बिहीबार, साउन २६ २०७९
काठमाडौं २१:०३
वासिङटन डिसी 11:18

राजदूत डा. युवराज खतिवडाद्वारा न्याकको साधारण सभा उद्घाटन(बिशेष तस्बिरहरु सहित)

इनेप्लिज २०७८ जेठ ३० गते ०:२९ मा प्रकाशित

वाशिंगटन डिसी। डिसी मेट्रो क्षेत्रमा सामुदायिक भवन र मन्दिर निर्माण गर्ने लक्ष्य लिएर गैर नाफामूलक संस्थाको रुपमा स्थापित नेपाली अमेरिकन सामुदायिक केन्द्र न्याकको दोस्रो वार्षिक साधारण सभा शनिबार न्याक भवनकै प्राङ्गण भर्जिनियाको मनाससमा अमेरिकाको लागि नेपाली राजदूत डा. युवराज खतिवडाले समुद्घाटन गर्नु भयो ।

राजदूत डा. खतिवडाले अमेरिकामा सामुदायिक केन्द्रले नेपाली बालबालिकाहरूलाई नेपाली भाषा र संस्कृति सिकाएर सधैँको लागि नेपाल प्रति माया गर्ने नागरिकको रुपमा विकास गर्ने विश्वास व्यक्त गर्नु भयो । त्यसो भए मात्र दोहोरो नागरिकताको लागि बच्चाहरु तयार हुनसक्ने सुझाव पनि उहॉको थियो ।

डिसी क्षेत्रको सिङ्गो नेपाललाई चिनाउन न्याकले ठूलो भूमिका खेल्ने विश्वास लिंदै राजदूत डा खतिवडाले त्यसमा आफ्नो सक्दो सहयोग रहने प्रतिबद्धता पनि जनाउनु भयो ।

सो अवसरमा न्याकका सदस्यहरु एवं समुदायका दाजुभाई दिदीबहिनीहरुको उपस्थिति रहेको थियो।छिटो भन्दा छिटो सामुदायिक भवन निर्माण गरी यही क्षेत्रमा तपाई हामीले परिकल्पना गरेको मिनी नेपालको स्थापना गर्न आफूहरू दत्तचित्त भएर लागेको कुरा न्याकका पदाधिकारीहरुले बताउनु भयो।

अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली बालबालिकाहरुले नेपाली राष्ट्रिय गान र अमेरिकी राष्ट्रिय गान पनि गाएका थिए ।

कार्यक्रममा स्वागत मन्तब्य राख्दै बोर्ड अफ ट्रष्टी समितिका संयोजक गोविन्द मैनालीले सवैले एक भएर सामुदायिक भवन निर्माणमा लाग्नुको विकल्प नरहेको विचार व्यक्त गर्नु भयो । सभा संचालन ददीराम ढुंगाना र प्रदीप ढकालले गर्नु भएको थियो भने अमेरिका नेपाल सहयोगी समाजका अध्यक्ष कमल भट्टराईले विभिन्न संघ संस्थाहरुको तर्फबाट शुभकामना व्यक्त गर्नु भएको थियो।

सभामा न्याकको कम्युनिकेसन र डकुमेण्ट व्यवस्थापन समितिबाट ददी ढुंगाना, खेलकूद संयोजक समितिबाट चन्द्र लामा, महिला समितिबाट सुनिता खत्री, इन्जिनियर्स समितिबाट ठाकुर ढकाल, वित्तीय समितिबाट केशव बराल, संस्कृति समितिबाट अरुण रुपाखेती र सम्पर्क मुख्य व्यक्ति (पिओसीका पिओसी) डा. मदन उप्रेती र विधान समितिका संयोजक पुरु सुवेदीले साधारण सभामा जानकारी गराउनु भएको छ।

सो अवसरमा विधान संसोधनको बारेमा पनि छलफल भएको थियो ।न्याकले विधान संसोधनका बुंदाहरुलाई निर्वाचन समिति मार्फत अनलाईनबाट मतदान गराएको थियो ।

मतदानमा कोरम पुग्नको लागि कम्तिमा १७२ जना सदस्य चाहिनेमा त्यो भन्दा बढी २३९ जनाले मतदानमा सहभागिता जनाएका थिए भने ८० प्रतिशत भन्दा बढी बहुमत सदस्यहरुले संसोधनको पक्षमा मत दिएको आधारमा विधान संसोधन पारित भएको थियो ।

विधान संसोधनको विषयमा उपस्थित सदस्यबाट आएका प्रश्नलाई निर्वाचन आयोगको तर्फबाट सुमन तिमिल्सिनाले र विधान समितिको तर्फबाट टीका मैनाली, मधु पन्थी र पुरु सुवेदीले प्रस्ट पार्नु भएको थियो। छलफलमा अहिले अनलाइन भोटिंगबाट आएको रिजल्टलाई ग्रहण गर्दै विधानलाई आवश्यकतानुसार संशोधन गर्दै लैजाने कुरामा सवै वीच सहमति भएको थियो।

भरत रेग्मी, डा देशराज संयोक, मुक्ति पन्त लगायतले विधानमा परिवर्तन गर्न सुझाउनु भएको थियो भने ती सुझावहरुलाई भविष्यमा विधान संसोधन हुंदा समाविष्ट गर्ने सहमति भएको थियो ।

कार्यक्रममा विना खड्का लामाको सहयोगमा गोपाल रेग्मीले न्याकका स्वयम् सेवकहरुलाई प्रशंसापत्रहरू वितरण गर्नु भएको थियो।

निर्वाचनको दौरान सर्वसम्मति कायम गर्न आफ्नो उम्मेदवारी फिर्ता गर्नु भएका अध्यक्षका उम्मेदवार राम मिश्रले नव निर्वाचित अध्यक्ष डा मदन उप्रेतीको कार्यकालमा सवैको विचारलाई सुनेर छिटो न्याकको भवन वन्ने विचार व्यक्त गर्नु भयो।

यसै गरी निर्वाचन आयोगमा रहनु भएका डा श्याम कार्की, डा गोपी उप्रेती(बिद्या वारिधि )प्रभा भट्टराई देउजा ,सविना अर्याल र राजीव मैनालीले नव निर्वाचित कार्य समिति र बोर्ड अफ ट्रष्टी समितिका पदाधिकारीहरूलाई सपथ ग्रहण गराउनु भएको थियो।

न्याकको भवन आगामी दुई वर्षमा जसरी पनि संचालनमा ल्याउने प्रतिबद्धता गर्दै साधारण सभा सम्पन्न भएको छ।

कार्यकारी समितिमा निर्वाचित हुनेहरुमा क्रमस अध्यक्षमा चिकित्सक डा मदन उप्रेती ,वरिष्ठ उपाध्यक्षमा इन्जीनियर ठाकुर ढकाल, उपाध्यक्षमा बिना खड्का लामा ,महासचिवमा डा लेखनाथ अधिकारी ,कोषाध्यक्षमा केशव बराल तथा उप कोषाध्यक्षमा हरि पुडासैनी रहेका छन् ।

यसैगरी कार्यकारी समितिको सदस्यहरुमा क्रमस गुणराज लुइँटेल, प्रेम पौडेल ,तोया पौडेल,,प्रज्ञान आचार्य तथा लक्ष्मी शर्मा रहेका छन् । यस्तै लेखा समिति सदस्यहरुमा राजन अधिकारी तथा ग्रिष्म दाहाल निर्वाचित भएका छन् ।

बोर्ड अफ ट्रस्टीको सभापतिमा अरुण रुपाखेती,उप सभापतिमा टिका मैनाली तथा सचिवमा पुरुषोत्तम सुबेदी रहेका छन भने सदस्यहरुमा गोपाल रेग्मी ,प्रेम संग्रौला,चिकित्सक डा गुणराज सुबेदी,ददिराम ढुंगाना ,गोबिन्द प्रसाद मैनाली ,परशुराम भण्डारी ,तारानाथ पोखरेल तथा मेदिनी अधिकारी रहेका छन् ।

शनिबारै बेलुका न्याकका दुवै पुराना कार्यसमिति र नयॉ कार्य समिति बीच मैत्रीपूर्ण भेटघाट र छलफलको आयोजना गरिएको छ।

अनलाईन प्रक्रियामा २३९ जना उपस्थिति रहेको भए पनि फिजिकल सभामा १४० जनाको मात्रै सहभागिता रहेकोले सदस्यहरुले बार्षिक साधारण सभा र मतदान जस्ता कार्यक्रमहरु अनलाइनबाटै गर्नको लागि सुझाव दिएका थिए । साथै ट्रष्टी कमिटीमा महिला सहभागिता बढाउन पनि अनुरोध गरिएको थियो ।

प्रतिक्रिया