शुक्रबार, माघ १४ २०७८
काठमाडौं १३:५५
वासिङटन डिसी 03:10

एनआरएनए निर्वाचन र अमुक प्रश्नहरू ?

इनेप्लिज २०७८ जेठ २९ गते ११:०१ मा प्रकाशित

यस बर्ष सन् २०२१ को प्रारम्भसँगै प्रचार प्रसार सहित मौलाएको एनआरएनए अमेरिकाको निर्वाचन चहल पहल अन्तत: गत मे २९ र ३० तारिखमा सम्पन्न भएको मतदान पछि स्थिर बनेको छ ।

झन्डै ६ महिना लामो चुनाबी जोड घटाउ पछि संस्थाले नयाँ कार्य समिति पाएको छ । यो अभियानमा सहमागी अभियन्ता /जनताहरुले आगामी कार्य दिशाको दृष्टि गोचर गर्ने अवसर पाएका छन् ।

निर्वाचन एउटा विशुद्ध प्राविधिक पक्ष हो । निश्चित समय सीमा भित्र समेटिएको अंक गणितीय जोड नै सर्वोपरि उत्तम नतिजा हो भन्न सकिन्न । तथापि बहुलवादमा विश्वास राख्ने जो कोहीले प्रजातान्त्रिक प्रकृया स्व- मतदानको नतिजालाई सहर्ष स्वीकार्नुको बिकल्प देखिदैन् ।

त्यसैले भर्खरै निर्वाचन सम्पन्न भइ आगामी २०२१-२०२३ कार्य कालका लागि निर्वाचित भएका एनआरएनए सम्पूर्ण अभियन्ताहरुलाई बधाई तथा शुभकामना !

अमेरिकाको बिभिन्न राज्यमा बसोबास गरी आफ्नो जीविकोपार्जन गरिरहेका हरेक नेपाली र नेपाली मुलका समुदायहरुको दुख: सुखमा यहाँहरुको दृष्टि पुगोस् । सस्थाले स्थापनाकालीन अबस्था देखि नै उठाएका द्वैध नागरिकता , कर प्रणाली, नेपाल र नेपालीको पहिचान लगायत विशेष मुद्दामा नेपाल सरकार र अमेरिकी सरकार सँग समन्वयात्मक भूमिका देख्न /सुन्न पाइयोस् ।

निर्वाचन आयो । गयो । तर यो प्रकृयामा स्वयंम यो पक्तिकार पनि सहभागी भइ रहदा एकाध अमुक प्रश्नहरुले मलाइ घच्घच्याई रह्यो । नलेखुँ /नबोलु भन्दा नि आत्मरत सन्तुष्ट हुन सकिएन । यस प्रकृयामा समाहित भइ रहदा यसले छोडेका केही निम्न अमुक प्रश्नहरु जन सवालका बिषयहरु बन्न सक्छन् भन्ने मूल आशय मेरो रहेको छ ।

१. मठाधिसहरुको ताजार्पण !

नेपाल र नेपाली प्रति बफादारी /इमान्दारिता अनि व्यक्ति बिशेषको क्षमता भन्दा नि हनुमान प्रबृतिमा कथित स्वनाम मठाधिसको परिक्रममा फल फुलेको देख्दा अचम्म लाग्यो । त्रेता युगका नायक भगवान रामचन्द्रले युद्द पुर्ब नै सुग्रिबको राज्याबिषेक गरे । बाली मारी राजा बनाए । त्यसरी नै बिभीषणको राज्याबिषेक गरे । रावण मारी राजा बनाए । त्यही शैलीमा मठाधिसहरुको राज्याबिषेक ताजार्पण यो चुनाबमा पनि देखियो । फरक त्यति हो रामले न्याय र धर्म अङ्गीकार गरेकाले उनको त्यो हत्यालाई पनि जनताले श्रेयकर माने । रामले आफ्नो बचन पुरागर्न बिभीषण माथि प्रहारको भएको प्राण घातक बरुणास्त्र आफ्नै छाती दहन गरी ताजार्पणलाई जीवन्त दिलाएका थिए भने यो चुनावमा पनि केही मठाधिसहरुको नाङ्गो नाँच सडकमै देखियो । उनिहरुको यो नाचलाई आगामी सामाजिक /राजनैतिक खेलमा रामको दर्जा दिलाउलाकि रावणको समयले पक्कै देखाउला !

२. पेटी ठेकेदारहरुको रोजीरोटीको अकर्मन्यता !

गत निर्वाचनको जम्मा जम्मी मतदाता संख्या २२ हजार भएको कुरा निर्वाचन आयोगले पुष्टि गरेको छ । तर निर्वाचन संघारमा सल्बलाएका पेटी ठेकेदारहरु र उनीहरुले दावा गरेको भोटको फेरहस्तलिने हो भने लगभग ५० हजार भोटको आँकडाको मोलमलाई भएको सुनियो /देखियो । जो आफैमा अंक गणितीय तालिकामा भ्रमित रहेको छर्लंग देखिन्छ ।नेपाली जनघनत्व बढी भएका ठुला सिटीहरू टेक्सास /न्युवोर्क ,क्यालिफोर्निया , मेरिल्याण्ड आदिमा पेटी ठेकेदार हरुको बाक्लो उपस्थिति रहेको तितो यथार्थता र मोलमोलाई यो अभियानमा हिड्ने /बुज्ने मान्छेका लागि नौलो बिषय नै होइन ।

३) दलीय संगठनको स्खलित मानसिकता :

अमेरिकाको खुल्ला समाजमा रहेर पनि नेपालको दलीय राजनीतिको वकालत गर्दै अस्तित्वमा रहेका दलीय संगठनको स्खलित मानसिकता अचम्म लाग्दो देखियो । त्यसो त सिंगो संगठन भित्र दुई चिरा परि सकेको नेपाली जनसम्पर्क समितिका पदाधिकारीहरुको मनोगत निर्णयमा निर्वाचन चलायमान बन्न पुग्यो । संगठनको बैचारिक राजनैतिक दायरा भन्दा नि पदाधिकारीहरुले आफ्नो स्वार्थ सिद्द गर्दै आधार बिहिन तरिकाले मैदानमा उत्रिएका उम्मेदवारलाई अगालो हालेको निर्वस्त्र आलिंगन सबैले देखेकै कुरा हो ।

प्रजातान्त्रिक देश भित्र रहन गणतान्त्रिक मान्यता छोडेको कसम खाएका साथीहरुको संगठानात्मक घेरा पनि कति साँघुरो र कमजोर रहेछ भन्ने कुरा फरक नारा सहित चुनाबी मैदानमा देखिएका आफ्नै सहयात्रीको मत अंक तालिकाबाट प्रष्ट देखिन्छ ।

मठाधिसहरुको शब्द जाल भित्र रही पर्दा भित्र गोप्य साँठगाँठ गरेका दलीय आवरणमा अमेरिकामा स्थापित भएका ती भद्रले आफ्नै सहपाठीको त्यो लेभलको स्खलित मत परिणामलाई कसरी दृष्टि गोचरण गर्ने होला ?

४ ) मतदाता र मतदान प्रकृया :

सुन्दा अपत्यारिलो लाग्न सक्छ । अमेरिकामा नेपाली संगठनहरुको निर्वाचन प्रणाली स्वतन्त्ररुपले मत हालेर हुदैन भन्दा । तर यो कटु सत्य हो । प्रारम्भमा संगठनको दायरा साँगुरो हुँदा सहभागी बढाउनको लागि सहयोगी हातहरुले सदस्यता शुल्कमा लगानी गरे पनि स्वतन्त्र निर्वाचनलाई बन्द कोठामा निर्णायक बनाउनु कुनै हालतमा स्वीकार्य हुने बिषय नै होइन ।

अझ यस किसिमको कार्यमा संस्थामा बिशेष जिम्मेबारी लिएर समाजसेवीको ताज पहिरि सकेको व्यक्ति समेतको संलग्नताले यो संगठन प्रति अन्य जन मानसको हेराइ कस्तो प्रभाब होला ?

आगामी दिनमा देखिदैं जानेछ ।

यसै पनि संख्यीय हिसाबले कुल जनसंख्याको १०% पनि सदस्यता नभएको एनआरएनए भित्र यो किसिमको मतदान सौदा बाजी खेलको पर्दा हट्ने हो भने संगठनको दायरा र आकारले कस्तोरुप लेला ? प्रश्न गम्भीर एबम सोच पूर्ण रहेको छ ।

५ ) भड्किलो प्रचार शैली !

भोलिन्टियर अर्गनाइजेसनमा यो लेबलको तडक भडक हेर्दा यो धनीहरूको क्लब कै फेरिहस्त हो भन्दा अन्यथा नहोला । झन्डै ६ महिना देखि चलेको कुम्भ मेला केही दिन देखी कुम्भकर्ण निन्द्रामा आराम मग्न रहेको छ ।

अभियन्ता बन्ने दौडमा घण्टा घण्टा हानेर जोडेको पसिनाको मूल्य कति सजिलै लिलाम गर्दैछन् ? आखिर सर्ब साधारणको आँखा बाट हेर्ने हो भने त त्यति बिध्न द्रब्य दान गर्दै सवार हुने रथको बेगान कहाँ हुने हो र ? समाजसेवा र सामाजिक व्यक्तित्व बन्न यो किसिमको होडबाजी कति यथार्थ परक छ त ?

आखिर जता रहे पनि सानो नेपाल बनाइ नेपाली पहिचान कायम गर्न उद्वेलित नेपाली भावनालाई बुझ्न त्यति साह्रो कुबेरी लेपन गर्न आवश्यक हुन्छ र ?

तर निर्वाचन नतिजा सोचे भन्दा पृथक देखियो । समाजमा झन्डै डेड दशक देखि भिजेका आफ्नो स्वविज्ञताले समाज र राष्ट्र सँग लामो समय दुरी कायम गर्दै पारिवारिक जिम्मेवारीमा पनि खुल्ला रहेका अग्रज व्यक्तित्वहरू एक क्षेत्री ,दयारत्न शाक्यले पाएको झिनो मतदानलाई मठाधिसहरुको बिभाजनको शिकार नभने के भन्ने ?

६) सोसल मिडिया र पीत पत्रकारिता !

हनुमान शैलीको सोसल मिडियाबाजी अनि बस्तु परक भन्दा नि प्रचारात्मक पित पत्रकारिताले पनि निर्वाचन आफैमा प्रकृया जस्तो देखियो । आजको संयन्त्रको नतिजा भोलीआफ्ना सन्ततिले देख्ने /भोग्ने कुरामा पूर्ण सचेत हुनु पर्नेमा सजगता निक्कै स्खलित भएको अनुभूत भयो ।

अन्त्यमा , निर्वाचन एउटा प्राविधिक पक्ष भएकोले यसमा पुनरावलोकन गर्नु पर्ने थुप्रै कुराहरु बिस्तारै सबै तह र तप्काले अनुभूत गर्दै जालान् । मुख्यकुरा सामाजिक अपनत्व जोड्दै

एक आपसमा भएका सीप , ज्ञान प्रबिधि साट्दै प्रबासमा रहेका नेपाली समुदायले कसरी आफ्नो पहिचान कायम गर्न सकिन्छ त्यसमा सबैको ऐक्यबद्दता हुन यो अभियान सबैलाई मार्ग दर्शक बनोस् । अस्तु !

दीपक पन्त

मिल्वाकी,अमेरिका

प्रतिक्रिया