मंगलबार, असार ८ २०७८
काठमाडौं ०९:५८
वासिङटन डिसी 00:13

कोरोनाको महामारीपछि अमेरिकामा अजिंगरहरु छ्यापछ्यापती सिर्जना

अनिल पाण्डे २०७८ जेठ २३ गते १३:२३ मा प्रकाशित

कोरोनाको महामारीपछि अमेरिकामा अजिंगरहरु छ्यापछ्यापती सिर्जना भएका छन् । अजिंगर अर्थात काम केही नगर्ने सुतेर खानेहरु । ‘अजिंगरको आहारा दैवले जुराउँछ’ भन्ने नेपाली उखान अमेरिकामा बसोवास गर्ने नागरिकलाई मात्र होइन ग्रिनकार्ड होल्डरहरुलाई पनि लागु भएको छ । त्यसैले केही लाख नेपाली पनि यतिखेर अजिंगर बनेका छन् । उनीहरु सुतेर खाइरहेका छन्, र दैव बनेको छ अमेरिकी सरकार । बेरोजगार भत्ता वा कोरोना प्रभावितका लागि सरकारले दिने आर्थिक सहयोगले सानातिना व्यवसायमा काम गर्दै आएका श्रमिकहरु यतिखेर काम छोडेर मस्त सुतेर खाएका छन् ।

कोभिड भत्ता पाउनेहरुमध्ये अधिकांश यतिखेर प्रडक्सनको काममा छैनन्, रिप्रडक्सनको काममा कति लागेका छन्, त्यसको भने कतै कुनै तथ्यांक छैन । रिप्रडक्सन अर्थात प्रजनन कार्यमा सक्रिय हुनुपनि अमेरिकाको घट्दो जनसंख्यालाई हेर्दा राष्ट्रिय हितकै विषय हुनसक्छ, तर यतिखेर सबैभन्दा अहित भनेको साना व्यवसायी तथा उद्यमीहरूलाई भएको छ । साना व्यवसायीले सानै पारिश्रमिक र छोटो समयको नियुक्ति दिएर नै कामदार राख्न सक्छन्, ठूलो सुविधा दिनु उनीहरुको क्षमताभित्र पर्दैन । तर, भत्ता खानपाएर सुतेका अजिंगरहरुलाई आकर्षित गर्नेगरी चारो हाल्ने क्षमता व्यवसायहरूसँग छैन । त्यसैले अजिंगरहरु सुतेका छन् भने व्यवसायहरू सुस्ताएका छन् ।

सरकारले बेरोजगार भत्ता वा कोभिड प्रभावित भत्ताका लागि निवेदन दिनेले पूरा गर्नुपर्ने केही सहज पूर्वाधार तोकेको छ । कोभिडको संक्रमण बढिरहेका समयमा जागिरबाट निकालिएँ वा जागिर पाइनँ भनेर प्रमाण पु¥याउन गारो छैन । नयाँ काम खोज्दा काम नपाएको र पाएका कामको पारिश्रमिक विगतको सामान्य अवस्थाको भन्दा न्यून भएकाले खान नपुगेको विवरण दिन पनि सजिलो छ । यस्ता सामान्य विवरणका साथ सामाजिक सुरक्षा नम्बर खुलाएर निवेदन दिनेले खान–बस्न पुग्ने रकम भत्ताका रूपमा प्राप्त गरेका छन् ।

कतिपय साना उद्यमीले दिने पारिश्रमिकभन्दा कोभिड भत्ता अधिक छ । यसरी भत्ता दिएकै कारण साना उद्यमीले कामदार नपाउने र व्यापार चल्न नसकेका कारण उनीहरुले सरकारलाई तिर्ने राजस्व वा कर घट्ने अवस्था आएको छ । यसरी हेर्दा, सरकारलाई एकसाथ दुई किसिमको आर्थिक दबाब सिर्जना भएको छ– भत्ता भुक्तानी र राजस्वमा कमी । यसले गर्दा स्वभावतः, अमेरिकाको कुल ग्राहस्थ उत्पादनमा पनि प्रतिकूल असर पर्ने नै भयो ।

त्यसैले, यसरी व्यक्तिलाई प्रत्यक्ष भत्ता दिनु भन्दा सरकारले व्यवसायीलाई सघाएको र उनीहरूले कामदारलाई दिने पारिश्रमिकमा त्यसलाई समावेश वा थप गर्ने व्यवस्था मिलाएको भए तीन वटै पक्ष लाभान्वित हुने थिए– विन–विनको अवस्था आउने थियो । भत्ताका कारण तीनवर्टै पक्ष यतिखेर नोक्सानमा छन् । तत्कालका लागि भत्ता पाएँ भनेर व्यक्तिले लाभान्वित भएको भ्रम नपाले हुन्छ । उनीहरुमा काम गर्ने प्रवृत्ति हराउँदै गएको छ, आलस्यता बढेको छ । जनशक्ति वा उत्पादनमा लाग्ने नागरिकमा आलश्यता बढ्नु मुलुकका लागि ठूलो नोक्सानी हो ।

अन्त्यमा, अमेरिकाको हित चाहने हामी सबैले यस विषयमा आवाज उठाऔं भन्न चाहन्छु । पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेको गल्तीलाई सुधार्नै पर्छ । कोरोना भत्ता वा बेरोजगारी भत्ता पाउने तर व्यक्तिले सकेको काम चाहिं गर्नुपर्ने प्रावधान राख्नका लागि सबैतिरबाट आवाज निकालौं । सरकारमाथि नीति परिवर्तनका लागि दबाब सिर्जना गरौं साना बिजनेश टिकाउनको लागी ।

प्रतिक्रिया