नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले हरेक एकदिवसीय खेल बापत १० हजार र टी ट्वान्टी बापत ५ हजार रुपैयाँ पाउने

इनेप्लिज २०७८ जेठ २७ गते ६:०१ मा प्रकाशित

नेपाल क्रिकेट संघ (क्यान) को मंगलबार बसेको बोर्ड बैठकले नयाँ आर्थिक कार्यविधिलाई पारित गरेसँगै राष्ट्रिय टिमका खेलाडीले पाउने भत्ताको तय भएको हो ।

क्यानका कोषाध्यक्ष रोशन सिंहले नयाँ कार्यविधि पारित भएपछि पुरुष खेलाडीले प्रति एकदिवसीय खेल बापत १० हजार र टी ट्वान्टी बापत ५ हजार रुपैयाँ पाउने जानकारी गराए । उनले क्यानले गरेको यो कार्य नेपाली क्रिकेट इतिहासकै पहिलो भएको समेत बताए ।

क्यानले सिंहको संयोजकत्वमा तीन सदस्यीय आर्थिक कार्यविधि तयार समिति गठन गरेको थियो । समितिमा दुर्गा राज पाठक र माधव कर्माचार्य रहेका थिए ।

त्यस्तै महिला टोलीका खेलाडीले भने एकदिवसीयमा ५ हजार र टी ट्वान्टीमा ३ हजार पाउने कोषाध्यक्ष सिंहले जानकारी दिए ।

क्यानको नयाँ कार्यविधिले प्रदेश र जिल्ला संघलाई पनि प्रशासनिक खर्च बापत ३ लाख र एक लाख दिने निर्णय गरेको छ ।

अब क्यानको बन्द प्रशिक्षणमा परेका खेलाडीले समेत प्रति दिन पाँच सयको दरले भत्ता पाउने सिंहले जानकारी दिए । सिंहले बन्द प्रशिक्षणमा रहेका खेलाडीलाई डाइट खान सहयोग पुगोस भन्ने उद्देश्यले यस कार्यको सुरुवात गरेको बताए ।

उनले हाल विभिन्न शिर्षकमा खेलाडीका लागि छुट्टाएको भत्ता सुरुवात मात्र भएकाले पछि बिस्तारै बढदै जाने बताए ।

अहिले हामीले सुरुवात मात्र गरेका हौँ । क्यान आएको १८ महिना पछि हामीले खेलाडीका लागि केही गर्न खोजेका छौँ । यी सेवा सुबिधा बिस्तारै बढ्दै जाने छन्, उनले भने, अहिले क्यान पूर्ण रुपमा आईसीसीको निलम्बनबाट फुकुवा पनि हुन सकेको छैन । क्यानको आर्थिक स्रोत पनि त्यस्तो छैन । त्यसैले बिस्तारै सुधारिदै जाने छ ।

कोषाध्यक्ष सिंहले नयाँ कार्यविधिले क्यानमा हुने आर्थिक कारोबार पारदर्शी हुने बताए ।

हामिले १८ महिना लगाएर क्यानको आर्थिक नियमावलीलाई समेटेर आर्थिक कार्यविधि बनाएका छौ । जसले क्यानमा हुने आर्थिक कारोबार पारदर्शी हुनेछन्, उनले थपे ।

प्रतिक्रिया