प्रदुषण

डा बुनु दाहाल २०७८ जेठ १४ गते २१:५८ मा प्रकाशित

 


वायुमण्डलमा धूलो, धुवाँ र विकिरण युक्त के के? के के ?
डढेलोको धुवाँ, सवारी साधनको प्रदूषण
ढल जन्य फोहोर अनि जनघनत्वको अधिक चाप
आदिका कारणले हो भन्ने विज्ञहरूको विश्लेषण !

यी त भए प्रदूषित वातावरण अनि असरका कारण
तर यहाँ वातावरणीय प्रदूषण मात्र होइन
सामाजिक र राजनीतिक प्रदूषण पनि प्रचुर छ
यस तर्फ कसैले किन विश्लेषण गरेको छैन म बुझ्दिन ?

आखिर यो राजनीति भित्रको प्रदुषण के का लागि ?
पद पैसा र प्रतिष्ठा का लागि मात्र हो वा अरु कुनै ?
अन्धभक्त भएर कालो लाई सेतो अनि सेतो लाई कालो
भन्दै पर्दारुपी लेप लगाउने आखिर को? हनुमाने कार्यकर्ता होइन ?

सडकमा उफ्री उफ्री कोकोहोलो गर्ने तिमी प्रदूषित छैनौ ?
यत्र तत्र जहीं तहीं प्रदूषण नै प्रदूषण को चांग छ
घर भित्र होस् वा बाहिर कार्यस्थलमा होस् वा साथी सँगीमा
सर्वत्र प्रदूषण नै प्रदूषण !!! कस्तो विडम्बना !!

बाहिरको त कुरै छाडौ,
घर भित्रै पनि असमानता र असहिष्णु व्यवहार
कमाउने र काम काजीलाई दूधभात र मिठो मसिनो
अनि घर बस्ने र इलम बिहिनलाई केवल रुख्खा सुख्खा !!

तपाइँ पद प्रतिष्ठा र पावरमा हुनुहुन्छ भने,
सलाम नमस्कारको त के कुरा? चाकडी गर्नेको ओइरो लाग्छ
तर तपाई संग त्यो छैन भने साथिभाई समेत मुन्टो बटार्छन्
के यो प्रदूषण होइन ?

यो प्रदूषण कुनै एक क्षेत्र तह तप्का र वर्गमा मात्र सीमित छैन
यत्र तत्र र सर्वत्र छ, साहित्य पनि यसबाट अछुतो छैन
साहित्य सृजना मनको भाव अनि अन्तर हृदयको बिसौनी हो
तर सुनिन्छ, यो पनि किन बेच गरिन्छ किन ? के का लागि ?

सृजना, सन्देश र सर्जकको सम्मानको लागि होइन ?
प्रकाशित कृति पुरस्कार प्राप्तिको लागि होडबाजी मात्र हो?
अनि साम दाम र दण्ड प्रयोग गरि पुरस्कार र सम्मान प्राप्त गर्नु ,
के एउटा सर्जक र स्रष्टाले कलम चलाएको त्यसैका लागि हो ?

मात्र सम्मान र पुरस्कार !!
पुरुषको सहारा बिना पाइला लमकाउन नसक्नु,
पराधीनताको पराकाष्ठा !
कलमै नचलाई आफ्नो नाम दिने परिपाटी ,
के यो प्रदूषण होइन ?

वायुमण्डलको प्रदूषण त केवल स- दृश्य मात्र हो
हाम्रो समाज र परिवेशमा यस्ता प्रदूषण त कति छन् कति !
पल पल अनि पाइलै पिच्छे प्रदूषण नै प्रदूषण !!
हामी सबै मिलेर समाजका यस्ता प्रदूषण सफा गर्ने प्रयास गरौं
यही छ मेरो हृदय भरीको शुभकामना ! ! शुभकामना !!

प्रतिक्रिया