लघुकथाः अटेरी बुढो

मित्र ‘उराठी’ गौतम २०७८ असार ११ गते १०:३१ मा प्रकाशित

जब डोजर आयो वडाध्यक्ष लगायतको समूहले अनावश्यक बाटो घुमाउरो हुन्छ भन्दै पिपल फाल्नै के आँटेका थिए पिपलारुखे माइलाबा बरु चौतारी संगै जोडीएको मेरो बारी मासेर बाटो लैजाऊ तर पिपल नफाल भन्दै जङ्गिए।

गाउँका महिला समूह पनि घरमा पूजापाठ गर्दा चाहिने पिपल पत्ता तथा व्रतमा पूजा गर्ने पिपल मास्नै हुँदैन भनि माइलाबाकै समर्थनमा जुटे।अन्ततः वाध्य भएर माइलाबाको बारी मासेर बाटो हालियो माइलाबा दुखी भएनन् तर बाको कारण बारी मासियो भनि छोराहरुले चित्त दुखाए।

यस घटना पछि वडाध्यक्षको समूहले बालाई अटेरी बुढो भनि नामाकरण गरे।विश्व वातावरण दिवसको सन्दर्भमा आयोजित जूम प्रविधि मार्फत संचालित वक्तृत्वकला प्रतियोगितामा वडाध्यक्षकी छोरी शर्मिलाले पनि भाग लिएकोले चाँसो मानेर वडाध्यक्षले पनि दिनभर कार्यक्रम हेरेका थिए आखिर शर्मिला जिल्लामा प्रथम स्थान हासिल गरीन्।प्रतिस्पर्धी सबै विद्यार्थीको विचार सुनेपछि वडाध्यक्षको पनि घैंटोमा घाम लागेको थियो।

आज पालिकाबाट फर्कदा माइलाबा चौतारोमा बसी साँझको हावा खाइरहेको देखेपछि वडाध्यक्ष पनि चौतारोमा सुस्ताउँदै माइलाबा सँग माफी मागे।यस पटकको लकडाउनले गाउँमा गाडिको आवतजावतको कमी तथा जङ्गलमा आगलागी र वन विनास पनि नभएकोले हेर त कति नयाँ नयाँ चराहरु देखिएका छन् ,ऊ त्यो अग्लो सिमलमा कैयौँ वर्षपछि गिद्धले गुँड लगाएको छ।यो पोखरी सरसफाईं पछि अस्तिको वर्षाले भरीएर अहिले भ्यागुताको ट्वार्र ट्वार्र कति रमाइलो छ र साँझमा पोखरीमा चन्द्रमाको प्रतिविम्व कति मनमोहक छ।वक्तृत्वकलाको प्रभाव र माइलाबाको बयानले वडाध्यक्ष भावविभोर भए।गाउँ पालिकाले आयोजना गरेको विश्व वातावरण दिवसमा वडाध्यक्षकै सिफारीसमा माइलाबा पनि सम्मानित भए,सबैले खुसीयालि व्यक्त गर्दै बालाई बधाई दिए।आजबाट फेरि अटेरी बुढाको नाम फेरीएर वातावरण संरक्षण अभियन्ता बन्न पुग्यो।

-मित्र ‘उराठी’ गौतम

अमरपुर,गुल्मी

प्रतिक्रिया