बिहीबार, साउन १४ २०७८
काठमाडौं १७:०१
वासिङटन डिसी 07:16

“के गर्दैछ एनईसीसी ?”

इनेप्लिज २०७८ असार ५ गते २२:४१ मा प्रकाशित

 

 

एनइसीसीका सम्पूर्ण सदस्यहरु,स्वयंसेवीहरु,शुभचिन्तकहरु तथा समुदायका सदस्यहरु,
नमस्कार।

नेपाल शिक्षा तथा साँस्कृतिक केन्द्र (एनइसीसी) विगत २ दशकदेखि अग्रजहरुको सपना र उदाउँदै गरेको पुस्ताको आवश्यकतालाई सम्वोधन हुने किसिमको आध्यात्मिक तथा धार्मिकस्थल (पशुपति–बुद्ध मन्दिर) डिसी महानगर क्षेत्रमा निर्माण गर्न उपयुक्त स्थलहरुको खोजी गर्दै हालको स्थानमा आइपुगेको छ।वेल्सभिलसम्मको यात्राको इतिहास समाजसामु छर्लङ्ग नै छ।एनइसीसी र यस अन्तर्गत सञ्चालित मन्दिरलाई वेल्सभिलसम्म ल्याइ पुर्याउने आ-आफ्नो स्थानबाट सहयोग गर्नुहुने सम्पूर्ण आदरणीय अग्रज र नेपाली समुदायप्रति एनइसीसी सदा ऋणी रहेको छ।

वेल्सभिलको जग्गामा निर्माण कार्य सञ्चालन गर्न केही कठिनाई छ भन्ने कुराको ज्ञान हुँदाहुँदै पनि यहाँको जग्गाको क्षेत्रफल,एकान्तस्थल र धार्मिक तथा आध्यात्मिक गतिविधिहरु सञ्चालन गर्न उपयुक्त भएका कारणले यस स्थानलाई रोजिएको इतिहास साक्षी छ।स्थान त रोजियो तर आर्थिक अवस्थाका कारणले मन्दिर निर्माण कार्य अगाडि बड्न नसकेको पनि यहाँहरुलाई विदितै छ।

यही पक्षलाई सबल बनाउनका लागि सन्२०१४ देखि २०१८ सम्म आर्थिक संकलनको कामलाई व्यापकरुपमा परिचालन गर्न थालियो।

‘डलर अ डे’ तथा ‘द्यौसी–भैलो’ लगायत सम्भव भएसम्मका गतिविधिहरु सञ्चालन गरिए र नतिजा समेत उत्साहजनक नै रहँदै आयो।

बल्ल सन्२०१९ देखि निर्माण कार्य अगाडिका आवश्यक प्रकृयाहरु अन्तर्गत नेपाली पन झल्कने नेपाली मन्दिरको डिजाइन र सो अनुसारको निर्माण कार्य गर्न काउण्टीमा पर्मिटका प्रकृयाहरु अगाडि बढाउने काम शुरु भयो।

जग्गा खरिदकै समयमा सबैलाई थाहा भएकै विषय थियोकि वेल्सभिलको मन्दिर रहेको स्थानमा सार्वजनिक ढल र पिउने पानीको व्यवस्था छैन।सेफ्टिक ट्यांक,जमिन मुनी पानीको भण्डारण गर्ने ट्याँक निर्माण तथा सडक (एक्सेस रोड)आदि आफैँले निर्माण गर्नुपर्ने वाध्यता रहेको छ,जुन खर्चिलो नै छ।सेफ्टिक ट्यांक निर्माणका लागि जग्गामा भएको माटो परिक्षण लगायतका काम पश्चात ६० जनासम्म मात्र भेला हुनसक्ने भनि काउण्टीबाट पर्मिट प्राप्त हुनसक्यो। ६० जनाको क्षमताको मन्दिरलेअग्रजको सपना र समाजको आवश्यकता पूरा हुन नसक्ने भएकाले काउण्टीमा पुनः थप संख्याको पर्मिटका लाागि अप्रिल २०२१ मा पुनः पर्कुलेसन टेस्ट गराइयो तर नतिजा नकारात्मक रह्यो।संख्या थप गर्न सकिने अन्य वैकल्पिक उपायहरु माथि विचार गर्दा निम्नानुसारका काम गरिएको जानकारी प्राप्त भएको छ-

–स्याण्ड माउण्ट गर्ने,(अत्यन्तै खर्चिलोउपाय हुने भएकाले एनइसीसीका लागि असम्भव)
– पर्कुलेसन टेस्टमा सकारात्मक नतिजा आउने भएमा र विक्री गर्ने भएमा छिमेकीहरुको जग्गाको केही भाग खरिद गर्न सकिने सम्भावना सहित कुरा गर्दा कुनै पनि छिमेकीहरुले जग्गा विक्री गर्न नचाहेको जवाफ प्राप्त भएको।
– प्राप्त पर्मिटका आधारमा सेफ्टिक ट्याकं निर्माण पश्चात हाल प्रयोग गरिरहेको सेफ्टिक ट्याँकको क्षमता समेत जोड्दा ६० जना भन्दा बढिको क्षमताको हुने विश्वास लिइएकोमा काउण्टीको भनाइ अनुसार नयाँ सेफ्टिक ट्याँक निर्माण पश्चात हाल प्रयोग गरिएको ट्याँक बन्द गर्नुपर्ने।
यसरी संख्या थप गर्न सकिने विकल्पहरु मध्ये कुनै पनि विकल्प सकारात्मक हुने सम्भावना भेटिएन।
उपलब्ध ६० जनाको पर्मिटलाई स्विकारेर निर्माण कार्य गर्ने हो भने पनि काउण्टीको पर्मिटका आधारमा निर्माण कार्य गर्दा १३ लाख डलर भन्दा बढि खर्चगर्नु पर्ने अवस्था देखियो। यति हुँदाहुँदै पनि मन्दिर निर्माणकार्य अगाडि बढाउने हो भने सयौँ व्यक्तिहरुको उपस्थितिलाई सम्वोधन गर्नसक्ने मन्दिरकोनिर्माणको सपनालाई सदाको लागि ६० जनाको संख्यामा खुम्च्याएर बस्नु पर्ने बाध्यता आइपरेको यथार्थ समुदायमा जानकारी गराउँदछौँ।
अप्रिल २०२१ मा आइपुगेपछि मात्र जब यस प्रकारको गम्भिर यथार्थको बारेमा पूर्ण जानकारी प्राप्त भयो तब एनइसीसीसँग दुईवटा विकल्प मात्र अगाडि थिए :

१.तेह्र लाख डलर भन्दा बढि रकम खर्चेर सिमित संख्या (६० जना) को लागि मात्र मन्दिर निर्माण गर्ने,वा
२.समुदायको सपना पूरा हुनसक्ने वैकल्पिक स्थानको खोजी गरी मन्दिर निर्माण गर्ने। २०२० मा कोभिडको कहर शुरु भएपछि मन्दिरका सम्पूर्ण गतिविधिहरु करिब १ वर्षसम्म ठप्प भए। फलस्वरुप यस विषयमा छलफल वा निर्णय गर्ने काम पनि रोकियो। तर सन्२०२१ देखि भर्चुअल माध्यमबाट बैठक र छलफललाई निरन्तरता दिन थालियो। दर्जनौ भर्चुअल बैठक र छलफलहरुबाट निम्न आधारहरुमा रही अर्को उपयुक्त स्थानको खोजी गर्ने निर्णयका साथ ‘जग्गा खोजी गर्ने समिति’ गठन गरियोः

१.नेपाली समुदायको भविष्य समेतकोआवश्यकता सम्बोधन गर्ने र कम्तिमा पनि वेल्सभिलमा निर्माण गर्ने भनि तयार गरिएको नेपाली मन्दिर लगायतका निर्माण कार्य गर्न सम्भव हुनु पर्ने।
२.ल्यान्हम र वेल्सभिलमा निर्माण कार्य गर्न बाधा पारेका विषयहरु सम्वोधन हुनुपर्ने।
३.सम्भव भएसम्म मेरिलैण्ड,भर्जिनिया र डिसी क्षेत्रको बीचमा नेपाली समुदायको घनत्व बढि भएको क्षेत्र हुनुपर्ने।
४.सम्भव भएसम्म हालको जग्गाको क्षेत्रफल बराबर वा त्यो भन्दा बढिभएको र मुख्य राजमार्गहरुबाट सकेसम्म नजिक हुनुपर्ने।
५.जग्गाको मूल्य १.५ मिलियन भन्दा बढि हुन नहुने।
उल्लेखित आधारहरुमा रही जग्गा खोजीगर्ने समितिले  बजारमा उपलब्ध अन्य थुप्रै जग्गाहरु हेरेपछि निम्न विशेषता रहेको जग्गाको सिफारिस
गरेको छः

१. 22022 Ridge road, Germantown, MD 20876 मा १६.८४  एकड क्षेत्रफल रहेको १२ लाख मूल्य राखिएकोजग्गा,
२.सार्वजनिक ढल तथा पानीको तथा सडकको व्यवस्था भएको ,
३.हाइवेबाट ३ माइलभन्दा कमको दूरीमा नेपाली तथा भारतीय मूलका व्यक्तिहरुको बाक्लो बस्ती भएको ।
४.उक्त जग्गामा १३० वर्ष अगाडि निर्माण भएको र काउण्टीले ऐतिहासिक भनेर किटान गरेको एक घर लगायतका अन्य कटेज स्टाइलमा ससाना घरहरु रहेको ।
समितिले उल्लेखित जग्गालाई सम्भावित जग्गाको रुपमा सिफारिस पश्चात हालसम्म सम्पन्न भएका गतिविधिहरु तथा प्राप्त जानकारीहरुः

१.समितिलाई दिइएका आधारहरु मध्ये अधिकांश आधारहरु सम्वोधन हुनसक्ने तर ऐतिहासिक घर भनेर काउण्टीले किटान गरेका कारण
मन्दिर निर्माण कार्य गर्न पाउने वा नपाउने विषयमा काउण्टीसँग बुझेर अगाडि बढ्ने निर्णय ।
२.एनइसीसीका स्वयंसेवी इन्जिनियरहरु सहित काउण्टीको ऐतिहासिक क्षेत्र हेर्ने विभाग र अन्य सम्वन्धित विभागका प्रतिनिधिहरुको भर्चुअल बैठक सम्पन्न ।
३. काउण्टीबाट प्राप्त प्रारम्भिक जानकारीःऐतिहासिक भनिएको घरको बाहिरी बनोटलाई संरक्षण गर्दै भित्री भागमा आफ्नो अनुकूल काममा उपयोग गर्न सकिनेर मन्दिर निर्माणको बिष्तृत योजना पेश गरेपछि कुन कुन निर्माणहरु कसरी र कहाँ गर्न स्विकृती मिल्न सक्छ भन्नेबारेमा काउण्टीले बिष्तृत जानकारी गराउन सक्ने।

४.काउण्टीबाट प्रारम्भिक रुपमा प्राप्त सकारात्मक प्रतिकृयाका आधारमा रहेर मुख्य निम्न सर्तसहित जग्गा खरिद प्रकृया अगाडि बढाइएकोः

–कन्ट्रयाक्ट रेटिफाइ भएको दिनदेखि ४५ दिनसम्म फिजिबिलिटी स्टडीको समय आवश्यक पर्ने ।
–यदि फिजिबिलिटी स्टडिबाट हाम्रा योजना अनुसारका गतिविधि सञ्चालन र निर्माण कार्य गर्न नमिल्ने भन्ने भएमा कन्ट्रयाक्ट रद्ध गर्न सकिने।
५.अत्यन्तै मिहिनेतका साथ नेगोसियसन गरी १२ लाख डलरमा विक्रीमा राखिएको जग्गा ८७५,०००.०० मा माथि उल्लेख गरिएकासर्तहरु जग्गा धनीले मान्नेगरी जुन ११, २०२१ का दिन कन्ट्रयाक्ट गरिएको ।
६. कन्ट्रयाक्ट पश्चात भोलिका दिनमा मन्दिर निर्माण र सञ्चालनमा कानूनी, सामाजिक तथा सरकारी क्षेत्रबाट अवरोध हुन सक्ने-नसक्ने विषयमा अध्ययन गर्न विभिन्न समितिहरु गठन गरी कार्य प्रारम्भ भइसकेको ।
७.मन्दिर लगायत अन्य निर्माण योजनाको साइटप्लान सहित छिटै काउण्टीसँग औपचारिक रुपमा बैठक बसी साइटप्लान अनुसारका निर्माण कार्य के कसरी गर्न सकिने वा नसकिने विषयमा निर्णय लिइने।
८.काउण्टीको निर्णय अनि सामाजिक र कानूनीरुपमा समेत भविष्यमा मन्दिर निर्माण र सञ्चालनमा बाधा आइपर्दैन भन्ने कुरामा सजग र सचेत रहँदै विश्वस्त भए पश्चात मात्र हाल कन्ट्रयाक गरिएको जग्गा खरिदको अन्तिम प्रकृया पूरा गरिने,

९.माथिका प्रकृया पूरा गरेर योजग्गा खरिद गरिएमा भगवान बुद्धको प्रतिमा र यसको वरपर राखिने माने तथा निकट भविष्यमा प्राप्त हुन लागेको भगवान पशुपतिनाथको प्रतिमा समेत यही प्रस्तावित जग्गामा स्थापना गरिनेछ ।

१०.जग्गा खरिद पश्चात अन्य आवश्यक कामहरु सम्पन्न गरे पश्चात समितिको निर्णय बमोजिम बेल्सभिलको जग्गाको व्यवस्थापन गरिने ।

आर्थिक अवस्थाः

खर्चः

प्रस्तावित जग्गा खरिदका लागि निम्नानुसारको अवस्था र योजना रहेको छ (डलरमा):
जग्गाको मूल्यः ८७५,०००.००
क्लोजिङ खर्चः २५,०००.००
प्रारम्भिकरुपमा मन्दिर सञ्चालन गर्ने खर्चः १००,०००.००
जम्मा आवश्यक रकमः १,०००,०००.००

आम्दानीः

खातामा मौज्दात मध्ये नगदः २००,०००.००
प्रोमेसरी नोट (व्यक्तिसँग लिइने ऋण): ८००,०००.००
बैंक ऋणः ५००,०००.००
(ऋण प्रकृयाको लागि लामो समय लाग्ने भएकाले जग्गा खरिद गरि सक्ने समयसम्म बैंकबाट ऋण प्राप्त हुने सम्भावना अत्यन्तै
न्यून रहेको)

यो मन्दिर स्थापनाको विचार बिजारोपणका क्षणदेखि हालसम्म समुदायकै साथ र सहयोगले यहाँसम्म आइपुगेको छ। पटक पटक मन्दिरलाई सारिराख्नु पर्ने बाध्यताका कारणले समुदायमा पर्न गएको असहजताका लागि एनइसीसी क्षमा याचना गर्दछ।अब यसलाई स्थानका हिसावले स्थायित्व प्रदान गर्न र बर्षौँदेखिको सपना पूरा गर्न यहाँहरुको सहयोगका लागि पुनः अनुरोध गर्दछौँ। यसै सिलसिलामा एनइसीसीका संस्थापक, वर्तमान बोर्डमा रहनुभएका र समुदायका सदस्यहरुबाट जग्गा खरिदका लागि प्रोमेसरी नोट तथा दान गरेर हालसम्म करिब ३००,०००.०० डलरको प्रतिवद्धता प्राप्त भइसकेको खुशीको समाचार पनि यहाँहरु समक्ष जानकारी गराउँदछौँ।यसैगरी आफूले सकेको दान वा ऋण सहयोग गरी आफ्नो मन अडिने अनि आफ्नो पन भएको मन्दिर निर्माणमा हातेमालो गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ।

अन्त्यमा,
समुदायका सबै सदस्यहरुलाई समानरुपमा सबै कुरा उपयुक्त र सुविधायुक्त हुनसक्दैनन्। तर समुदायको साझा आवश्यकता र सपनालाई सकेसम्म सम्बोधन हुनेगरी काम गर्नुपर्ने कुरामा भने सबै सहमत हुनै पर्दछ।एनइसीसीको बोर्ड अफ ट्रष्टिज, कार्यसमिति, सल्लाकार समिति तथा समुदाय सहितका दर्जनौ बैठक र छलफलबाट हालसम्मको प्रकृयामा पुगिएको जानकारी गराउँदछौँ । र जग्गा खरिदको अन्तिम प्रकृया पुग्नु अगाडि वा कुनै कारणले प्रस्तावित जग्गा खरिद गर्न नसकिने-नमिल्ने भएमा सोको बारेमा समुदायलाई पुनः जानकारी गराउँने नै छौँ।

यस विषयमा कोही कसैलाई केही कुरा बुझ्न परेमा कृपया एनइसीसीका आधिकारिक व्यक्तिहरुसँग सम्पर्क गर्नुहुन हार्दिक अनुरोध गर्दछौँ। साथै माथि उल्लेखित  आधारहरुमा रही हाल प्रस्तावित सरह वा अझ उपयोगी जग्गा कहीँ कतै थाहा हुन आएमा वा कोही कसैको जानकारीमा छ भने पनि अबको एक महिनाभित्र यस संस्थामा जानकारी गराउनु हुन समेत सम्पूर्णमा विनम्र अनुरोध गर्दछौँ।

बर्षौँदेखिको सपना पूरा गर्न एनइसीसी लागि परिरहेको छ, र समाजसँग यसका लागि साथ र सहयोगको अपेक्षा गर्दछ।

भगवान पशुपति तथा भगवान बुद्धले हामी सबैको कल्याण गरुन् ।
धन्यवाद।

सरोज प्रजापति
सभापति
जुन १९, २०२१

प्रतिक्रिया