प्रदेश १ मा सरकारले निर्धारण गरेको मापदण्डमा ७० हजारलाई भेरोसेल खोप लगाईने–मन्त्री राई

इनेप्लिज २०७८ जेठ २३ गते १३:४१ मा प्रकाशित

विराटनगर,२३ जेठ।प्रदेश नं १ की सामाजिक विकासमन्त्री उषाकला राईले प्रदेशका ७० हजारलाई कोभिड –१९ विरुद्धको ‘भेरोसेल’ खोप लगाईने जानकारी आज यहाँ दिनु भयो।

उहाँले सरकारले तोकेको मापदण्ड अनुसार यही जेठ २५ गतेदेखि प्रदेशका १४ जिल्लाका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरु खोप लगाइने बताउनु भयो ।

मन्त्री राईले सवै नागरिकलाई चाँडो भन्दा चाँडो कोभिड १९ विरुद्धको खोप सरकारले लगाउने व्यवस्था गर्ने छ भन्नु भयो।उहाँले विश्व स्वास्थ्य संगठनले भेरोसेल १८ वर्षमाथि जुनसुकै उमेर समूहले लगाउन मिल्ने भनेपछि पहिलो चरणमा प्राप्त खोप ६०–६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई मात्र लगाउन निर्देशन दिएको बताउनु भयो।

प्रदेशका १४ जिल्लामा खोप पठाउने काम भईरहेको प्रदेश स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्र विराटनगरका प्रमुख शम्भु शाहले जानकारी दिनुभयो।उहाँले सोमबारसम्म प्रदेशका सवै जिल्लामा खोप पुग्ने पुगिसक्ने बताउनु भयो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशमा दुवै मात्राका लागि १ लाख ४० हजार ५०५ डोज खोप पठाएको छ।प्रमुख साहले दुवै पटकको खोपका लागि ताप्लेजुङमा तीन हजार ७०३,सङ्खुवासभामा चार ४००,सोलुखुम्वुमा दुई हजार ८८५,ओखलढुङ्गामा चार हजार २९१,खोटाङमा चार हजार ८४८,भोजपुर चार हजार ३४७,धनकुटामा चार हजार ८५३,तेह्रथुममा दुई हजार ८४६,पाँचथरमा पाँच हजार ५८१,इलाममा आठ हजार ८६२,झापामा २६ हजार ४१९,मोरङमा ३१ हजार १८५ सुनसरीमा २६ हजार १३२,उदयपुरमा १० हजार १५१ डोज खोप पठाउने काम भईरहेको छ।

 

प्रतिक्रिया