एक मात्र मायालु छोरो र पत्नी वसन्तीलाई छोडेर सुनौलो भविष्यको सपना बोकेर खाडी पसेको शरद कोरोना महामारीको प्रकोप पछि गत दशैं ताका नै गाउँ फर्केको थियो।नेपालमा नै दुखसुख गरि खाउँला बुढा अब विदेश नजाऊ भनि वसन्तीले सम्झाइ वुझाइ गरेपछि शरदको पनि मन पग्लेको थियो ।प्यारो छोरो र पत्नी सँग दुखजिलो गरिरहेकै बेला एकदिन शरदलाई रुघाखोकि र ज्वरोले समायो।गाउँकै मेडिकलबाट औषधी लिएर खायो तर विमार झन बढ्दै गयो।सहरको अस्पतालमा जचाउँदा कोरोना संक्रमण पुष्टि भयो।व्यथाले च्याप्दै लगेपछि सास फेर्न गाह्रो भएकोले आइसियूमा भर्ना गरियो।
आइसियूमा भए पनि वेलावखत वसन्ती सँग फोन सम्पर्क भै रहेकै थियो ।दिनहुँ आफ्नो वेड सँगै रहेका विरामीको मृत्यु भैरहेको र आफ्नै आँखा अगाडि प्लाष्टिकमा बेरेर लास निकालेको देख्दा निकै डर लाग्ने र मन हतास हुने कुरा वसन्ती सँग शरदले फोनमा बताउँथ्यो ।यता वसन्तीको मन पनि भत्भती पोल्थ्यो।
यत्तिकैमा एक दिन ४ बजेतिर अस्पतालमा अक्सिजन सकिएकोले आफ्नो विरामीलाई अन्यत्र व्यवस्था गर्नु या त विना अक्सिजन पनि यहिं उपचार गराउन मञ्जुर छु भनि कागज गर्न आउनु भनि अस्पतालबाट वसन्तीलाई फोन आयो।आफ्नो सानो छोरो बोकेर हतार हतार वसन्ती अस्पताल पुगी।
अक्सिजन अभावमा कतिपय विरामीको मृत्यु भै सकेको र कतिपय अन्तिम सास फेर्दै थिए।अस्पताल परिसरमा आफन्तहरुको रुवावासी चलिरहेको थियो।आफ्नो पतिलाई अक्सिजन अभावमा छटपटाईरहेको देखे पछि वसन्तीको होसहवास उड्यो ऊ पागल जस्तै बनि र छोरोलाई भुँइमा राखी बुढोलाई जुरुक्कै बोकेर बाहिर निस्की।छोरो रुँदै पछि लाग्यो ।शरदलाई अस्पताल परिसरकै पिपलबोट मुनीको छहारीमा दुवोको चौरमा सुताइ र भक्कानो छोडेर रुन थाली ।छोरो पनि बाबा बाबा भन्दै शरदको छातिमाथी चढेर लडिवुडि गर्न थाल्यो।
सास फेर्न गाह्रो भए पनि शरदको चेतना हराएको थिएन।अस्पतालको वन्द कोठाबाट पिपलबोट मुनि खुला हावामा आउँदा सास फेर्न केहि सजिलो भएको महशुष भयो।वसन्तीको पीडादायि रोदन र छोराको प्यारयुक्त तोते बोलिले दिमागमा एक किसिमको तरङ्ग पैदा गर्यो र आत्मबल बढेर आयो ।म जसरी पनि बाँच्नु पर्छ भन्ने भावना भित्रै देखि जागृत भयो र वसन्तीककक भन्दै शरद जुरुक्कै उठेर वसन्तीलाई अँगालो मार्यो।वसन्तीलाई सपना जस्तै लाग्यो।दुबैको मुखबाट धेरैवेर सम्म वाक्य फुटेन,हर्षाश्रु वगिरहे,खुसीको कुनै सीमा रहेन।
-मित्र उराठी गौतम
अमरपुर,गुल्मी
हालःबुटवल
[email protected]
मित्र उराठी गौतम-साहित्यकार /लेखक
प्रतिक्रिया