उनी
आफ्नै आँखाभरि फुलिरहन्छन्
अरूका आँखाभरि झुलिरहन्छन्
उनलाई हाँस्न आउँछ
उनलाई बाँच्न आउँछ
खुल्न आउँछ
डुल्न आउँछ
उनीसँग मिठा ओठ छन्
बाटुला हात छन्
चिटिक्क कोमल पाउ छन्
सुकिला चम्किला आँखा छन्
नबिझाउने भुवाझैं केश छन्
उनी
सधैं मूर्तिमै सुतिरहने ईश्वरझैं सुत्दैनन्
हाँस्दै सुत्छन्
हँसाउँदै उठ्छन्
उनी
प्रिय छन्
जीवन्त छन्
उनी लिङ्ग चिन्दैनन्
सीमा बुझ्दैनन्
देउता पुज्दैनन्
खैर
आफै ईश्वर भएको समेत ख्याल गर्दैनन्
उनी कोही होइनन्
आँखाभरि फुलिरहने
हाम्रै काखमा झुलिरहने
तिनै शिशु हुन्
तिनी ईश्वर होइनन्
फगत मान्छे हुन् ।
हामी मान्छे हुँदै कता जान लागेका ?
-जगन्नाथ पौडेल भर्जिनिया अमेरिका
प्रतिक्रिया