कोभिड १९ को महामारीले यतिखेर सबै भन्दा बढी प्रभावित नेपाल भएको छ । सक्रमितहरुले अस्पतालमा बेड र अक्सिजन नपाएर मर्नुपरेको अबस्था छ । कोरोना महामारीबाट अति प्रभावित भएर अस्पताल पुगेका बिरामीहरु बेड नपाएर अस्पतालका पेटी गल्लीहरुमा बस्न बाध्य छन । त्यसमध्ये कैयौले गल्ली र ह्वीलचेयरमै बसेर उपचार गर्न खोज्दा पनि अक्सिजन नपाएर ज्यान गुमाएका छन । नेपालको यो भयाबह अबस्थामा अस्पतालहरुले कसरी ब्यबस्थापन गरेका छन, राज्य र स्वयं अस्पतालहरुको भुमिका के हुन सक्छ भन्ने जस्ता समसामयिक बिषयमा केन्द्रित भएर काठमाडौको बसुन्धरा स्थित ग्रिनसिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनसंंग इनेप्लिज डटकमका सल्लाहकार सम्पादक टंक पन्तले गर्नुभएको कुराकानीको सार संक्षेप ।
कोरोना महामारीलाई अस्पतालका तर्फबाट कसरी ब्यबस्थापन गरिरहनु भएको छ ?
अहिलेको अबस्था भयाबह बन्दै गएको छ र मुलुकका ३० देखि ४० बर्षका युवाहरु समेतको मृत्यु भैरहेको छ । गत साल कोरोना लागेको नागरिकको नजिक पनि मान्छे जादैनथे । लाश उठदैनथ्यो । एउटा घरमा एकजनालाई देखिएको छ भनेपछि त्यो क्षेत्रमै नागरिकहरु जादैनथे । त्यो घरतर्फ पनि मानिसहरुले हेर्दैनथे । त्यो क्षेत्र नै सिल गरिएको छ भनेर राज्यको निकायले भन्ने अबस्था थियो तर अहिले पहिलेको भन्दा निकै डरलाग्दो र खतरनाक महामारीको रुपमा देखा परेको भएपनि नजिक नपर्ने , लाश नउठने , क्षेत्र नै सिल गर्ने अबस्था छैन किनकि त्यो संभब पनि थिएन । अहिले त घरघरमा सक्रमित छन अस्पतालहरु सक्रमितले भरिएका छन । सक्रमितहरुलाई अघिल्लो दिन सम्म सामान्य ज्वरो खोकी मात्र आएको हुन्छ त्यसको केही दिनमै मानिस नरहने अबस्था देखिएको छ । यस्तो अबस्था नागरिकले सामना गर्नुपरेको छ तर पनि राज्य गभीर नभएको कारण भयाबहलाई ब्यबस्थापन निकै गाह्रो भएको छ । तथापि आफुहरुले आफनो ठाउंबाट बिरामीलाई सेवा दिन रातदिन नभनेर लागिरहेका छौ । अस्पतालको ब्यबस्थापन ,सिंगो अस्पताल परिबार सुरक्षा मापदण्डका साथ हरेक जोखिमलाई प्रबाह नगरी क्रियाशील रहेको छ । अस्पतालहरुले गरेको यो सेवालाई राज्यले सोही बमोजिम सहयोग गर्नुपर्नेमा त्यस्तो भैरहेको छैन । यस्तो महामारीको समयमा पनि राज्य जिम्मेबार बन्न नसक्नु दुखद पक्ष हो ।
एकातिर अक्सिजनको अभाब अर्को तिर बेडको अभाबले गर्दा कोरोनाबाट अति प्रभावित नागरिकहरुमा मात्र होइन आम नागरिकहरुमै उपचार नपाएर मरिने हो कि भन्ने त्रास फैलिएको छ त्यसलाई कसरी लिने ?
यो अति महत्वपुर्ण र सबैको मनमा रहेको प्रश्न हो । बास्तबमा अस्पतालहरुले निकै मेहनत गरेर जनशक्ति नहुंदा नहुंदै पनि थप बेडको ब्यबस्थापन गर्न तयार थिए । हाम्रै अस्पतालले पनि धेरै बिरामीको उपचार गर्न सकियोस र यो संकटका बेला अरु समयमा भन्दा दोब्बर तेब्बर भुमिका निर्बाह गर्न सकियोस भनेर अस्पतालको नजिकै रहेको पार्टी प्यालेशलाई उपयोग गरी थप बेड तयार गर्यो तर बिडम्वना अक्सिजनको अभाबले गर्दा निकै मेहनत गरेर तयार गरिएका बेडहरु उपयोग हुन सकेनन । पहिले नै भर्ना भएका र पहिलेकै बेड खाली हुना साथ भर्ना भएका बिरामीलाई पनि अक्सिजन नपुग्ने अबस्था पटक पटक आएको छ । बितेको १० दिनमा हामी कैयौ दिन सुतेका छैनौ । हामी आफै गएर लाइनमा बस्दा पनि अक्सिजन पाइएको छैन । दिनभरिलाई पुग्यो भने रात कसरी कटाउने भन्ने चिन्ता हुन्छ । राति १० , ११ बजे घर गएर पनि राति अबेर सम्म सम्पुर्ण ध्यान अस्तालमै हुन्छ । आफनो अस्पतालमा भर्ना भएका कोही पनि बिरामी अक्सिजनको अभाबले मर्न नपरुस भनेर लागिरहेका छौ तर अब त अस्पताललाई चाहिने जति अक्सिजन नदिएर राज्यले कोटा निर्धारण गरेपछि भोलिका दिनहरु थप भयाबह बन्ने भएको छ । हामी नसुतेर , हामी स्वयं लाइनमा बसेर मात्र नहुने भएको छ । त्यसैले राज्यले समयमा नै अति गभीर भएर सोच्नुपर्छ राज्य भनेको अभिभाबक हो । अभिभाबकले अभिभाबकीय भुमिका निर्बाह गर्नुपर्छ ।
अक्सिजन नै नपाउने अबस्था आउनुको कारण के हो ?
दोस्रो भेरियण्ट सहितको महामारी निकै जोखिम हुन्छ भन्ने कुरा राज्यलाई जानकारी नभएको होइन तर राज्यले त्यो अनुसार कुनै तयारी र गृहकार्य गरेन । स्वास्थ्य क्षेत्रका बिज्ञहरुले पहिलो चरणको महामारी देखि नै सरकारको गभीर ध्यानाकर्षण गराएका थिए । तर राज्यको जिम्मेबार नेतृत्व महामारीको संकट तर्फ भन्दा पनि सत्ताको खेलमा लागेको कुरा जगजाहेर नै छ । अहिले आएर बल्ल अनेक निर्देशन जारी गर्ने काम गरेको छ । जुन ब्यबहारिक नै छैन । अस्पतालहरुलाई १४ हजार चाहिनेमा त्यसको आधा मात्र अक्सिजन उत्पादन हुन्छ । त्यसैले त्यसको बैकल्पिक ब्यबस्था तत्काल गर्नुपर्छ भन्ने कुरा जानकारी भएर पनि राज्य बैकल्पिक ब्यबस्था गर्ने तर्फ लागेन । अहिले आएर सरकारले दिन तोकेर अस्पतालहरुलाई अक्सिजन प्लाण्ट तयार गर्न निर्देशन दिएको छ । जुन कुरा असंभब छ । कागजले भनेर हुन्छ ? त्यसका लागि मेट्रियल बाहिरबाट ल्याउनुपर्छ । हामीले अघिल्लो महिना गरेको प्रक्रिया त अबरुद्ध भएको छ भने अहिले यति दिन भित्र तिमीहरु गर भनेर कागजी निर्देशन गर्ने ? अस्पतालहरुले अक्सिजन प्लाण्ट तयार गर्दा सम्म कोरोना महमारीले धेरै मानबीय क्षति भैसकेको हुने छ । यसर्थ बिरामीले अक्सिजनको अभाबमा भोग्नुपरेको क्षति र पीडाको सम्पुर्ण जिम्मेबार सरकार हो । सरकारले १५ दिन भित्र अस्पताललाई अक्सिजन प्लाण्ट निर्माण गर भन्नु भनेको माथिबाट खोला बगाउने अनि तल सफा गर भन्नुजस्तै हो त्यो संभब छैन । सरकारले गत साल नै यो निर्णय गरेर निर्देशन दिएको भए हुने थियो नि ।अहिले पनि जसरी समस्याको समाधान हुन्छ त्यसतर्फ लाग्नुपर्नेमा चाहिने नचाहिने निर्देशन जारी गरेर सरकार समस्याबाट उम्किन खोज्दैछ ।
सेवा गर्छु भनेर अस्पताल खोलेपछि यस्तो संकटका बेला अस्पतालहरुको पनि त भुमिका हुंदो हो नि राज्यलाई मात्र दोष दिएर उम्किन पाइन्छ र ?
एकदमै सहि हो उम्किन पाइदैन । उम्किन खोजेको पनि होइन । हामीले एक एक मिनेटको महत्व बुझेका छौ । अक्सिजनको उधोग बनाउन सकिन्थ्यो । हर समय चाहिने कुरा अक्सिजन हो । अक्सिजन प्राणबायु नै हो । राज्यले सेना प्रहरीलाई पेट्रोल पम्प संचालन गर्न दिएर ब्यापार गर्न लगाएको छ । त्यस्तो ब्यापार गर्न उनीहरुलाई अक्सिजन उधोग बनाउन दिएर गरेको भएपनि हुने थियो नि । कोरोना महामारीका समयमा मात्र जुनसुकै बेला पनि बिरामीलाई अस्पताल लैजाना साथ अलिक अफ्ट्यारो हुना साथ अक्सिजन चाहिने गर्छ । त्यो कुरा राज्यका जिम्मेबार निकायलाई थाहा नभएको होइन । स्वास्थ्य क्षेत्रमा निजी अस्पतालहरुले ७० प्रतिशत भुमिका निर्बाह गरेका छन । अहिले पनि संकटका बेला संचालकहरु आफै रातभर लाइनमा बसेर अक्सिजन अस्पताल पुर्याउन लागिरहेका छन । हामीले आफना ठाउंबाट गर्नुपर्ने कुनै कसर बाकी राखेका छैनौ । किनकि एक जना बिरामी स्वस्थ भएर घर फर्किदा त्यो परिबारलाई भन्दा हामीलाई खुशी लाग्ने गर्छ । तर अक्सिजन नपाउंदा अस्पताल संचालन गरेको यति धेरै बर्षमा यो पटक धेरै पटक आफै रुनु परयो । अक्सिजन नपाएर बिरामीको मृत्यु हुने होकि भन्ने चिन्ताले दिनहु सताउने गरेको छ । यो अबस्थाको अन्त्यका लागि १५ दिन भित्र अस्पताल आफैले अक्सिजनको ब्यबस्था गर भनेर निर्देशन जारी गरेर सरकार उम्किन मिल्दैन । ट्यांकर मार्फत तत्काल राज्यले ब्यबस्था गर्नुपर्छ । राज्यले गर्न चाहने हो भने असंभब केही छैन । हामीले निजी क्षेत्रबाट के गर्नुपर्छ त्यसका लागि तयार छौ ।
तपाई अस्पताल संचालकको हैसियतले अहिलेको अबस्थामा अस्पताललाई परेको अप्ठ्यारो के हो ?
सर्पले सर्पको खुट्टा देख्छ भने जस्तै निकै धेरै अफ्ट्यारा छन । नेपालमा करिब ३ सय ५० वटा निजी अस्पताल छन । राज्यले तिरेको करबाट संचालित अस्पताल ३० प्रतिशत छन भने ७० प्रतिशत निजी अस्पताल छन । हामी ७० प्रतिशतले नेपालको इज्जत जोगाएका छौ । नभए सबै बिरामीले उपचार नै पाउने थिएनन । जनताको करबाट खोलिएका अस्पतालहरुले निशुल्क जाच गर्ने ब्यबस्था हुनुपर्ने थियो । संसारका धेरै मुलुकमा कोभिडको उपचार राज्यले नै गरेको छ तर नेपालमा मात्रै आफै खर्च गरेर उपचार गर्नुपरेको छ त्यो पनि बेड नपाउने , अक्सिजन नपाउने स्थिति हुनु कति दुखद पक्ष छ । अक्सिजन नहुंदा अक्सिजन फेक्ट्रीमा गएर रुनु पर्ने अबस्था आएको छ । सरकारका जिम्मेवार निकायलाई निजी अस्पतालका बिरामीलाई सरकारी अस्पतालमा लगि दिनुस हाम्रो अस्पतालमा मर्न नदिउं भनेर अनुरोध गर्न पर्ने बाध्यता भयो । अहिले अस्पतालमा आउने मध्ये ९० प्रतिशत कोभिडकै छन । गत साल नजिक पनि परिन्थेन तर अहिले दिनहुं कोभिडका बिरामीसंग घुलमिल हुनुपरेको छ । कोभिड रुममा गएर उनीहरुलाई कस्तो अबस्था भनेर सोध्ने गरेका छौ । किन बेड पाउन सकिएन, अस्पतालमा आबश्यक अक्सिजन नहुनुको कारण के हो भनेर संगै बसेर चिया खाएर सम्झाउनु परेको छ ,सरकारका निर्देशन ब्यबहारिक नहुंदा र समयमा नहुंदा पर्ने समस्या आदि थुप्रै समस्या अस्पताल संचालकहरुले ब्यहोर्नु परेको छ । तर पनि हामीले हरेश खाएका छैनौ यस्तो बेलामा हरेश खाने कुरै हुदैन । जस्तो सुकै अप्ठ्यारो पनि संभब भएसम्म सामना गरेर सेवा गर्ने हाम्रो लक्ष्य छ र गरि पनि रहेका छौ ।
निजी अस्पतालहरुले कोरोनाको महामारीलाई बहाना बनाएर मनपरि पैसा असुल्ने गरेको तथ्य सहितको आरोप छ नि ?
मौकामा चौका हान्ने काम कसैले पनि गर्नु हुदैन । अहिले निजी अस्पतालहरुले कोरोना महामारीका बहानामा मनोमानी गरेका छन र बढी रकम असुल गर्ने गरेका छन भन्ने कुरा तपाईले भन्नुभयो त्यो कुरा मैले पनि मिडिया मार्फत सुन्ने गरेको छु । यदि कसैले महामारीको बहानामा बढी रकम असुल्ने गरेको छ भने कारबाही हुनुपर्छ तर कस्ले त्यस्तो गरेको हो भनेर सरकारले अनुगमन गर्नुपर्छ । सरकारको अनुगमन गर्ने निकाय छ त्यसले के गर्ने गरेको छ ? मौकाको फाइदा उठाउनेहरुप्रति म पनि भत्र्सना गर्छु । हामीलाई भात खाएर भातको डकार लाग्छ तर सम्पत्तिको डकार कसैलाई लाग्दैन । पैसा भन्दा एक कदम माथि आफनो मनलाइ राख्नुपर्छ । मौकामा ठग्ने मानबीयता होइन । राज्यले अनुगमन गर्ने र जथाभाबी गर्नेलाई कारबाही गर्नुपर्छ किनकि केहीले गर्दा सबैलाई दोष आउने स्थिति आउनु हुदैन ।
अन्तिममा केही थप्नुपर्ने ?
कोभिड भ्याक्सिन नलगाएकाहरुले भ्याक्सिन लगाउन अनुरोध गर्दछु । राज्यले त्यसका लागि तत्काल भुमिका निर्बाह गरोस भनी बिशेष आग्रह पनि गर्न चाहन्छु । अहिलेको अबस्थामा अति जरुरी भएमा बाहेक कोही पनि बाहिर ननिस्कनुस । निस्कनै परेपनि स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउनुस । पहिले जस्तो होइन अहिले कोरोना लाग्यो भने अलिक अफ्ट्यारो छ भन्ने कुरा बुझनुभएकै छ त्यसैले सोही अनुसार गर्नुहुन यहां मार्फत सबै समक्ष अनुरोध गर्दछु ।
प्रतिक्रिया