कहिले सम्म चल्ने होला,यस्तो संकटकाल हजुर ?
त्राहीमाममै कति बस्नु,के हो यस्तो चाल हजुर ??
साँढेहरु जुध्दै गर्छन्,हार जितको टुङ्गो छैन्।
निमुखा ती बाच्छाहरु,भोग्छन् महाकाल हजुर ।।
आँत सुकेर बोल्नै छाडे,घरमा लालाबालाहरु।
हातमुख जोड्नै सकस भयो,कस्तो अनिकाल हजुर ??
शोकमग्न छन् गाउँ,बस्ती,पुत्याउँदैनन् झुप्राहरु।
महल तिर होला कतै,अनाज फालाफाल हजुर ??
वुद्धको यो जन्म भूमी,भन्नै पनि शरम भयो।
‘शान्ति क्षेत्र’ नेपालको,यो कस्तो वेहाल हजुर ??
अचुक दवाई खोज्नै पर्छ,खोजौं छिटै सबै मिली।
विरामीले सिकिस्त भो,मेरो यो नेपाल हजुर।।
कहिले सम्म चल्ने होला,यस्तो संकटकाल हजुर ?
त्राहीमाममै कति बस्नु,के हो यस्तो चाल हजुर ??
—मित्र ‘उराठी’ गौतम
इस्मा गा.पा. -६अमरपुर ,गुल्मी
[email protected]
प्रतिक्रिया