सोमबार, साउन २३ २०७९
काठमाडौं ०४:५८
वासिङटन डिसी 19:13

चमेलीको बिहे

सन्तोष बिडारी २०७८ असार ८ गते २२:४२ मा प्रकाशित

जेठको महीना, बिहानको ११ बजे भएता पनि चर्को घाम लागि रहेको छ। जाई र जुईका फुलहरुले भिर पाखाहरु पहेंला देखिरहका छन्। चराचरुंगिहरु आफ्नै चिरिबिरीमा रमाईरहेका छन्। निलो आकाशमा कोईलीहरुको कु-कु ले बनतिर काफल पाकेको संकेत दिइरहको छ। यतिकैमा बल भान्दाइ सबेरैको खाना खाईओरी १ घन्टाको बाटो हिंडेर चमेलीको घरमा आइपुग्छन्। आज शनिवार, चमेलीको बा साबिकको भन्दा अलि ढीलो खाना खाएर फलैंचामा बसेर नरकटको नलिले तमाखु तान्दै थिए। भान्दाइले जरिकोटबाट सेतो कपडाको रुमाल झिकेर पसिना पुच्छन्, हातको छातालाई डंडाल्लो पछाडी झुन्डाउंदै चमेलीको बालाई दुई हात जोडेर नमस्कार गर्छन्, मामाले पनि आदरपुर्वक नमस्कार फर्काउंछन्। बल भान्दाइ उमेरले चमेलीको बा भन्दा ४ बर्ष मात्रै कान्छा छन्। टाढाको साईनोले मामा भान्जा भएपनि, उनिहरुको सम्बन्ध सार्है राम्रो छ। हातको हुक्का भान्दाइलाई दिएर चमेलीको बा भित्र भान्छामा गएर पीत्तलको गिलासभरि बाक्लो दही लेराई भान्दाइलाई दिन्छन्। त्यतिन्जेलमा बल भान्दाइले तमाखुको २-४ सर्कोको धुंवा आकाशतिर फालि सक्छन् र अगिन डंडाल्लो पछाडी राखेको छातालाई झिकेर दलिनमा झुन्डाउछन् अनि फलैचाको छेउमा थचक्क बस्छन्।

भान्दाइ दहीको चुस्को लिंदै मामा संग भलाकुसारी गर्न थाल्छन्। केही बेर पारिवारिक सन्चो बिसन्चो, राजनीतिक, र खेतीबालीको कुरा पछि मुख्य कुरा निकाल्छन्, चमेलीको बिहेको। “हेर्नुस मामा, हउरको( हजुरको) कुरो के भन्देखुन भने पारी ओढारे गाऊँबाट चमेलीको बिहेको कुरो आछ, हउरको केटो भन्या जस्तो छ। बि ए पासगर्या, काजि लप्टनको छोरा, निकै भद्र ब्यवहारको, नसामा नलागेको, खेतीबारी प्रसस्त भको छ। हउरको हाम्रो चमेलीलाई एकदम जोडा मिल्नि छ” भनेर मामालाई मख्ख बनाउंछन्। चमेलीको बाले पनि भान्दाइसंग गत महीना यसो छोरीको बिवाहको कुरा निकालेका थिए। चमेलीको बा, बल भान्दाइको गफ तमाखु तान्दै यसो बिचार गर्छन्। ठीकै हो, चमेलीको उमेर पनि पुगेको, आई ए पासनि गर्या छे, गरेर खान्छे नै भन्ठान्छन्, त्याहां माथिनी भान्जाले ल्याको कुरालाई नाईनास्ती गर्न मानेनन् र भने, “ हेर्नुस् भान्जा, यसो हेर्दा केटो राम्रै जस्तो छ, भगवानले हाम्रै छोरीलाई लेख्या छ भने फरक खांदैन, ल ठीकै छ, चाइने कुरा अगाडी बढाउनुस्” भनेर भान्जालाई भन्छन्। यी सबै कुरा घरको कुनाको धारामा लुगा धोईरहेकी चमेलीले नसुनेकी जस्तो गरेर सबै सुन्छिन्। खै के सोचिन् कुन्नि, लुगामा साबुन लगांउदै गर्दा चमेलीलाई लुगाको सट्टा ढु़ंगामा साबुन दलेको पत्तै भएन। चमेली पनि बिवाहको लागि राजिनै देखिन्छे। यतिकैमा तल्लो खेतमा मल छर्न गएकी चमेलीकी आमा पनि घरको आंगन छेउमा डोको बिसाएर एकै छिन बल भान्दाइसंग सन्चो बिसन्चोको कुरा गर्छिन्। दिउसेको २ बजिसकेको छ। चमेलीको आमाले भान्छामा गएर खाजाको ब्यबस्था गर्छिन्। खाजासाजा खाएर बल भान्दाइ पनि, “हस्त मामा म कुरो अगाडी बढाऊंछु, हउरको चाइनि म ऐले लाग्छु” भन्दै दलिनबाट आफ्नो छाता झिकेर घरतिर लाग्छन्। ऑगनमा सुकाको गहुं चराले खायो भन्दै हातको नलिले फलैंचाको डिलमा चराहरु धपाउन प्याट्ट हानेर चमेलीको बा पनि पुनः आफ्नो कामतिर लाग्छन्। बेलुकाको खाना खांदै चमेलीको बाले सबैकुरा परिवारलाई सुनाउंछन्। चमेलीको बिहेको लागि चमेलीको भाइ बाहेक सबै मन्जुर हुन्छन्। भाइलाई चाहिं दिदीको माया र घर छोड्छे भन्ने पिर, अनि स्कुलको कार्यमा कस्ले सहयोग गर्ला भन्ने गुनासो। खानाको धन्दा सकाएर सबैजना आ-आफ्नो कोठामा जान्छन्। बाहिर झरी परेकोले गर्मी अलि घटेको छ।

चमेलीको बिवाहको कुरा तय भएको आज तेस्रो दिन, चमेलीको बाको अफिसमा भान्दाइले यही आईतबार केटी हेर्न आउने भनेर खबर पठाउँछन्। चमेलीको बा हाकिमलाई भनेर चांडै अफिसबाट बिदा लिएर नजिकैको पसलमा बोक्ने जति सामान आईतबारको लागि किनेर घरतिर लाग्छन्। बाटामा बाटाघर काकाको छोराले चमेलीको बालाई सामान बोक्न सहयोग गर्छ। घरमा आईतबार केटी हेर्न आउने खबर सुनेपछि चमेलीकी आमा अरु सरसामान जोड्न गॉउतिर लाग्छिन्, चमेली र भाइ घर वरिपरिको करेसा, आंगन, चोटा कोठा सफा गर्नतिर लाग्छन्। चमेलीको बा भने दिउसोको थकानले, एक चिलिम तमाखु बनाएर पुन फलैचामा बसेर ट्वार्र ट्वार्र गर्दै तमाखुको धुवाँ आकाशतिर फ्याल्छन्। छोरीको बिहेको कुरा, बुढ़ा बेला बेला हातको नलिलाई मुसार्दै ट्वाल्ल परेर केही सोचेको जस्तो नि गर्छन्।

आज आईतबार, चमेलीलाई हेर्न आउने दिन, जेठको १५ गते। बिहानै पानी परेकोले खासै त्यस्तो गर्मी पनि छैन। सधैं धुलोले हिड्न नहुने बाटो झरिले गर्दा अलि साम्य छ। चमेलीको बाले बोलाएका ४-५ जना ईस्टमित्र र वरिपरीका छिमेकीहरू क्रमश चमेलीको घर आईपुग्छन्। कोही भने चमेलीको आमालाई भान्सामा सघाउंन लाग्छन्।दिउसो २ बजे तिर बल भान्दाइ समेत केटो (भैरब), केटोको बा अनि २-४ जना केटाको परिवार केटी हेर्न चमेलीको घर आईपुग्छन्। १०-१५ मिनेटको चिनजान पछि केटी हेर्ने कुरो हुन्छ। चमेलीको बाले हात हल्लाएर चेमेलीलाई बोलाउन आफ्नो श्रीमतीलाई संकेत गर्छन्। चमेली केही क्षणपछि २ हातले सरबत राखेको पिलेट समाउंदै कोठामा प्रवेश गर्छे। सरबत भएको पिलेट अगाडी टेबुलमा राखेर सत्कारपुर्वक सबैलाई नमस्कार गर्छे। आज चमेली बिशेष राम्री देखेकी छे। बाटुलो अनुहार, लामो कपाल तर आज मुजा बनाएकी, पुक्क परेको रातो गाला, गालाको छेउको सानो कालो कोठी, अगाडी दांया बांया सानो दारा निस्केको दाँत भएपनि चौपट्टै ऊज्यालो मुस्कान, छिनेको बाटुलो कम्मर, कस्सिएको जीऊ, लामा गोरा हात पाखुरा, अनि निदारमा सानो बिन्दुको टीका, मिलेको बाक्लो ओठमा मलिनो गुलाफी लाली र सुहाउने रंगको कुर्था सुरुवालमा सजिएकी चमेलीलाई भगवानले बनाउंदा पनि फुर्सदले बनाएको भान हुन्छ। इन्द्रलाई नि यस्तो रुप देखेर गार्हो हुने बेलामा बिचरा भैरबको के लागोस्, उस्ले लगाएको कालो चस्मा निकालेर चमेलीको अनुहारमा एकछिन् टक्क ऑखा जुधाउंछ।पढेलेखेकी केटी, राम्री, अनि खान्दानी परिवारमा हुर्केकी चमेलीलाई मन नपराऊने कुरै भएन। काजि लप्टनले भान्दाइतिर आंखा लगाएर केटी मन परेको संकेत दिन्छन्। भान्दाइले केटा र केटी एक्लै छेउमा गएर कुरा गर्न ईशारा दिन्छन्। चमेलीलाई पनि पढे लेखेको, भद्र स्वभावको, फराकिलो जीऊ, दांत टम्म मिलेको केटो मन नपर्ने कुरै भएन। केही क्षणको चिनजान पछि केटा र केटी दुबै राज़ी हुन्छन्। खाना साना खाएर केटा परिवार बिदाबारी हुन्छन्।। भैरवले जानेबेलामा एकचोटी चमेलीलाई फेरी ऑखा जुधाउछ। चमेली मुसुक्क हांसेर कोठातिर लाग्छे। भान्दाइ यसको केही दिनमै टीकाटालाको काम फत्ते गरेर अशाढ ९ गतेका दिन बिहेको लागि शुभसाईतको दिन छ भनेर दुबै परिवारलाई जानकारी दिन्छन् । दुबै परिवारको मन्जुरीमा असाढ ९ गतेका दिन चमेलीको बिहेको पक्का गर्छन्।

चमेलीको बिहे हुन अब केबल दुई दिन मात्र बांकि छ। चमेलीको बुबाले २-४ पैसा ऋण गरेर भएपनि भब्य तरीकाले चमेलीको बिहे गर्ने अठोट गरेका छन्। आफ्नो कान्छी बहिनी संग २-४ दिन अघिनै शहर गएर दुलहीका लागि चाहिने लुगापाटा देखि गरगहना र अरु सरसामानहरु एकमुस्ट जटाई सकेका थिए। आज चाहीं सबै मीठाईहरु बनाउने, भत्तेरको लागि सरसामान भांडाहरु जुटाउने चपेटाले छिमेकीहरु बिहानै देखि लागिपरेका छन्। सुबदार्नी बजै सबै महिलाहरुलाई यो गर त्यो गर भन्दै ब्यस्त छिन्। बुढी बेलाबेलामा मैं जान्ने सुन्ने भन्छिन् त्यसैले आईमाईहरु संग त्यति कुरो मिल्दैन। चमेलीको आमा भने १-२ जनालाई लिएर बिहेको लागि कसार र फुरन्दाना बनाउन तल्लिन हुन्छिन्। चमेलीको बा ले “ केरे भन्देखुन्, मीठाई चाहिं अलि मज्जाले पकाओ है केटा हो। चाईनी बुढापाकाले खाने, फेरि पचाउन गार्हो होला” भन्दै मीठाई पकाउनेलाई सल्लाह दिन्छन्। जे होस्, “मर्दा मलामी पर्दा जन्ति”, भनेजस्तै भए भरका सबै छिमेकीहरु एकाग्र रुपमा सहयोग गर्न लागेको देख्दा चमेलीको बा पनि दंग पर्छन्। बिहेको लागि लिंग गाड्न र घर सिंगार्ने काम बाहेक सबै सकेर ४ नै नबजि प्रायः छिमेकीहरु आफ्नो घरतिर लाग्छन्। चमेलीको आमा छुटेका अरु काम गर्न तर्फ लाग्छिन्। घरमा आएका पाहुनाको बच्चाहरुको घांईघुईले र मीठाईको बास्नाले चमेलीको घर सॉच्चैनै बिहे घर भन्ने भान हुन्छ।

आज असाढ ९ गते, चमेलीको बिहेको दिन। चमेलीको घर आंगनमा जग्गे देखि, घर वरिपरि सजाईएको बिभिन्न रंगका ध्वजाहरु मलिनो हावामा फरफराई रेहको छ। घर अगाडी रातो चतुर्भुज कपडामा कपाशले टॉसेर लेखेको “शुभ बिवाह स्वागतम्” टागिंएको छ। मान्छेहरुको ओहोर दोहरले घरमा घुंइचो भएको आभास् हुन्छ। घर अगाडी बारीको पाटामा पाल टॉगेर जन्तिपाटिलाई छुट्याईएको छ। त्यसको नजिकै सानो ठाऊमा मीठो पुलाऊ र खसिको मासुको बास्ना आईरहेको छ। करीब १० बजे, अगाडी पटी आर्मीको ब्यान्ड, त्यसको पछाडी रातो सजिएको गाडी, जसको अगाडी पटि B + C (भैरब + चमेली) लेखेको छ र एक मिनीबस बिहे घर नजिक चट्ट रोकिन्छ। चमेलीको बा र पन्डित बाजे लगायात आफन्तहरु मिलेर क्रमिक रूपमा पहिले बाजा बजाउने, त्यसपछि दुलाहा र जन्तिहरुलाई स्वागत गर्छन्।अनि दुलाहा बिहेको मन्डप तिर प्रस्थान् गर्छन्। जन्तिहरू भने खाना खानतिर लाग्छन् । पन्डित बाजेले चमेलीलाई बेलाएर जग्गेको काम सुरु गर्न आह्वानगर्छन्। चमेली आज सुन्दरताले धपक्क बलेकी छे। रातो सारी, रातै चोलो, भए भरको गहना अनि श्रींगारमा सजिएकी चमेलीलाई, उनको सुन्दरताको ब्याखा नगर्ने आज कमै छन् होलान्। बिहेको अरु कार्यहरु एवंम रितमा चलिरहेको छ। कोही जन्ती पाटी बारीमा सुकुल ओछ्याएर तास खेल्दै छन्। कोही बाजाको तालमा नाचगान गरिरहेका छन् भने कोही अधबैसेहरु केटीपटिको नवयुवतीहरूलाई ऑखा लॉउदै छन्। दिउसो २ बजेतिर भैरबले चमेलीलाई सिंदुर लगाईदिएपछि खुशियाली मनाएको हल्ला खल्लाले माहोलनै अर्कै बनाईदिन्छ। केही घन्टा पछि चमेलीलाई अन्माईन्छ। बा आमा अनि आफन्तको निराश अनुहारमा सुंक्क सुंक्कको आवाज निस्कन्छ। कहीले नरुने चमेलीको बा पनि छोरीलाई बिदा गर्न गाडी सम्म आउछन् र दुलाहलाई, “लौ हजुर मारे पाप, पाले पुण्य। आजदेखि चमेलीलाई चाईनी हजुरलाई सुम्पिदिए।” भनेर रसिलो ऑखाले छोरीलाई बिदाई गर्छन्। बा संगै बसेको भाइ पनि ऑखाभरि ऑसु लिएर दिदीलाई हात हल्लाएर बिदा गर्छ। चमेलीनी एक चोटी भक्कानो छोडेर रुन्छिन् र त्यसै क्रममा गाडी र जन्ति बसले बिस्तारै आफ्नो रफ्तार बढाऊँछ ।

बेहुली घर भित्र्याएपछि चमेलीले आफ्नो नयां घरमा सासूदेखि लिएर सबै परिबारले एक पछि अर्को गरेर परिचय र कोहीले उपहारको आदान-प्रदान गरेर खाना खानतिर लाग्छन्। घरको बॉकि सबै कार्यक्रम सकाएर पुरै घुम्टै सहित सजिएकी दुलही, चमेली आफ्नो पतिको कोठातिर लाग्छिन्। भैरब पनि मजेरीमा बसेर एकछिन सबैजना संग गपगाफ गरेर हातमा सधैंको जस्तो तर आज भने २ गिलास तातो दुध लिएर दुलही सहित सजिएको आफ्नो कोठा तिर लाग्छ। दुधको गिलास टेबुलमा राखेर ढोकाको चुकुल बिस्तारै लगाउंछ।

बल्ल भने भैरवले आफ्नो दुलाही चमेलीको घुम्टो खोलि दिन्छ र नजिकबाट नयन जुधाउंछ। चमेलीको जिन्दगीमा पहिलो चोटी कसैले यसरी नजिकैबाट नयन लगाउने आफ्नै दुलाह भएकोले मन मनै चमेली गर्ब पनि गर्छे, र मैन बत्ति जस्तै पग्लिन्छे पनि। भैरब फेरि एक चोटी उठेर कोठाको बत्ति निभाऊंछ। झिसमिसे रात, आकाशको चन्द्रमा पनि बादलबाट एक क्ष्यणको लागि बाहिर निस्केर नव दम्पतिलाई शुभकामना दिएको जस्तो गरेर पुन बादलमानै बिलाउंछ। बंगैचामा फक्रेका फ़ुलहरु पनि आज बिहको रात, लजाएको जस्तो गरि गुसुमुस्स भएका देखिन्छन्।चमेलीले आफ्नो शारीरिक गहना सबै भैरबलाई सुम्पिदिन्छे। भैरबले चमेलीलाई पुर्ण रुपमा आफ्नो दुलही बनाउंछ। रात एवंरितमा बढिरहेको हुन्छ, दाम्पत्य जिवनको सुन्दर भबिश्यको पर्खाईमा।।।।

आज चमेली बिरामी आमालाई हेर्न माईत आएकि छे। चमेलीको बिहे गरेको पनि तीन बर्ष पुगिसके छ। साथमा २ बर्षको काखे छोरा पनि छ। चमेलीको दुलाहा चाहिं बिदेश गएको आज ठ्याक्कै ५ महीना पुगेको रहेछ।

क्रमश:

सन्तोष बिडारी
जन्मथलो: नैकाप
हाल: भर्जिनिया, अमेरिका
जुन २१, २०२१

 

प्रतिक्रिया