दोष मानवको

शशी खड्का २०७८ असार ५ गते १०:२४ मा प्रकाशित

आँखा चिम्ली निदाउन खोज्छु निद्रादेवी आउँदिनन्
भतभत पोल्छ मन छटपटी हुन्छ तन सास फेर्न सक्दिनँ
एउटै प्रश्‍न र दृश्य नाचिरहन्छ झलझली मेरो आँखामा
उर्ली मेलम्ची पसिन् होला कसरी त्यो सुन्दर बस्ती माझमा॥१॥

प्रतिप्रश्नले जेलिएको यो मनले भन्छ दोष मानवकै थियो कि ?
फोरी पहाड खुकुलो धरातल थियो बाटो कच्चा बन्यो कि ?
प्रकृतिको दोहन भयो जङ्गल मासी बढ्यो काठको तस्करी
विना कारण उनी रिसाइ त्यत्रो विनाश गर्न सक्छिन् कसरी ? २

बालुवा,ढुङ्‍गा देखियो कि खन्‍न थाल्यौँ ठूला डोजर लगाइ
विकास भयो भनी उफ्रियौं घरघरमा कच्ची बाटो पुर्‍याइ
न छ अध्ययन अनुसन्धान न लक्ष्य दिगो विकासको सोच
छोडेन विवेकशील मानवले कहीँ कतै नदी किनारा खोँच॥३॥

सोचेनौँ कहिल्यै नदी,नाला,खहरेलाई कुलो बनाउनु हुँदैन
जानेनौँ स्वतन्त्र छिन् प्रकृति यिनलाई बाँध्न खोज्नु हुँदैन
खोलामा पहाडको माटो भरी धेरै आकर्षक घडेरी बनायौँ
आँखा चिम्ली घमण्ड गरी त्यहीँ भव्य महल ठड्‍यायौँ ॥४॥

आफ्ना गर्भमा नै सबै लुटिएपछि उनी बाध्य भइन्
उर्ली आइन् आफ्नो रूप देखाइ बस्ती बगर बनाइन्
आफ्नो पीडा थामी वर्षौ देखि चुपचाप बसेकी थिइन्
डरलाग्दो बितण्डा मच्चाइ मानवलाई नयाँ पाठ सिकाइन् ॥५॥

मेलम्ची मात्र होइन कोशी,काली,सेती,गण्डकी पनि
बाटो खोज्नेछन् अवश्यै बग्ने छैनन् कदापि कुलो बनी
चुरेभावर,गिटी,बालुवा,रूख काट्ने तर नरोप्ने हो भनी
बन्‍नेछ एकदिन अन्‍नभण्डार तराई नेपालको ठूलो मरूभूमि॥६॥

उठौँ सबै आँखा खोली पाठ सिकौँ रत्ति बेर नगरौँ
यस्तो प्राकृतिक बिपत्तिमा फेरि फोहोरी राजनीति नगरौँ
राहतका नाममा आहात पुर्‍याउने काम कसैले नगरौँ
यस्तो विनाश हुन नदिन बेलैमा वैज्ञानिक अध्ययन् गरौँ
शोकलाई पाठ मानेर भविष्यका अझ ठूला विनाशलाई रोकौँ ॥७॥

-शशी खड्का
बूढानिलकण्ठ,काठमाण्डौँ

प्रतिक्रिया