कविता : भरिया दाई ! मुस्कान थाम्न ऐठन भो 

अलका मल्ल २०७८ असार ७ गते १५:४३ मा प्रकाशित

कहाँ जान हिंडेको भरिया दाई ?

एक क्वीन्टल भारी काँधले थामी

मैले भनें भरिया दाइलाई

एकछिन बिसाउनु भारी कतै

 

पसिनाको धारो अटुटै बग्यो

शरीरले थाम्न नसक्दो देखियो

भरिया दाई स्वाँ स्वाँ गर्दै

गन्तब्य तिर लम्किनै रह्यो ।

 

भरिया दाई संगै म पनि हिडें

सोध्न कौतुहल भो धेरै कुरो

भरिया दाईको फाटेको कुरकुच्चा

खुट्टाका अमला बाँङ्गा र टिङ्गा ।

 

खाली खुट्टो लमक्क लम्किंदै

यात्रा उसले जारीनै राख्यो

गरिबीले खुम्चेका बेरुजु मुस्कान

थकान मेटाउन चौतारो खोजेन ।

 

खोक्रो जीवन चर्केको दिनचर्या

अन्तर मनमा बसेको घाउ

अनुरोध गरें भरिया दाईलाई

एकछिन बिसाउन भारी कतै

 

भरिया दाइ भन्छ ः

यहि कमाइले आजको छाक टार्नु छ

बेर भएछि परिवार बिचल्लित हुन्छ

छाप्रोमा सुत्केरी बुढी, सानो बालक

तिहुन बनाउन अली छिट्टै पुग्नु छ ।

 

पोहर साल छोरी कोरोनाले बितिन्

यसपाल राम्ररी स्यहारी जोगाउनु छ

सम्पत्ति भने पनि परिवारनै हुन्

गरिबको घरमा राहत भित्रिन्नन् ।

 

छताछुल्ल टुक्रिएका पिडा लुकाउँदै

कर्मले खोसेको बाध्यात्मक कम्पन

दुइ छाक टार्न मुस्किल मर्म कथा

कसले सुन्दा हुन् र चर्केको ब्यथा !

 

सम्झी सम्झी भरिया दाईलाई

कठिन मुस्कान थाम्न ऐठन भो

जम्का भेटको भरिया दाई

मानस पटलमा घुमीनै रह्यो ।

 

अलका मल्ल

काठमाडौ

 

प्रतिक्रिया