मेरो उम्मेदवारी ‘पुल’ का लागि हो :सुवेदी

इनेप्लिज समाचारदाता २०७८ जेठ ४ गते ९:०८ मा प्रकाशित

भर्जिनिया।भर्जिनियालाई कर्मक्षेत्र बनाएर करिब १२ वर्षदेखि यहाँ बस्दै आउनुभएका सामाजिक अभियन्ता गोविन्द सुवेदी विगत एक वर्षदेखि नर्थ क्यारोलिनामा व्यवसाय गरेर बस्नुभएको छ।एनआरएन भर्जिनियाको उपाध्यक्ष र अध्यक्ष पदमा रहेर दुइ कार्यकाल पूरा गरिसक्नुभएका सुवेदी नेपालीहरुबीच भर्जिनिया क्षेत्रमा चिरपरिचित हुनुहुन्छ।नेपालमा रहँदा समेत सामाजिक कार्यमा सक्रिय सुवेदी एनआरएन अमेरिकाका वर्तमान सल्लाहकार हुनुहुन्छ।उहाँले एनआरएन अमेरिकाको नजिकिँदै गरेको निर्वाचनमा आइसीसी (अन्तर्राष्ट्रिय समन्वय परिषद) मा उम्मेदवारी दिनुभएको छ।यसै परिप्रेक्ष्यमा उहाँसँग इनेप्लिजले आगामी निर्वाचनका बारेमा गरेको कुराकानीको सार संक्षेपः

तपाई यो निर्वाचनमा किन आइसीसी उम्मेदवार हुनुभएको हो ?

म निर्वाचनमा आफै उठेको होइन।भर्जिनिया क्षेत्रका साथीभाइहरुको सल्लाहबाटै म निर्वाचनमा उम्मेदवार भएको हुँ।भर्जिनिया क्षेत्रमा रहँदा मैले गरेको योगदानको कदर गरेरै शायद साथीहरुले एनआरएनकै अभियानमा सक्रिय रहनुपर्छ भन्ने मान्यताले मलाई घच्घच्याउनुभएको हुनुपर्छ।त्यसैले उहाँहरुको सदाशयतालाई ध्यानमा राखेर यो पदमा उम्मेदवारी दिएको हुँ।

तपाईलाई कस्तो लाग्छ ? यो निर्वाचनमा विजयी हुन्छु भन्ने लागेको छ ?

मतदाता नै निर्वाचनका निर्णायक स्रोत हुन्।म मतदातामाथि विश्वास गर्छुृ र मतदानको प्रक्रियालाई पनि त्यत्तिकै सम्मान गर्छु । निर्वाचनमा जित हार हुन्छ। जितमा मात्तिने र हारमा आत्तिने मान्छे होइन म।तथापि उम्मेदवार भएपछि जित भए हुन्थ्यो भन्ने सबैको चाहना हुन्छ र मेरो पनि चाहना त्यही हो।

के आधारमा तपाई विजयी हुने अपेक्षा गर्नुभएको छ ?

मैले भर्जिनियाको सामाजिक क्षेत्रमा मात्र नभएर यस क्षेत्रका थुप्र्रै समुदायमा योगदान गरेको छु।त्यो नै मेरो आधार हो ।त्यसबाहेक म गैर आवासीय नेपालीहरुको काठमाडौँमा सम्पन्न तीनवटा अन्तर्राष्ट्रिय महाधिवेशनमा प्रतिनिधिका रुपमा निरन्तर सहभागी भएको, थुप्र्रै राज्यमा भएका एनआरएनका कार्यक्रमहरुमा सहभागिता जनाएको र ती क्षेत्रका साथीहरुसँग पनि निरन्तर सम्पर्क र सम्बन्ध भएको तथा एनआरएनका बारेमा धेरथोर जानकारी भएको कारण पनि यो निर्वाचनमा आइसीसी सदस्यमा उम्मेदवार भएको हुँ । यसले एनआरएनको अभियानलाई पनि अझ उचाइँमा लग्न मदत गर्छ भन्ने लागेको छ।उल्लेखित बुँदा नै मेरो विजयका आधार हुन्।मतदाताले आफ्नो अमूल्य मत मलाई दिनुहुनेछ भन्ने कुरामा पूर्ण विश्वस्त छु।

सामाजिक सेवामा चाहिँ कसरी आउनुभयो ?

समाजसेवामा आउने चाहना सबैको हुन्छ।कसैले धनले सेवा गर्छन् कसैले मनले।म पारिवारिक पृष्ठभूमिका कारण यस सेत्रमा लागेको हुँ।मेरो बुवा करिब चार दशक जनप्रतिनिधिका रुपमा गाउँमा रहेर सेवा गर्नुभयो र म पनि उहाँकै प्रेरणाबाट यो क्षेत्रमा लागेको हुँ।नेपालमा रहँदा होस् वा भर्जिनिया क्षेत्रमा जहाँ रहँदा पनि मैले नेपालीहरुको हितका लागि समाज र सामाजिक कर्तव्य पूरा गरेको छु।समाजसेवा गर्न भौगोलिक क्षेत्र र सीमाले छेक्दैन।अमेरिकामा पनि म यही काममा रमाउने गरेको छु।कतिपय मान्छे आफ्नो निहित स्वार्थका लागि लाग्ने गर्दछन् तर म भने त्यस्ता प्रवृत्ति र पात्रको सधैँ बिरोधी हुँ।

आइसीसी सदस्य भनेको कस्तो पद हो ? यहाँ रहेर कस्तो काम गर्नुहुन्छ ?

मूलतः यो समन्वयकारी भूमिका खेल्ने पद हो । विजयी भएँ भने म समन्वयकारी भूमिका निर्वाह गर्छु।अन्तर्राष्ट्रिय समन्वय परिषदलाई अमेरिकाको समस्याका बारेमा अवगत गराउने र अमेरिकाले प्रस्तुत गरेका एजेन्डाहरुलाई आइसीसी समक्ष पुर्याएर छलफलमा राख्नु पनि यो पदको भूमिका रहन्छ । मुख्यतः यो पदको भूमिका भनेको पुलको काम नै हो।

अहिले एनआरएन अमेरिकाको निर्वाचनमा चार जनाले अध्यक्षमा उम्मेदवारी दिनुभएको छ।तपाईलाई कुन उम्मेदवारले विजय हात पार्ला र किन भन्ने लागेको छ ?

यो त मतदाताको अधिकारको कुरा हो।मतदाताले जसलाई योग्य देख्दछन् र मतदान गर्दछन् त्यही उम्मेदवार नै विजयी हुन्छ।मेरो विचारमा हाम्रो भन्दा राम्रो मान्छेलाई जिताउनुपर्छ।नेपालीका लागि नेपाली भन्ने एनआरएनको मूलमन्त्रलाई जुन उम्मेदवारले मूर्त रुप दिनसक्छ,नेपाल सरकारसँग लगातार सम्बन्ध र सम्पर्क राख्न सक्छ,अमेरिकामा रहेका नेपालीको हितमा जस्ले काम गर्न सक्छ, त्यही उम्मेदवारलाई नै जिताउनुपर्छ।मैले करिब एक दशक अघि वुद्धि सुवेदीलाई चिन्ने मौका पाएको हुँ र यो मामिलामा सुवेदी अग्रपंक्तिमा हुनुहुन्छ भन्ने लागेको छ र मैले उहाँलाई नै साथ दिएको छु दिनेछु।

 

प्रतिक्रिया