विश्व वातावरण दिवस,दीगो विकास र अर्थतन्त्रसँग जोडिएका केही कुरा

कोमल अधिकारी,टिकापुर,कैलाली। २०७८ जेठ २२ गते १६:२९ मा प्रकाशित

 

आज जून ५।विश्व वातावरण दिवस।वातावरणलाई जैविक(Biotic) र अजैविक(Abiotic) साथै पार्थिव (Material) र अपार्थिव ( Non- material) को अन्तर्क्रियाको रूपमा बुझ्न सकिन्छ।जनसङ्ख्या र वातावरण एउटै सिक्काको दुईटा पाटाको रूपमा चिनिन्छ।वातावरण विना जनसङ्ख्याको अस्तित्व हुन्न भने जनसङ्ख्या विना न त वातारवरणको पहिचान हुन्छ न त संरक्षण नै।वातावरणलाई प्राकृतिक,भौतिक,सामाजिक-साँस्कृतिक आदि रूपमा अध्ययन गर्न सकिन्छ।

वस्तु र मानिसको चेतनामा आउने विकासले शासन व्यवस्था परिवर्तन भईरहने हुन्छ।हिजोको आदिम युग पछि आएको दासयुगलाई पनि प्रगतिशील नै मानिन्थ्यो।त्यस्तै, वि.सं.२००७ को राजनैतिक घटना वा परिवर्तन,नेपाली काङ्ग्रेस लगायत सचेत जनता जसले गरेको भएपनि, त्यसताकाको प्रगतिशील नै थियो।

यहाँ उठान गर्न खोजिएको विषयवस्तु राजनैतिक व्यवस्था र पारिस्थतिकी (Ecosystem) बीचको सम्बन्धलाई कसरी हेर्ने भन्ने हो।हामीले पारिस्थितिकीलाई गडबड गरायौँ भने हाम्रा सन्ततिले भोग्नुपर्ने पीडा कस्तो होला ? व्यवस्था त हामीले चाहेको जस्तो ल्याउन खोजौँला वा सन्ततिले ल्याउलान् तर प्रकृतिले हामीलाई/ ऊनीहरूलाई समर्थन गरे त हो।तसर्थ यसतर्फ अहिले नै घोत्लिन आवश्यक भईसकेको छ।

यसको लागि दीगो विकास (Sustainable Development) बारे हामीले कसरी सोच्ने भन्ने कुरो आउँछ।दीगो विकास अनुसार हामीले प्रकृति प्रदत्त स्रोतहरू आफ्नो भागमा परेकोलाई मात्र प्रयोग गर्ने हो,भविष्यका सन्ततिको भाग खोस्ने होईन।मानिसको प्रकृति हेर्दा ऊ आफ्नो सन्ततिको लागि सम्पति जोगाउँछ,जोहो गर्छ।तर, यदि उसको (बच्चाको) जीवन नै धराशायी हुने वातावरण भयो भने तपाईँको सम्पत्तिले के गर्ला उसले ? अहिले हामीले प्रयोग गर्ने वस्तु,साधन र गर्ने व्यवहारले वातावरणलाई कस्तो प्रभाव परिरहेको छ? के हामी सचेत छौँ यस बारेमा ? यसतर्फ ध्यान दिन ढिला भईसकेका छौँ।

विकास सँग-सँगै हामी कसरी विनाशलाई निम्त्याउँदैछौँ…कति जनावरको वास स्थान नाश गर्दैछौँ? वर्षाको मुख्य स्रोतको रूपमा रहेको; भ-क्षयलाई रोक्ने; बिरुवा र हामी लगायत जनावरलाई आवश्यक पर्ने प्राणवायु दिने र कार्बनडाई अक्साईडलाई ब्यवस्थित गर्ने तथा मनमोहक हरियाली वातावरण बनाउने वनस्पतिलाई हामी कुन ढङ्गबाट क्षयीकरण गर्दैछौँ? यसले हामीलाई कहाँ पुर्याउँछ? झन् हाम्रा सन्ततिलाई कहाँ पुर्याउने हो थाहा छैन।यसरी वातावरण प्रदूषित गर्दा र पारिस्थितिक प्रणालीलाई तहसनहस गर्दा के हामी आफ्ना अत्यन्त प्यारा सन्ततिलाई न्याय गरेका छौँ त? यस्तो अवस्थामा के हामीले आफ्ना सन्ततिलाई माया गरिरहेका रहेछौँ त? मननीय छ।सम्पति जोगाईदिने हामी आमा-बाबु आफ्ना बच्चाहरूले क्षण-क्षणमा प्रयोग गर्ने प्राणवायु त जोगाएका रहेन छौँ त ? उनीहरूको (भविष्यको) पारिस्थितिक प्रणालीलाई जोगाएका त रहेन छौँ त?यसतर्फ गहन रूपले सोच्न जरूरी छ।

माथि उठान गरिएको कुरालाई जनतासम्म पुर्याउने मुख्य जिम्मा (सबैको हो,तर,मुख्यचाहिँ) त्यहीबेला (वा,त्यो भन्दा अगाडि भईसकेका)विभिन्न वातावरणीय सन्धीहरूमा समेत हस्ताक्षर गरेको सत्ता/सरकारको हुन्छ र भावी सत्ता सञ्चालन गर्छु भन्नेको पनि। सूचना-शिक्षा-सञ्चारको प्रयोग गरेर सू-सूचित गर्ने,बन्देज लगाउने,नटेरेमा कडा कानून बनाई कानूनको कार्यान्वयन गर्ने काम सत्ता सञ्चालकको हुन्छ।तर, यसबारे सत्ता सञ्चालक वा सरकार नै आर्थिक उपार्जनका नाममा,कर पाईने नाममा प्राकृतिक स्रोत (वैज्ञानिक अध्ययन विना खोलाको बालुवा,गिट्टी,ढुङ्गा निकाल्न दिने; जङ्गली जनावरको वासस्थान वा करिडोरको रूपमा रहेका जङ्गल विनाश गर्ने, रूखहरू भएकै ठाउँमा (विकल्प र आवश्यक्ता नहेरी) विकास निर्माण गर्ने कुराहरू,बजेट सन्तुलन गर्न अन्य उपायहरू भन्दा मरूभूमिकरण गर्ने आदि)लाई दोहन गर्ने हो भने दीगो विकासलाई कस्तो असर पर्ला? उत्पादन गरेर निर्यात गरी बजेट घाटा पूर्ति गर्नु पर्नेमा तथा नवीकरणीय( Renewable) प्राकृतिक स्रोतहरूलाई नवीकरण गर्दै र अनन्त (Perpetual) प्राकृतिक स्रोतहरूलाई अत्याधिक प्रयोग गरि उत्पादन गरी देशलाई समृद्ध गर्नुपर्नेमा भएका प्राकृतिक स्रोतका जरो नै सिध्याएपछि कस्तो अवस्था आउला? भोलिका सन्ततिका लागि बाँसुरी बनाउन/बजाउन खोज्दछन् भनी हामीले अहिल्यै बाँसैलाई निमिट्यान्न नपार्ने कि ?

-कोमल अधिकारी,टिकापुर,कैलाली।

प्रतिक्रिया