ए साथी
आऊ न एकछिन
आज मेरी आमाको
जन्मदिन हो के
फेसबुकमा
जन्मदिनको शुभकामना लेख्नु छ
आमा सँगै खिचेको
यहि फोटो राखेर
शुभकामना लेख्नु छ
तर
अलि मिलाएर
इडिट गरिवरि
फूलबुट्टा भरिदेऊ न
जस्तो पहिले
आमाको मुख हेर्ने दिनमा
मिलाइदिएका थियौ।
यहि बुहारीसँग
मिल्न नसकेर त हो
त्यो दुर्गम गाउँमा
एक्लै बस्नु परेको।
आखिर बुहारीको
केहि कुरा सहेर
बसेको भए
के नै विग्रन्थ्यो र ?
बिहान बुहारी उठ्नु अगाबै
बढार कुँडार,झाडुपोचा
सिद्धाइसके त
किन किचकिच पर्थ्यो र ?
आखिर गर्नु त छँदै थियो
ढिलो गरे पनि
बिहानै गरे पनि
कमसेकम बुहारी उठ्ने बेला
टायल, मार्वलमा
चिसो नरहोस्
कतै चिप्लिएर नलडियोस्
त्यति न हो कुरा
नाजायज के नै पो थियो र ?
बिचरी बुहारी पनि
दिनभर अफिसको थकाइ
साँझ बिहान
छोराछोरीको रेखदेख
कति मात्र भ्याओस्
केहि काम सघाउँदा
के मुस्किल थियो र ?
कुँजिएर बस्नु भन्दा
केहि व्यायाम पनि त हुन्थ्यो।
गोरु बुढो भए
भिर खोज्छ
मान्छे बुढो भए
निहुँ खोज्छ
त्यसै त बनेको
रहेनछ उखान !
जमाना अनुसार
चल्नै नसक्ने
बुहारीको व्यवहारमा
ढल्नै नसक्ने
अनि
बुहारीलाई दोष लगाएर
बुढेसकालमा त्यो गाउँमा
दुःख सहेर
बस्न चाहिँ सक्ने ।
त्यसैले साथी
आमाले फेसबुक
नचलाएर के भो र
तिमीले इडिट गरेर
बनाइदिएको सुन्दर
जन्मदिनको शुभकामना पोष्टमा
मेरा आफन्त,साथीभाइबाट
थुप्रै थुप्रै
लाइक र कमेन्ट आउँदा
मनै आनन्दित हुन्छ
म हर्षले गदगद् हुन्छु
त्यसै त्यसै पुलकित हुन्छु
त्यसैले साथी
मेरी आमाको जन्मदिनमा
सुन्दर डिजाइन गरिदेऊ
जस्तो
तिमीले तिम्री आमाको
जन्मदिनमा बनाएका थियौ।
—अस्तु—
अमरपुर, गुल्मी
हालः बुटवल
[email protected]
प्रतिक्रिया