असार १ बाट निजी सवारी साधन जोरविजोरमा चलाउने निर्णय हुनसक्ने, अन्य कुन कुन क्षेत्र खुल्ला ?

इनेप्लिज २०७८ जेठ २८ गते ११:४६ मा प्रकाशित

कोरोनाको दोश्रो लहर तीव्र बनेपछि बैशाख १६ गतेखि काठमाण्डौ उपत्यका लगायतका जिल्लामा लगाइएको निषेधाज्ञा खुकुलो बनाइने भएको छ ।

गृह प्रशासनले उपत्यका लगायतका जिल्लाहरुको संक्रमणदरलाई विश्लेषण गरी जारी निषेधाज्ञामा केही खुकुलो नीति लिने तयारी गरेको छ ।

देशको ६० प्रतिशत बढी आर्थिक क्रियाकलाप हुने क्षेत्र काठमाण्डौ उपत्यकामा जारी निषेधाज्ञाको विषयमा सर्वत्र चासो देखिन्छ । उपत्यकाका तीन जिल्ला काठमाण्डौ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी नेतृत्वको टिमले समेत कोरोना संक्रमणको घट्दो दरलाई नजिकबाट नियालिरहेको छ ।

हिजोआजजस्तो कोरोना संक्रमणदर निरन्तर घट्दै गएमा असार १ गतेदेखि थप केही क्षेत्र खुकुलो बनाउनुपर्ने अनौपचारिक छलफल भएको र औपचारिक छलफल जेठ २९ गते मात्रै हुने भक्तपुरका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले जानकारी दिए ।

यसअघिकै जारी आदेशअनुसार जेठ मसान्तसम्म निषेधाज्ञा कायम छ । तर, त्यसपछि निषेधाज्ञालाई कसरी अगाडि बढाउने भन्ने विषयमा छलफल गर्न हामी तीनै जिल्लाका सीडीओहरुको बैठक २९ जेठमा बस्दैछ । उनले बिजशालासँग भने-सोही बैठकले कुन कुन क्षेत्रमा खुकुलो बनाउने नीति अबलम्बन गर्ने भन्ने निर्णय गर्ला ।

सो बेलासम्म गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयबाट समेत निषेधाज्ञाको विषयमा आधिकारिक र प्रष्ट धारणा(निर्देशन) आउने र आफूहरुले त्यसकै आधारमा थप रणनीति बनाउने भट्टराईले जानकारी दिए ।

औपचारिक रुपमा तीन जिल्लाका सीडीओको बैठक नबसे पनि अनौपचारिक छलफल र विश्लेषणका क्रममा पछिल्लो समय उपत्यकामा संक्रमणका दर घटेको निश्कर्ष निकालिएको छ ।

उपत्यकामा संक्रमणदर घट्ने कारण लगातारको निषेधाज्ञा र लागू गरिएका कडा मापदण्ड हुन् । भट्टराईले थपे-देशमै संक्रमणदर घटेको कारण चाहिँ खुल्ला सीमा भएको भारतमा समेत संक्रमणदर घट्नाले हुनसक्छ ।

के के खुल्ला ?

औपचारिक छलफल नै नभएको अवस्थामा असार १ गतेदेखि कुन कुन क्षेत्र खुकुलो हुन्छ भन्ने विषयमा बोल्नु हतार हुने भक्तपुरका सीडीओ भट्टराई बताउँछन् ।

तर, जिल्ला प्रशासन कार्यालय काठमाण्डौका एक अधिकारी भने असार १ गतेदेखि निजी सवारी साधन जोरविजोर प्रणालीमा संचालन दिने गरी निषेधाज्ञा खुकुलो बनाउने विषयमा आन्तरिक छलफल भइरहेको दाबी गर्छन् ।

अन्य केही क्षेत्र समेत खुकुलो बनाउने रणनीति छ । ती अधिकारीले थपे-असार १ गतेदेखि नै सार्वजनिक यातायात चाहिँ खुल्दैन ।

सबैखालका उद्योगहरु पूर्ण सुरक्षा मापदण्ड अपनाएर चल्न दिने, ढुवानीका गतिविधिलाई नरोक्ने, सबै खालका होटल रेष्टुराबाट टेक अवेको सेवा खुल्ला गर्ने, सबै खालका निर्माण कार्य सुरक्षाका साथ २४ सै घण्टा खुल्ला गर्ने, किराना पसल तथा डिपार्टमेन्ट स्टोर समेत सुरक्षासहित ८ घण्टासम्म खोल्न दिने निर्णय हुनसक्छ ।

यस्तै, बैंक तथा वित्तीय संस्थाका शाखा समेत केही बढी खोल्न दिने, उच्च सुरक्षा सतर्कता अपनाएर केही बढी कर्मचारी राखी सेवा प्रवाहमा छुट दिने लगायतका विषय समेत अबको नयाँ आदेशमा आउनसक्ने दाबी अधिकारीहरुको छ ।

प्रतिक्रिया