त्रुटि पूर्ण मृत्युहरू

विमला ढुङ्गाना,घट्टेकुलो काठमाडौँ । (हाल युएसए) २०७८ जेठ १ गते १०:४० मा प्रकाशित

हिउंचुलीको अग्लाई
कन्चन र निश्चल उमेर
पारिजातको बास्नादार मन
ईन्द्रेणी चाहानाहरु
डङ्गरङ्ग लडेका छन्
अस्पतालका शैयाहरूमा।

लक्ष्यको सगरमाथा
तारा टिप्ने उद्धेश्य
आकाश भरीको खुशी
चमेली मुस्कान
समुन्द्र झैं दृढता
सवै सवै
इन्तु न चिन्तु भै लम्पसार
परिरहेका छन् घर घरका
कोठा चोटा र बिछ्याउनाहरुमा।

कोपिलाहरु पुष्ठिएकै छैनन्
कलिलो घाम तापिलो र रापिलो
हुन बांकी नै छ,
जीवनले मध्यानी पर्खिरहेछ
सपनाहरु ओथारो बस्न र
कल्पनाहरु हुर्किने क्रममा छन्।

उमेरको खुट्किला संगै
रहर,बैंश र पराक्रम फक्रिंदै छ
भर्खर पलाएका पंखहरू
फट्फटिंदै मात्र छन्
निस्फिक्रीसंग बतासिने भरोशामा।

अक्सिजनको बाहानामा
सुन्दर कोपिला जीवनीहरु
टुपु टुपु चुँड्दै सिध्याउने
उमेरको गणित भुलेका मृत्युहरू
त्रुटिपूर्ण र वहिष्कार योग्य छन्
प्रभु !

यो कठिन यथार्थले अंठ्ठयाएको
अवीक्षत र कलुषित वायुले ढाकेको
अवीचि पलहरु
यो क्रन्दनले निचोरेको अवस्था
समयले बन्धक लिएको हृदयहरू
स्वतन्त्र हुन पाउनु पर्छ

तुरुन्तै पूर्णविराम लाग्नुपर्छ प्रभु !
यी त्रुटि पूर्ण मृत्युहरूमा !!

विनत,
विमला ढुङ्गाना,घट्टेकुलो काठमाडौँ ।
(हाल युएसए)

प्रतिक्रिया