निशेधाज्ञाको बढी असर धादिङको चेपाङ बस्तीमा, कन्दमुल पनि सकिएपछि भोकै सुत्नुपर्ने बाध्यता

इनेप्लिज २०७८ जेठ २३ गते ८:४७ मा प्रकाशित

सोममायाँ चेपाङको पेटमा चार दिनपछि शुक्रबार बल्ल अन्न प¥यो । उनका ६ जना लालाबालाले पनि सँगै कोदो र मकैको पिठो ओडालेको ढिँडो खाए, त्यो पनि टाँकीको मुन्टासँग ।

केही सातादेखि उनको परिवारले साताको २ दिन पनि अन्न खान पाएका छैनन् । उनी भन्छिन्– ‘गाउँमा पनि कसैको घरमा अन्न छैन, अब गिठ्ठा त सक्किसक्यो भात खानेकुरा त हाम्रो लागि सपना भइसक्यो ।’ छोराछोरीले असाध्यै पिरेपछि शुक्रबार पल्लोगाउँबाट २ माना पिठो मागेर ढिँडो खाएको उनले सुनाइन् ।

३४ वर्षीय सोममायाँको घर दक्षिणी धादिङको वेनिघाट रोराङ गाउँपालिका–८, जिरवाङमा पर्छ । दक्षिणी धादिङको चेपाङ बस्तीहरुमा अनिकाल सुरु भएको छ । खोरिया खनेर उत्पादन गरेको अन्नपातले मुस्किलले पाँच महिना खान पुग्छ । अन्य समयमा अभाव र भोकसँग जुध्दै आइरहेका छन् ।

सोममायाको श्रीमान् सन्तलाल चेपाङसहित चार छोरी, दुई छोरासहित आठ जनाको परिवार छ । हिँडडुल गर्न सक्नेहरु त जंगलतिर पुगेर आरु र आँप खाएर पनि भुलिन्छन् । डेढ वर्षका छोराको पेट भर्न नसक्दा सोममाया रातभरी सुत्न सक्दिनन् । यस क्षेत्रका अधिकांश परिवारले पेटभरी खान पाउँदैनन् । घरमा अन्नपात सकिएदेखि नै टाँकीको मुन्टा, काँचो आँप, आरु खाएर जीवनसँग संर्घष गरिएको छन् ।

उता जिरवाङकी ७३ वर्षिय ठूलीमायाँ चेपाङको पनि व्यथा उस्तै छ । शुक्रबार बिहानको साढे ११ बज्दा अगेनामा आगो फुक्दै थिइन् । चुल्होमा मुढा हालेर जबरजस्ती ढुङ्ग्रोले सल्काउँदै थिइन् । भन्दै थिइन्, ‘पकाउने कुरा त छैन । तै पनि आगो निभाउन हुन्न भनेर मुढा सल्काउँदैछु ।’

दुई दिनदेखि ठूलीमायाँको पनि पेटमा अन्न परेको छैन । ‘धुवाँ खान मिलेन, ढुङ्गा चपाउन सक्दिन, अब खानै नपाएर मर्ने भइयो’ उनले व्यथा सुनाइन् । गाउँ पैंचो पनि पाउन छोडेपछि सँगै बस्ने नाती कमाउन जान्छु भनेर घर छोडेर निस्किए । एक्लै रहेकी ठूलीमायाँ अब कसैले खानेकुरा ल्याइदिने आशमा छिन् ।

‘गाउँमा ऐंचोपैंचो चलाउने पनि सम्भावना छैनन्’, गोठीभञ्ज्याङका आईतराम चेपाङले भने, ‘गाउँ नै भोकमरीको चपेटामा छ । आफैलाई खाने अन्न छैन, कसले दियोस् ।’ ठूलीमायाँ र सोममायाँ जस्तै जिरवाङ, गोठेभन्ज्याङ, यारबाङ, रोतेस, भुमीडाँडा, बोम्राङ, मान्बुङ, दुङवाङको सामूहिक समस्या हो । यस भेगका करिब एक सय ५० परिवार भोकमरीको चपेटमा छन् । निषेधाज्ञाका कारण दैनिक ज्यालादारीको काम पनि रोकिएको छ । बारीको उब्जनी पनि सकिएको र काम गर्न पनि नपाएका कारण यस भेगका स्थानीय भोकभोकै परेका हुन् ।

बेनिघाट रोराङ गाउँपालिका– ६, ८ र २ का अधिकांश गाउँमा अहिले अनिकालको चपेटामा छ ।गत वर्ष कोरोना माहामारीको संक्रमण रोक्न गरिएको बन्दाबन्दीले रासायनिक मल अभावका कारण मकै उत्पादन कम हुँदा अनिकालको अवस्था सिर्जना भएको नेपाल चेपाङ संघ, धादिङका अध्यक्ष तथा खाद्य अधिकार जिल्ला सञ्जाल धादिङका सदस्य भीम बहादुर चेपाङले बताए । ‘आफ्नो उब्जनीले वर्षभरी खान नपुग्ने र कोरोना महामारीले मजदुरी गर्न नपाएपछि यस भेगका चेपाङ समूदायमा छाक टार्न मुस्किल छ’, उनले भने, ‘टाँकीको मुन्टा, कोइरालो, सिब्लिगान, लट्टेको साग र गिठ्ठा, भ्याकुर लगायत कन्दमुलको भरमा चेपाङहरुले सास अड्याइरहेका छन् ।’

जंगलमा समेत कन्दमुल सकिएपछि खाद्यान्न संकटमा परेको बेनिघाट रोराङ गाउँपालिका–८ का वडा अध्यक्ष बीरबहादुर श्रेष्ठले बताए ।

‘चेपाङबस्तीमा अहिले भोकमरी चलेको छ, गिठ्ठा, टाँकीको सागले छाक टारिरहेका छन् ।’, वडा अध्यक्ष श्रेष्ठले भने, ‘वडामा लगभग तीन सय ५० चेपाङ परिवार छन्, अधिकांश चेपाङ परिवारलाई चैत्रदेखि साउनसम्म हातमुख जोड्न समस्या हुन्छ, वडाबाट मात्रै केही गर्न सकिएको छैन ।’ राहतका लागि वडामा बजेट नभएको र गाउँपालिकासँग समन्वय भइरहेको उनले बताए ।

 

प्रतिक्रिया