गजल

-मित्र ‘उराठी’ गौतम २०७८ जेठ २९ गते १३:२६ मा प्रकाशित

कस्तो सँग बढिराछ नेपालमा वेरोजगारी ।
लाइन हेर विदेशिन गरिराछन् मारामारी ।।
सात दशक अघि सम्म नेपाल अनि कोरीयाको,
प्रति व्यक्ति आय पनि झण्डै थियो हाराहारी ।।
उन्नतिको ठाउँमा अझ अवनती भयो देशको ।
नेपाल आमा रोइरहन्छिन् बलिन्द्र ति आँशु झारी ।।
कसरि यो हविगत भयो सबले वुझ्नु पर्छ ?
के ले खायो भित्र भित्रै देशै यस्तो खोक्रो पारी ??
देशको यत्रो युवा शक्ति लालायित छ विदेशिन ।
यता भने बाँझिदै छन् गाउँका सबै खेतबारि ।।
मिहिनेतको त्यो पसीना आफ्नै देशमा झार्न पाए ।
सिँचाई गरि खन्जोत् गरे गैरीखेत बन्थ्यो टारी ।।
आऊ सबै मिलि यहिँ उन्नतिको विऊ रोपौं ।
सुशासन र शान्ति फुल्छ कालो वादल जान्छ फारी ।।
होस्टे हैंसे गर्यौँ भने यहि धर्ती स्वर्ग बन्छ।
नेपाल आमा मुस्काउनेछिन् बिसाएर पिरको भारी ।।

-मित्र ‘उराठी’ गौतम
अमरपुर,गुल्मी
हालः तिलोत्तमा न. पा.-२ ,रुपन्देही
[email protected]

 

 

प्रतिक्रिया