अभिशाप

डा बुनु दाहाल २०७८ जेठ २८ गते २३:३८ मा प्रकाशित

चिरबिर चिरबिर चरा चुरुचुरुंगी को आवाज
अनि काग! काग! कागको ध्वनि सँगै बिहानीको मिर्मिरे
खुशी अन्यौल अनि निःशब्दता !
समाचार, अनलाइन, पत्र पत्रिका जताततै
भय आर्तनाद र पीडाले शून्यता छाएको छ ।

यहि समय पल्लो घरमा हल्ला खल्ला छ
उत्साह र उमंगले अर्को घरमा अर्कै रौनक छ
नातिको पास्नी अनि नातिनीको गुन्यु चोली
यी त केवल निमित्त पात्र र परिवेश मात्र हुन्,
यस्ता हजारौं लाखौँ खुशी र उमङ्ग भित्र बाँचेका छन्
अनगिन्ती चेतनशील प्राणी मान्छेहरू !!

तर महोदय ,
पल्लो घरको आमाको काख रित्तिएको छ
उता चेलीको सिन्दूर पुछिएको छ
अलि पर्तिर नानीहरू टुहुरा भएका छन्

गाउ बस्ति र शहर भित्रका गल्लि अनि चोक सुनसान छन्
साइलेंसरको आवाजले बस्ती त्रसित छ
एम्बुलेन्स र शव बाहनको ओहोर दोहोर बाक्लो छ
यी सब परि दृश्य हेर्नु र सुन्नु शिबाय उपाय छैन !!

तर पनि ,
चेतनाले परिपूर्ण मान्छे !!
यी सबको परवाह र चासो त के कुरा ?
पुलुक्क नजर सम्म लगाउन पनि हिच किचाउँछ ,
आखिर किन ?

उता छोरी अन्भाउनको चपेटा छ !
पास्नीको तयारीमा ताम झाम छ !
बर्थ दे केक काटिएकै छ !
घर सजावटमा सबै जना तल्लीन छन् |

ओहो !! खै चेतना ? अनुभूति ? खै साथ र सहयोग !
के गर्न हुने के गर्न नहुने ? खै विबेक ?
मेरो क्रिया कलापले पल्लो घरमा,
काज क्रियामा बसेकी विधवा र
टुहुरा नानीहरूलाई के असर गर्ला !
भन्ने सोच र चिन्तन खै !!
के यही हो मान्छे हुनुको असली रुप !!
लाग्छ, मान्छे मान्छेको आनी बानी अभिशाप बनेको छ,
मान्छे चेतना अनि विबेक शून्य बनेको छ,
अभिशाप र अभिशप्त बनेको छ !!

प्रतिक्रिया