युद्ध पछिको अमेरिकन सम्बृद्धि र स्वरूपहरु:

पूर्ण श्रेष्ठ,म्याडिसन विस्कनसन २०७८ जेठ ८ गते २०:२२ मा प्रकाशित

सन १८६१ मा गृहयुद्ध शुरु हुनु अघि सम्म अमेरिकामा नयाँ पद्धति केही थिएन।हजारौ बर्ष अघि देखि जे चलन थियो त्यसैमा मान्छे हरु ब्यस्त थिए।अधिकाँस अमेरिकनहरु बिहान घाम नउदाउँदै खेतबारीमा काम गर्न जान्थे र बेलुका घाम अस्ताउने बित्तिकै सुती हाल्थे।मान्छेहरुसंग समय हेर्न घडी हुन्थेन भने उज्यालोको लागि मैन बत्ती बाल्ने हैसियत हुन्थेन।केवल धनिहरुसँग मात्र घडी हुन्थ्यो भने धनिहरुले मात्र मैनबत्ती बाल्न सक्थे।

गृहयुद्ध अघिका अमेरिकन समाज आफु केन्द्रित थिए।एउटा अमेरिकन आफ्नो फाईदाको लागि अर्को अमेरिकनको शोषण गर्दथे।समाजमा झुठ,बेइमानी, अन्याय,अत्याचार ब्याप्त थियो।कुनै पनि ब्यवसाय तथा पेशामा इमान्दारीता थिएन।कसैलाई कसै प्रति विश्वाश थिएन।हर ब्यक्ति केवल आफ्नो नाफा नोक्सानको दौडमा हुन्थे।त्यस बखत मान्छेको चाहना मेरो मात्र उन्नती होस् भन्ने थियो।समाजकै उन्नती होस् भन्ने सोच थिएन। ब्यक्ति ब्यक्तिमा चरम् द्वन्दको अवस्था थियो। समाजका यस्ता आन्तरिक द्वन्दले हिँसात्मक रुप लिँदा गृहयुद्ध शुरु भएको थियो।

युद्ध कसैको लागि पनि प्रिय हुँदैन।युद्धले क्षति नै क्षति गर्छ।बांचेकाहरुलाई जिन्दगीभर तर्साइ रहन्छ।यस्तो कठिन परिस्थितिलाई पनि आफु अनुकुल बनाउदै संयुक्त राज्य अमेरिका सम्बृद्धि को उचाइमा पुगेको हो।गृहयुद्धको समाप्ति पछि केही आशाबादी र सिर्जनसिल अमेरिकिहरुले अमेरिकालाई सम्बृद्ध बनाउन सकिन्छ भनेर अघि सरे।त्यही दुरदर्शी अमेरिकनहरुको नेतृत्वले राष्ट्रलाई सम्बृद्ध बनाएरै छाडे।

जुलाई ४,१७७६को बेलायती उपनिबेशबाट स्वतन्त्रता पाए पछि अमेरिकाले मुलत: तीन (३) वटा डर लाग्दो युद्ध ब्योहोर्यो। सन १८६१ देखी १८६४ सम्म चलेको गृहयुद्ध जसमा छ (६) लाख बीस हजार अमेरिकीहरु हताहत भएका थिए।त्यस पछिको युद्ध थियो प्रथम विश्व युद्ध जुन सन १९१३ देखी १९१९ सम्म चल्यो जसमा लगभग १ लाख १७ हजार अमेरिकनहरुले ज्यान गुमाएका थिए।डर लाग्दो दोस्रो विश्वयुद्ध सन १९३९ देखी सन १९४५ सम्म हुँदा लगभग चार (४) लाख अमेरिकनले ज्यान गुमाएका थिए।

अमेरिकन अर्थतन्त्र र जनशक्तिको बिकराल नोक्सान पुर्याएको त्यो गृहयुद्ध, प्रथम विश्वयुद्ध र दोस्रो विश्वयुद्ध पछि अमेरिकी सम्बृद्धिमा उछाल नै आएको थियो। गृहयुद्ध सकिएको आठ बर्ष पछि सन १८७१ मै अमेरिका विश्वको सबभन्दा ठुलो अर्थतन्त्र भई सकेको थियो।

गृहयुद्ध (सन १८६१-१८६४) पछिको सम्बृद्धि र स्वरूपहरु:

लगभग चार बर्षको गृहयुद्धमा भिषण नरसंहार भएपछि सन १८६५ देखी १९०० सम्मको अबधिमा अमेरिकामा संरचनात्मक रुपमै परिवर्तन आएको थियो। गृहयुद्धको समाप्ति पछि अमेरिका कृषि युगबाट रुपान्तरण भई औधोगिक युगमा प्रबेश गर्‍यो।गृहयुद्ध साह्रै निर्दयी,क्रुर र आक्रमक थियो। तर पनि गृहयुद्धको बेला प्रसस्त औषधी कारखाना र औषधालयहरु खुले।टोल टोलमा स्वास्थ्य केन्द्रहरु खुले।

गृहयुद्धपछि अमेरिकाका साना किसानहरु ठुला किसान भए भने साना ब्यापारीहरु उध्योगपतिमा परिणत भएका थिए। उद्योग तथा निर्माण कारखानाहरु खुल्न थाले।बडे बडे पानीजहाज हरु बनाउने कारखानाहरु खुल्न थाल्यो। मान्छेहरु खेतिपाती पेशा छाडेर औधोगिक कलकरखानाहरुमा काम गर्ने भएका थिए।
जे पि मोर्गन एन्ड्रेउ कार्नेगी,जोन रकफेल्लर तथा कार्नेलिअस भ्यान्डर्बिल्टले ब्यापार तथा उध्योगमा मात्र हैन राजनीतिमा समेत दबदबा कायम राखेका थिए।यि पुंजिपतीहरुको अन्तर्गत लाखौँ कामदारहरु थिए।यिनले जसलाई भन्यो उसैलाई ति कामदारहरु भोट हाल्थे।त्यसैले यि पुँजिपतीहरु सरकारी नियम मान्नु त दुरको कुरा नियम बनाउने राष्ट्रपती नै फेरि दिने हैसियत राख्दथे।हरेक अमेरिकीहरुको जिन्दगी यिनै पुँजिपती हरुको खटनपटनमा चल्दथ्यो।पुँजिपतीहरुको दबदबाले अमेरिकी प्रजातन्त्रलाई नै धावा बोलेको समय थियो त्यो। मुलुक भर असमानता,शोषण,भेदभाब र बन्चितिकरण ब्यापक भएता पनि तथा अमेरिकन प्रजातन्त्रमा ग्रहण लागेको अवस्था भए पनि ब्यवसाय,ब्यापार,उद्योगहरु तथा रेलरोडहरु उधुमै गतिमा बृद्धि भएको थियो।रेलमार्ग निर्माणमा यति तेज आयो कि बर्षमा ६,००० (छ हजार) माईल सम्म बन्न थालयो।सन १८७० सम्ममा जम्मा ५३,००० माईल रेल मार्ग भएको अमेरिकामा बीस (२०) बर्ष पछि १६४,००० माईल पुगेको थियो।

प्रथम विश्वयुद्ध (सन १९१३-१९१९) पछिको सम्बृद्धि र स्वरूपहरु:

सन १९२० सम्म २० प्रतिशत अमेरिकीहरु आँफै हलो जोतेर खेती गर्दथे।४४ प्रतिशत अमेरिकीहरु गाउँमा बस्थे।घर भित्र पानी आउने धाराको ब्यबस्था थिएन। १९३० सम्म आईपुग्दा ३० प्रतिशत घरमा बिजुली थिएन।प्रथम विश्वयुद्ध पछि त अमेरिकन समबृद्धिले अमेरिकन जीवन शैलिमा चमत्कारीक परिवर्तन ल्यायो। सन १९२० पछि त आधुनिक अमेरिकाको शुरुवात भयो।यो आधुनिकता समस्त विश्वको लागि अनुकरणीय बन्यो।आम मान्छेहरुले कल्पनानै गर्न नसकेका आकाश छुने भवनहरु बन्न थाले।सन १९३० मा ७७ तल्ले १०४६ फीट अग्लो क्राइस्लर बिल्डिङ न्यु योर्क शहरमा खडा भयो। सन १९३१ मा १०२ तल्ले १२५० फीट अग्लो अम्पाएर स्टेट बिल्डिङ बन्यो।न्यास्रो मेट्न प्यारिस,लण्डन जाने अमेरिकिहरुलाई न्युयोर्क शहरको यस्ता नयाँ सँरचनाहरुले गर्ववान्वित तुल्यायो।

सन १९२० पछि त् अमेरिकामा अनगिन्ति रेडियो स्टेसनहरु खुल्न थाले। बाटोमा बिभिन्न रुप र आकारका मोटर कारहरु गुड्न थाले। बडा बडा हवाइजहाजहरु निर्माण हुन थाले। टोल टोलमा घन्किने ज्याज संगीतहरुले अमेरिकन समुदायलाई रोमान्चक बनायो। जताततै नयाँ नयाँ अबसरहरु खुल्न थाले। नयाँ नयाँ गीत संगीतले बस्ती बस्तीमा उधुम मच्चाउन थालेको थियो। अर्थतन्त्र अक्कासिदो थियो।स्टक मार्केट्मा उछाल आएको थियो। युवा युवतीहरुको लागि नयाँ नयाँ फेशनहरु आउन थाल्यो। धेरै भन्दा धेरै बिलाशी घरहरु बन्न थाले। गोली गाँठा छोप्ने गरी लुगा लगाउने महिलाहरु छोटा छोटा स्कर्ट लगाउन थाले तथा कपाल छोटो छोटो पारेर काट्न थाले।महिलाहरु कार चलाऊने, रक्सी चुरोट पिउने तथा डबलिहरुमा मस्त नाच्ने गर्न थाले।

अमेरिकामा बडे बडे अम्युजमेन्ट पार्कहरु (मनोरन्जन पार्क) बन्न थाले, सिनेमा घरहरु बन्न थाले। मान्छेहरु टेनिस खेल्ने, गल्फ खेल्ने, जोडा जोडी भाई लभ अफेयरमा भुल्ने गर्न थाले। जसै आर्थिक र शैक्षिक हैसियत बढ्न थाल्यो, साहित्यिक कृया कलाप पनि बढ्न थाल्यो। नाइट क्लब,नाइट कन्सर्टहरु,आर्ट लिट्रेचर, सभा सम्मेलन हुन थाल्यो। रेडियो, टेलिविजनमा थरी थरिका बिज्ञापनहरु बज्न थाल्यो।प्रथम विश्वयुद्ध पछिको शान्ति र समबृद्धिले अमेरिकन जीवनशैलीमा ल्याएको चमत्कार थियो यो।

द्वितीय विश्वयुद्ध (१९३९-१९४५) पछिको सम्बृद्धि र स्वरूपहरु:

द्वितीय विश्वयुद्ध पछि त अमेरिकी समबृद्धिको उचाइलाई कसैले छुन सकेन।अमेरिका संसारकै शक्तिशाली मुलुकमा दर्ज भयो।दोश्रो विश्वयुद्धमा अमेरिकाले दुई लाख सन्ताननब्बे हजार (२९७,०००) वटा हवाइ जहाज बनायो, छयासी हजार (८६,०००) ट्यान्क बनायो,र छयत्तर हजार (७६,०००) वटा पानीजहाज।यस् बाहेक असन्ख्य मोटर भेहिकल, बन्दुक,तोप,गोला बारुद बनायो।यस् बाट अमेरिकाले रोजगारी सृजना पनि गर्यो र नाफा पनि कमायो।युद्ध समाप्ती पछि युद्ध सामाग्री बनाउने करखानाहरुले अब मोटरकार, टेलिबिजन, रेफ्रीजेरेटर, डिशवासर, साइकल तथा अन्य घरायसी मशिनहरु बनाउन थाले।

सुख र सम्बृद्धिको कारण सन १९६० पछि जन्मेकाहरु अग्ला, पुष्ठ र सुन्दर देखिन्थे। त्यो नश्लको उचाइ पनि २-३ इन्च अग्लो थियो। द्वितीय विश्वयुद्धमा अमेरीकी भुमिमै आक्रमण भएर पनि अमेरिका सामर्थ नै गुम्ने गरी कमजोर भएको थिएन। शहरहरु ठीकठाक चलिरहेका थिए।जनसंख्या पनि पर्याप्त थियो। सबै ब्यापार, ब्यवसायहरु चकाचक थिए।देशमा संसारकै ठुला ठुला उधोगहरु स्थापित हुँदै थिए। हरेक बन्दरगाहहरु ब्यस्त थिए।हरेक शहरहरुमा गगन चुम्बी भवनहरु बन्ने प्रतिस्पर्धा नै चलेको थियो।

विश्वयुद्धबाट फर्किएका लाखौं सिपाहीहरुकोलागि आवास क्षेत्रहरु बन्न थाले। युद्ध बाट फर्केका सिपाहीहरु शान्त र आरमदायी जिन्दगी बिताउन घर किन्न खोज्न थाले। रस्सियन आप्रबासिका ३८ बर्षीय छोरा बिल लेविट्ट ले सरकारी कन्ट्र्याक्टरको रुपमा घर बनाउन थाले।देशै भरी उनका सबकन्ट्र्याक्टरले घर बनाउँथे। दैनिक लग भग ३६ वटा घर तयार गर्दथे। एकै बर्षमा सयौं बस्तीहरु तयार गरिदिन्थे।रातोरात घरै घर र बस्तीहरु बस्न थाले। नयाँ नयाँ परिवारको चहलपहलले बस्तिहरु गुल्जार भए।

पारिवारिक मिलनले गर्दा अमेरीकी जनसंख्यामा पनि उल्लेख्य बृद्धि भएको थियो।सन १९४६ देखी १९६४ सम्मा सात करोड पचास लाख (७५०,००,०००) बच्चाहरु जन्मेका थिए।जनसन्ख्या बृद्धिले घरायसी बस्तुको अत्यधिक माग बढेको थियो।सन १९५० मा त अमेरिकामा प्रतीहप्ता अठहत्तर (७८,०००) वटा टेलिबिजन सेट बिक्री हुन थाल्यो।बर्षमा चालिस लाख (४०,००,०००) वटा सम्म बिक्री भएको थियो। सन १९६० तिरै लगभग ८३% अमेरिकि घरहरुमा टेलीविजन सेट थियो।धेरै वटा घरमा दुई दुई वटा कारहरु राखिएका हुन्थे। विश्वका कुल उत्पादनको लगभग दुई तिहाइ औध्योगिक उत्पादन अमेरिका भित्र हुन्थ्यो। र उत्पादनको एक तिहाइ देश भित्रै खपत हुन्थ्यो। बाँकी उपादन निर्यात गर्दथ्यो।

दोस्रो विश्वयुद्ध पछि अमेरिका जनसंख्या,भुगोल र अर्थतन्त्र तिनै कुरामा सम्पन्न हुंदै गयो र हालको महाशक्तिको रुपमा स्थापित भयो।यसरी हरेक युद्धको शोकलाई अमेरिकाले शक्ति र समबृद्धिमा बदलेको थियो।

-पूर्ण श्रेष्ठ,म्याडिसन विस्कनसन

प्रतिक्रिया