पवनको झोक्का संगसंगै तरंगित भै
डुबुल्की मारिरहेका नदीका ति पत्रे छालहरू
कहिले चट्टान सित ठोक्किएर रमाउछ त्
कहिले किनारालाई छोएर भाग्दछ।
कहिले घामको सुनौलो किरणले सजिन्छ त्
कहिले जुनको प्रकाशले चाँदी झैँ टल्कीदै मक्ख पर्छ
कहिले मौनता भित्र हराएको आकाशको
रंगले रंगिएर आफैभित्र हराउछ।
कहिले आफ्नो वरिपरि डुबुल्की मार्दै मस्त संग
रमाइरहेका जीव देखि दंग पर्छ
कहिले आफ्नो तरंगित गतिभित्र रमाउदै
आनन्द लिरहेका प्राणी देखि मक्ख पर्छ।
कहिले किनारामा उभिएर रमाउदै हेरिरहेका
रुखका ति झुलिएका चंचल पातहरुलाई
खुशी हुदै छुन खोज्छ त्
कहिले क्षितिज पारिको सप्तरंगी इन्द्रधनुलाई हेरी रमाउँछ।
नदीका ति तरंगित छालहरू आफैभित्र
सम्पूर्णता समेतिएर प्रकृतिको सुन्दरता
माथि अर्को सुन्दरता थपि आफै माथी गर्ब गर्छ
अनि आफ्नै गति र धुनमा मस्त भै निरन्तर बगिरहन्छ
तर
कहिले आकाशमा मडारिरहेको
कालो बादल सँग सम्झौता गास्दै अनि
उग्र रुपको हुरी बतास संग मितेरी लाउदै
ताण्डब नृत्य गर्दै वरिपरिका रचनालाई
क्षणभर मै भताभुंग पारिदिन्छ।
पवनको झोक्का संग संगै तरंगित भै
डुबुल्की मारिरहेका नदीका ति पत्रे छालहरू
कहिले चट्टान सित ठोक्किएर रमाउछ त्
कहिले किनारालाई छोएर भाग्दछ।
-रजनी मल्ल न्यु जर्शी अमेरिका।
प्रतिक्रिया