उसले
संकल्प गरेको थियो
अब कहिल्यै कसैले
बोक्नु नपरोस् हतियार
बरु न्यौछावर गर्नै परे
गर्छु म यै युद्धमा आफ्नो जीवन
सबैले जित्ने युद्धमा
दिन परे दिन्छु प्राणको आहुती
लडनु परे लड्छु
शत्रुसंग भयानक युद्ध
परे खप्न तयार छु
शीतयुद्धका सबै नियमहरू
तर म सहन सक्दिनँ
असहिष्णुता
सक्दिनँ म बस्न हेरेर
साशकको क्रूरतापूर्ण दमन
चाहिन्न मलाई
मेरा लब्धाङ्क पत्र धितो राखेर
चक्रबृद्धि व्याजमा ऋण
यतिबेला मलाई चाहिएको छ
जीवन बाँच्ने बतास
प्राण रक्षा गर्ने
एक-दुई गोली प्राणेश्वर
स्वतन्त्रता
शान्ति र
चाहिएको छ
समृद्ध नेपालको तस्बिर
धेरै लडें मैले तिम्रा स्वार्थका लागि
छापामार युद्ध
बिद्रोही भए
सरकारी अभिलेखको सूचीमा
बेपत्ता नागरिक भए
गुमाए मैले आफैंसग बन्दुक बोक्ने प्रेमी,
थाती राखेर मेरो माग
तिमी संझौता गरेर सत्तामा पुग्यौ
आमाको मुख हेर्न नपाएर
छट्पटीदै भाग्दै हिंडे
मेरा लागि
खतरा तिमीबाटै थियो
तिमी शान्ति संझौताका हस्ताक्षर कर्ता
भाषण गर्दै हिड्यौ र भन्यौ
म बिना सहिद सहिद बने
मुठ्ठी उठाएर मेरो नाममा
क्रान्तिकारी श्रद्धाञ्जली जाहेर गर्यौ
विडम्बना म जीउँदै रहेको
हेक्का रहेन तिमीलाई
तिमीसंगै बन्दुक उठाएर
युद्ध लडेको क्षण
बिर्सियौ तिमीले सबै संकल्प र प्रतिबद्धता
त्यसैले म तिम्रा बिरुद्ध
र,आफ्नैआत्मरक्षाको लागि
लडिरहेको छु एउटा संगिन युद्ध।
🖊️ ऋषभदेव घिमिरे
प्रतिक्रिया