भो चाहिँदैन तिम्रो त्यो सभ्यता

कोमल प्रसाद अधिकारी,टिकापुर,कैलाली। २०७८ जेठ २६ गते २१:४८ मा प्रकाशित

नारीलाई ‘शो केश’ को वस्तु सम्झने,
आफ्नो धर्मालम्बी बाहेककालाई तुच्छ मान्ने,
जातको व्याख्या-उप-व्याख्या गरेर नथाक्ने,
राष्ट्रियताबारे मौसमानुकूल भईरहने,
चाहिँदैन तिम्रो त्यो सभ्यता!

गगनचुम्बी महलमा बसेर,
कालो शीशाभीत्र छेकिएर,
चप्पल लगाउनेलाई ‘बिचरा’ भन्ने,
आफू बाहेक अरूलाई ‘दास’ ठान्ने,
चाहिँदैन तिम्रो त्यो सभ्यता !!

हाम्रो आफ्नै परम्परा र सभ्यता छ
भलै त्यो पछ्यौटेपनले भरिएको किन नहोस्
तर,
त्यसमा तिमीहरूको डिग्रीको छलकपट त छैन
आफूहरूलाई सभ्य भन्ने सरहको विभेद त छैन
र,र,विवेकी किटाउने सरहको तिरस्कार त छैन,
त्यसैले, चाहिँदैन तिम्रो त्यो सभ्यता!!!

यदि शङ्का लाग्छ भने-

लौ नापौँ सभ्यतालाई कुनै समाजशास्त्री ल्याएर,
तिम्रो सभ्यता र हाम्रो सभ्यतामा तुलो राखेर,
के आधुनिकीकरण र सामाजिकीकरणका नाममा
महिलाहरूलाई यस्तै यस्तै गर्न पाईन्छ ?
अरूको अस्तित्वमाथि खेलवाड गर्न पाईन्छ??

त्यसैले,

सभ्यताको व्याख्या पुनर्व्याख्या गर!
समाजलाई एकीकृत गर्ने उपायहरू खोज!!
बरू कमिला,बारूलाहरूबाट सिक,
हामी जस्ता स-साना समूहहरूबाट गणना गर,
नयाँ र सभ्य कसरी भईएला खोज गर!!!
होईन,गोरूको बार्है टक्कामा अडिन्छौ भने-
हामी पनि भन्छौँ–
भो,कहिल्यै चाहिँदैन तिम्रो त्यो कागजी सभ्यता!!!!

–कोमल प्रसाद अधिकारी,टिकापुर,कैलाली।

( भर्खरै सुर्खेतको घटनामा मुख्य रूपमाआधारित)

प्रतिक्रिया