घुम्तीहरु छेलिएपछि अध्ययन गर्दा

अरुणबहादुर खत्री “नदी” २०७८ जेठ २६ गते १:५६ मा प्रकाशित

साहित्यकार एवं नियात्राकार रमेश मोहन अधिकारीको घुम्तीहरु छेलिए पछि नामक संस्मरण तथा नियात्रा सङ्ग्रह दोस्रो कृतिको रुपमा चौथो संस्करणको रुपमा २०७४ चैत्रमा प्रकाशित भएको छ।यस कृतिभित्र उनीद्वारा लेखिएका आमा !मेरी आमा!,रेलमा रमाउँदै,जिन्दगीको मोड,जोसिला बूढा,हार्दिकताले बाँधिदा लगायत विभिन्न शीर्षकका २४ वटा संस्मरण समावेश गरिएका छन्।आमा!मेरी आमा!शीर्षकभित्र आमा शब्द त भगवानभन्दा पनि महत्वपूर्ण रहेछ।भगवान् अदृश्य हुन्छन्,मान्छेले कहिल्यै देख्तैनन्,मानि आएका मात्र हुन्छन्।आमा त जिउँदो हुँदाका दृश्य र मरेपछि अदृश्य भगवान् हुँदा रहेछन् भनिएको छ।रेलमा रमाउँदै शीर्षकभित्र नेपालमा र खास काठमाडौंमा हामी आकाशे पुलहरु देख्छौ तर भारतका दिल्ली लगायत कतिपय ठाउँहरुमा आकाशे जस्ता लाग्ने सडकहरु पनि छन् भनिएको छ।सिमेन्टका खम्बाहरुमा अड्याएर राजमार्गहरु बनाइएका छन्।हामी चढेको रेल कतिपय ठाउँमा यस्ता आकाशे सडकमुनिबाट गुुडे जस्तो पनि लेखकलाई लाग्दो रहेछ।जिन्दगीको मोड शीर्षकमा कक्षा अवलोकनमा धेरै गाह्रो प¥यो । चार कक्षाको भिन्न पढाउन दिइएको थियो रमेशमोहनलाई।उनले सिकेको बट्टाको जोड र यो अलि भिन्न रहेछ भनिएको छ । हार्दिकताले बाँधिदा शीर्षकभित्र झरनालाई हवाई पत्रिकाका रुपमा प्रकाशन गर्दा यो नियमित जस्तो लेख्ने युवा साहित्यकारहरुका हातमा परोस् भन्ने हाम्रो ध्याउन्ना हुन्थ्यो उनले भनेका छन्।त्यही चाहनाले डोर्याइएर प्रायः साहित्यिक पत्रिकाहरुमा रमेश मोहनका आँखाहरु दौडन्थे रे।

कवि केवल पुरेलाई सम्झँदा शीर्षकमा केवलपुरे किसानसँग उहाँकै घरमा गएर भेट्छु भन्ठान्दा भन्ठान्दै कति वर्ष बिते थाहा भएन उनले भनेका छन्।काठमाडौं बाहिर बसेर एक वर्षमा एकचोटि पनि काठमाडौं नजाने र गइहाल्दा पनि हतारमै फर्कनुपर्नेलाई काठमाडौं छाम्ने फुर्सद हुँदो रहेनछ भनेका छन्।रोचक दाइ सँगका कुरा शीर्षकभित्र आजको विश्व ग्लोबलाइजेसनतर्फ अघि बढे पनि सहरका कतिपय सम्पादकहरुलाई नेपालका प्रत्येक गाउँमा बिजुली बत्ती पुगीनसकेको पुगीनसकेको थाहा छैन र पुगेका ठाउँहरुमा समेत पोल ढलेको वा ट्रान्सफर्मर बिग्रेको वा यस्तै केही भएको अवस्थामा महिनौदिनसम्म पनि बिना बिजुली बाँच्न परेको तितो यथार्थ पनि थाहा छैन भनिएको छ।

आनन्दमय स्थान शीर्षक भित्र छतिवनमा दरखास्त पठाएपछि फापरबारी नछाड्दै म एक पटक घर गएँ।घर जाँदा र आउँदा छतिवन गाउँको वर पर र छतिवनभन्दा पश्चिमपट्टीको जङ्गलमा देखिएका,भेटिएका मान्छेहरु पनि प्रतियोगी लागेछन्।तर होइन रहेछ।एउटै पदको लागि बाटाभरी हिँडिरहने स्याउँस्याउँ मान्छेहरु कहाँ प्रतिस्पर्धी हुन्थे र भनिएको छ।सम्झना समनपुर बसाइको शीर्षकमा २०५२ सालमा जाँच दिएर २०६० सालमा पास भएको खबर सुन्दा कस्तो लाग्यो होला हामीलाई।तैपनि उदयराज सोती शिक्षक सेवा आयोगमा प्रमुख नभएका भए हामीजस्ता बबुराको के हाल हुन्थ्यो होला लेखकले भनेका छन् । सोती न मेरो नातामा पर्छन् न मैले व्यक्तिगत रुपमा चिनेको छु न त कुनै सम्बन्ध नै जोरेको छु उनले भनेका छन्।जुके र चिप्लेकिरे बाटो शीर्षकभित्र स्रोत व्यक्ति बन्ने धुनमा थिइनँ।म त मेरो जिल्ला रौतहटबाट मकवानपुर आउन चाहन्थेँ त्यत्ति हो भनेका छन्।घुम्तीहरु छेलिएपछि नामक यस कृतिमा समग्रत विविध शीर्षकबद्ध चौबीसवटा संस्मरण र नियात्राहरु समावेश गरिएका छन्।आमाको सम्झनामा लेखिएको संस्मरणबाट आरम्भ भएको यो कृति बुबाको सम्झनामा लेखिएको मेरो बुबा मेरै स्मृतिमा शीर्षकको संस्मरणबाट समापन भएको छ।यी दुबै संस्मरणमा लेखकको अगाध मातृपितृभक्ति मुखरित भएको छ।बाल्यकालमा नै पिता गुमाएका लेखकले मातृवात्सल्य भने जीवनको लामो कालखण्डसम्म प्राप्त गरेका रहेछन् भन्ने बारेमा यस कृतिबाट थाहा पाइन्छ।मेरो बुबा मेरै स्मृतिमा शीर्षकभित्र बुबा बित्नुहुँदा लेखक कक्षा ८ मा पढ्दै गरेका रहेछन्।अर्थात् तेह्र वर्ष पनि पूरा पुगेका रहेनछन्।बुबाको मृत्यु चाँडै नभएका भए बुबा युक्त हुनुको मेरो अनुभव र अनुभूति अलि बढी हुन सक्थ्यो उनले भनेका छन्।उहाँ लेखक सानै छदा बित्नु भएकोले उहाँसँगको व्यवहार लेखकले कमै पाएका रहेछन्।

मनै हल्लाउने भुइँचालो शीर्षकभित्र भुकम्पले कम्जोर संरचना भएका घर र भवनहरुलाई मात्र हल्लाएन मान्छेहरुका मनहरुलाई पनि हल्लायो भनिएको छ । कोदाको ढिडो र आकस्मिक फड्को मकवानपुरको फापरबारी स्थित लोकहित माध्यमिक विद्यालयमा लेखक शिक्षक भएर जाँदाको र त्यहाँ रहदाबस्दाको अनुभव र अनुभूति बटुलेर लेखेको संस्मरण हो।जोसिला बूढा पथलैयाका पुरानो पुस्ताका एकजना व्यक्तित्व कलानाथ अधिकारीसँगको भेट र सङ्गतलाई विषय बनाएर लेखिएको अत्यन्त प्रेरक संस्मरण हो।हार्दिकताले बाँधिदामा चितवनका स्रष्टा रमेश प्रभातलाई उनकै घरमा पुगेर भेटेको प्रसङ्ग छ,जुन निकै रोचक पनि छ।केही व्यक्ति विशेषसँगका भेट सम्पर्क र सङ्गत हुँदाका संस्मरणहरु पनि छन् यस कृतिभित्र।यसमा जूनकीरी साहित्यिक परिवारको गठन तथा जूनकीरी नामक हवाई पत्रिकाको प्रकाशन सुरु गरेको विषयलाई पनि समेटिएको छ।मानिसको जीवनमा सुख–दुःख,आरोह अवरोह,आँसु हाँसो आदि सकारात्मक तथा नकारात्मक संवेदनाहरु हरपल आइरहन्छन्।यस्ता संवेदनाहरु कलात्मकताको सोपान चढेर साहित्यिक उचाइ प्राप्त गर्दैछन्।नेपाली साहित्यमा केही दशक यतादेखि संस्मरण र नियात्रा लेखन एवं प्रकाशनले निकै गति पाइरहेको दृष्टिगत हुन्छ । निबन्ध विधा सँग नियात्रा र संस्मरण जुध्दो रहेछ।नियात्राकार रमेशमोहन साहित्य सिर्जनामा हरहमेसा खट्ने ऊर्जा भएका हस्ताक्षर हुन्।साहित्य लेखनमा डुब्ने लेखकहरु खाली बस्न सक्दैनन्।केही न केही लेखिरहेका हुन्छन्।उनको लेखन अगाडि बढ्दै जाओस्।आउंदा दिनमा अरु सङ्ग्रहहरु जन्मन सकोस् भन्ने चाहान्छु ।मेरो हार्दिक शुभेच्छा।

प्रकाशकः झरना साहित्यिक परिवार,मकवानपुर।
संस्करणः प्रथम २०७४ चैत्र
मूल्यः रु.१५०।– सामाखुशी मार्ग,९३५÷५४, काठमाडौं
पृष्ठः१४८ मोबाइल नम्बर ९८४१७९७६६४

प्रतिक्रिया