोकेर काठ-दाउरा पकाउन के गाह्रो छ?
धाउनु छैन पानी र पँधेरो नि भान्सा भित्रै धारो छ
भ्याउनु छैन ढिकी र जाँतो अनि मेला र पात अरे
कामै नगरी बस्दिने म त फेरि आधुनिक नारी अरे ।५।

स्वतन्त्रता पाएछु सबै कुरामा घरका सबै ज्ञानी
मैले आएर चुलो-चौका नबाले चिया पनि नखाने
चिया-खाजा बनाएर दिँदा दिँदै ढिलै भयो नि क्यारे
कामै नगरी बस्दिने म त फेरि आधुनिक नारी अरे ।६।

एक्काईसौं शताब्दीकि नारी हूँ म के पो सहेकी छु र?
कति छन् कति यी मन भित्र कुरा के नै कहेकी छु र??
पुरुषले झैं समान अवसर मैले पाएकी छु रे
कामै नगरी बस्दिने म त फेरि आधुनिक नारी अरे ।७।

-दुर्गा लोहनी

 

 

प्रतिक्रिया