खड्ग प्रसाद ओली अहिले आफ्नै पार्टी भित्रको आन्तरिक कलहका कारण तनावमा

रमेश ढकाल भद्रपुर-झापा (हाल दोहा-कतार) २०७८ असार ३ गते २१:३५ मा प्रकाशित

हाम्रा सम्माननीय प्रधानमन्त्री खड्ग प्रसाद ओली अहिले आफ्नै पार्टी भित्रको आन्तरिक कलहका कारण समस्या समाधान गर्ने तथा सत्ता जोगाउने अत्यन्तै कठिन कसरत गर्नमा धेरै नै ब्यस्त हुनु परेको अवस्था छ।

बहालवाला प्रधानमन्त्रीको यो कठिन अवस्थालाई हृदयङ्गम गर्दै हाम्रा पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा,पुष्पकमल दाहाल,माधवकुमार नेपाल, झलनाथ खनाल र बाबुराम भट्टराईको संयुक्त प्रयास अन्तरगत भएको कुराकानीमा अमेरिका र ब्रिटेनले हाम्रो देशलाई कोरोना भाइरस विरुद्धको बीस बीस लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएका छन्।यसै गरेर वहाँहरुकै संयुक्त प्रयास अन्तरगत भएको कुराकानीमा फ्रान्स,जर्मनी,इटाली र बेल्जियमले पनि पन्ध्र पन्ध्र लाख डोज खोप अनुदानमा उपलब्ध गराउने भएका छन्।

यो संगै हाम्रा पूर्वप्रधानमन्त्रीको संयुक्त प्रयास मार्फत कुल मिलाएर जम्मा एक करोड डोज खोप नेपाललाई अनुदानमा प्राप्त हुने भएको छ।यो एक करोड डोज खोप ढिलो भनेको पनि अहिले चलिरहेको जुन महिनाको अन्तिम सम्ममा नेपाल भित्रि सक्ने अनुमान गरिएको छ भन्ने कुराको जानकारी हाम्रो विशेष सुत्र मार्फत हामीलाई प्राप्त भएको छ।

यो ठूलो सफलता हात पार्नका लागि हाम्रा पाँचै जना पूर्वप्रधानमन्त्रीहरुले नेपालको एक्स प्राइम मिनिस्टरको हैसियतमा आ-आफ्नो सम्पर्क र प्रभावको भरपुर प्रयोग गर्दै माथि उल्लेखित देशका उच्च तहका नेता तथा सरकारी अधिकारीहरु संग अत्यन्तै गहनरुपमा कुराकानी गर्नु भएको थियो भन्ने कुराको जानकारी पनि हाम्रो विशेष सुत्र मार्फत हामीलाई प्राप्त भएको छ।

यो समाचार संगै अब स्कूल कलेजका शिक्षक प्राध्यापक तथा विद्यार्थी सबैले कोरोना भाइरस बिरुद्धको खोप छिट्टैनै लगाउन पाउने तथा लामो समय बाट स्कूल कलेजहरुमा रोकिएको लेखाइ पढाई अब चाँडै पुनःसुरु हुने आशा जागेको छ।यो खबरले भविष्य नै अन्योल अवस्थामा रहेका हाम्रा लाखौं विद्यार्थी भाइ बहिनिहरुको मनमा निक्कै ठुलो आशा जगाउने निश्चित छ।

अर्को ब्रेकिङ न्युजमा माथि उल्लेखित पाँच पूर्वप्रधानमन्त्रीहरुले आज संयुक्त विज्ञप्ति निकालेर गएको मंगलबार राति मेलम्ची नदिमा आएको बाढीले बगाएर घर जग्गा बिहिन बनेका त्यहाँका जनताहरुको उपयुक्त पुनर्वास र क्षतिपूर्तिमा लाग्ने सम्पूर्ण खर्चको जिम्मेवेरी हामी लिनेछौं भनेर घोषणा गर्नुभएको छ।अब यो कार्यमा लाग्ने सम्पूर्ण खर्च राज्यले नभएर हाम्रा पाँच जना पूर्वप्रधानमन्त्रीहरुले व्यक्तिगत रूपमा बेहोर्नु हुने भएको छ। यो संगसंगै मेलम्ची क्षेत्रका पीडित आमा बुवा दाजुभाइ दिदी बहिनीहरुलाई सहयोग गर्न भनेर अब खाडी लगयातका अन्य देशहरुमा रहने हाम्रा प्रवासी दाजुभाइ दिदी बहिनीहरुले गास काटेर आर्थिक सहयोग संकल गरिराख्नु नपर्ने कुरा पनि उक्त विज्ञप्तीमा स्पष्ट पारिएको छ।

पूर्वप्रधानमन्त्रीहरुको यो अनुकरणीय कदमले कोरोनाको उपचारमा भन्दा पनि कोरोनाको उपचार र रोकथाम गर्ने बहानामा हुँदैआएको अनियमितता र भ्रष्टाचारका कारण रित्तिनै लागेको सरकारी ढुकुटीको ठुलो रकम अब जोगिने भएकोछ।

यसैगरेर माथि उल्लेखित हाम्रा पाँचै जना पूर्वप्रधानमन्त्रीहरुले छिट्टै नै अर्को एउटा विज्ञप्ती निकालेर २०४६ साल पछि सबै उच्च दर्जाका कर्मचारी, शीर्ष नेता, मन्त्री सबैको सम्पत्ति छानविन गर्नका लागि एउटा स्वतन्त्र आयोगको गठन गरेर अविलम्ब काम सुरु गर्न/गराउन सरकारको ध्यान आकर्षण गराउँदै हुनुहुन्छ भन्ने कुरा पनि हाम्रो विशेष सुत्रको जानकारीमा आएको छ।

यदि यस्तो आयोगको गठन गरेर अविलम्ब रुपमा काम अघि बढाउने कार्यमा सरकारले कुनै प्रकारको आनाकानी गर्न खोजेमा हाम्रा पाँचै जना पूर्वप्रधानमन्त्रीहरु संयुक्त रुपमा अनशनमा उत्रने अभियानमा रहनु भएको छ भन्ने जानकारी पनि हामीलाई हाम्रो विशेष सुत्र मार्फत प्राप्त भएको छ।

भनेर यस्ता ब्रेकिङ न्युजहरु पनि पढ्न पाए क्या आनन्द आउने थियो होला,हगि !

रमेश ढकाल
भद्रपुर-झापा (हाल दोहा-कतार)
[email protected]

प्रतिक्रिया