सरकार बन्ने स्थिति हुंदा र्हुदै मध्यरातमा चुनाब घोषणा गर्नु लोकतान्त्रिक गणतन्त्र माथिकै प्रहार

इनेप्लिज २०७८ जेठ ८ गते ८:०१ मा प्रकाशित

काठमाडौ । नेपाली पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघले राष्ट्रपति बिधादेबी भण्डारीले संविधान बमोजिम बैकल्पिक सरकार बन्न सक्ने अवस्था विद्यमान रहँदा रहँदै मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर निर्वाचन घोषणाको कदमले संविधान र संसदको हुर्मत लिने, लोकतन्त्रलाई गम्भीर संकटमा पार्ने काम गरेको ठहर गरेको छ ।

महासंघका महासचिब रोशन पुरीद्धारा जारी बिज्ञप्तिमा भनिएको छ ,जनतालाई संविधान प्रतिकूलको चुनाव नभएर अहिले महामारीबाट बच्न उपचार चाहिएको छ । अस्पतालमा बेड र अक्सिजन चाहिएको छ । यस्तो गम्भीर अवस्थामा जनताको उपचारमा ध्यान नदिएर सरकारले मध्यरातमा चुनावको सिफारिस गर्ने र सरकार बन्ने आधार हुँदाहुँदै राष्ट्रपतिबाट चालिएको जालझेलपूर्ण कदम नेपालको परिवर्तनकारी आन्दोलनले प्राप्त गरेको संघीय लोकतान्त्रिक गणतन्त्रसहितका व्यवस्थाविरुद्धको प्रहार हो ।
राष्टपति भण्डारीले पछिल्लो दुई दिनमा चालेका कदम संविधान र संसदीय लोकतान्त्रिक मान्यताका विरुद्धमा छन् । संविधानको धारा ७६ (३) अनुसार नियुक्त भएका प्रधानमन्त्रीले संविधानको अनिवार्य शर्तअनुसार प्रतिनिधिसभाबाट ३० दिनभित्र विश्वासको मत लिनुपर्नेमा २०७८ जेठ ६ गते साँझ राष्ट्रपतिबाट धारा ७६ (५) अनुसार नयाँ प्रधानमन्त्री नियुक्तिको प्रक्रिया थालिनुलाई नेपाल पत्रकार महासंघले यस अघि नै असंवैधानिक कदम भनेर विरोध गरिसकेको छ।

पत्रकार महासंघले संविधानमाथि निर्मम प्रहार हुँदा त्यो प्रहार रोक्नका लागि संविधानको संरक्षक मानिने सम्मानीय राष्ट्रपति संस्थासंग आग्रह गर्नु आफ्नो दायित्व ठान्दछ । र, प्रेस तथा अभिव्यक्ति र नागरिक स्वतन्त्रताका पक्षधरहरु असंवैधानिक कदमका विपक्षमा दृढताकासाथ एक ठाउँमा उभिन र लोकतान्त्रिक मूल्य मान्यताको रक्षाका लागि सहकार्य गर्न सबैमा अपिल गरेको छ ।

प्रतिक्रिया