शनिबार, असार ५ २०७८
काठमाडौं १५:००
वासिङटन डिसी 05:15

न्याक र नीको फाउन्डेसनद्वारा नेपालमा अक्सिजनका लागि ५० हजार डलर दान अमेरिका नेपाल मेडिकल फाउन्डेसनलाई हस्तान्तरण

इनेप्लिज २०७८ जेठ २२ गते १०:५४ मा प्रकाशित

वाशिंगटन डिसी। नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक) र नीको फाउन्डेसनद्वारा फ्रान्सबाट अक्सिजन प्लान्ट खरीद गरी नेपालका अस्पतालहरुमा जडान गर्न संयुक्त रुपमा संकलित अमेरिकी डलर ५०,०००.००(पचास हजार) अमेरिका नेपाल मेडिकल फाउन्डेसन (एएनएमएफ)लाई शुक्रवार हस्तान्तरण भएको छ ।

न्याकको तर्फबाट ५० हजारको नमुना चेक न्याकका कोष प्रमुख केशव बरालले अमेरिका नेपाल मेडिकल फाउन्डेसनका अध्यक्ष डा भुपेन्द्र खड्कालाई गर्नु भएको थियो ।

भर्चुअल माध्यमबाट गरिएको हस्तान्तरण कार्यक्रममा न्याकको तर्फबाट प्रदीप ढकाल, चन्दा संकलनकर्ताको तर्फबाट प्रेम पौडेल र विना खड्का लामाले प्रकाश पार्दै नीको फाउन्डेसन र मेडिकल फाउन्डेसनसंगको सहकार्य हुन सकेको प्रष्ट पार्नु भयो ।

५० हजारको चेक ग्रहण गर्दै फाउन्डेसनका अध्यक्ष भुपेन्द्र खड्काले नेपालमा छिट्टै अक्सिजन प्लान्ट पुर्याइने जानकारी दिनु दिंदै सहयोगी सवै दाताहरूलाई धन्यवाद दिनु भयो ।

एएनएमएफ, नेपालको परामर्श र नेपाल सरकार र अन्य क्षेत्रको सहमति र निर्क्योलमा नेपालमा कुन कुन अस्पतालमा प्लान्ट स्थापना गर्ने भन्ने निर्णय गरिने जानकारी पनि उहॉले दिनु भयो ।

यस्तै एएनएमएफ नेपाल कार्यालयले प्लान्ट जडान र निर्माणको प्रबन्ध, निरीक्षण, तालीम र निगरानी जानकारी पनि डा खड्काले दिनु भयो । नेपाली अमेरिकन सामुदायिक केन्द्र र नीको फाउण्डेसनको सहयोग अमेरिका नेपाल मेडिकल फाउन्डेसनले फ्रान्सबाट नेपाल लैजाने १० वटा अक्सिजन प्लान्ट मध्ये एउटा प्लान्ट खरिद गर्न प्रयोग हुने पनि जानकारी दिइयो ।

नीको फाउन्डेसनको तर्फबाट बोल्दै यस राहत संकलन अभियानका प्रमुख संयोजक राजु कार्कीले नीको भर्खरै स्थापित संस्था भए तापनि यसले नेपाललाई सहयोग गर्ने दिशामा धेरै महत्वपूर्ण कामहरु गरेको बताउनु भयो । यो डोनेसन अभियानको लागि आफूले नै डा उप्रेतीलाई कुरा गरेर न्याकसंग सहकार्यको प्रस्ताव राखेको जानकारी पनि उहांले दिनु भयो । हालसम्म नेपाललाई सहयोग गर्न ८० हजार डलर जति उठिसकेको र सवै रकम चांडो भन्दा चांडो नेपाल पुर्याउन र सदुपयोग गर्न न्याक लगायत सवै संस्थालाई अनुरोध गर्नु भयो । 

यस कार्यको लागि न्याक, नीको फाउन्डेसन, अमेरिका नेपाल मेडिकल फाउन्डेसन अमेरिका र अमेरिका नेपाल मेडिकल फाउन्डेसन, नेपाल बीचमा एक सम्झौतापत्रमा हस्ताक्षर भएको थियो ।

कार्यक्रममा अमेरिका नेपाल मेडिकल फाउन्डेसन अमेरिकाका सचिव डा सन्देश पण्डितले संस्थाहरुवीच भएको सम्झौता पत्रको बारेमा र बोर्ड मेम्बर डा अनिल सुवालले अक्सिजनको महत्व बारेमा बेल्नु भएको थियो ।

सो हस्तान्तरण समारोहमा मिसन रिबिल्ड नेपाल र अक्सिजन प्लान्ट खरीद प्रोजेक्टको तर्फबाट बोल्दै डा मदन उप्रेतीले दुई हप्ता भित्र प्लान्टहरु नेपाल पुर्याउने प्रयास भैरहेको बताउनु भयो ।

डा नारायण धरेलले उपचारमा अक्सिजनको महत्व बारेमा बोल्नु भएको थियो । कार्यक्रममा सामाजिक अभियन्ताहरू परशुराम भण्डारी, इन्जाका अध्यक्ष गुणराज लुइटेल, पुरु सुवेदीले पनि सहयोगी दाताहरुको प्रशंसा गर्नु भएको थियो ।

कार्यक्रमको संयोजन न्याकको तर्फबाट डा कल्पना सत्याल(विद्या वारिधी) ले गर्नु भएको थियो ।

प्रतिक्रिया