पत्रकार चौधरीको शोकमा नब्बे प्रतिशत घरमा बलेन चुलो

इनेप्लिज २०७८ वैशाख ३० गते १४:५८ मा प्रकाशित

रौतहट,वीरगंजको नारायणी उपक्षेत्रीय अस्पतालमा वैशाख बुधवार साँझ रौतहटका पत्रकार मनोजकुमार चौधरीको मृत्यु भएको खबर सार्वजनिक भएपछि रौतहटमा शोकको लहर नै व्याप्त हुन पुग्यो।

पत्रकार चौधरी एक व्यक्ति भएर पनि सबैका साझा संस्थाजस्तै थिए गरुडामा। यहाँ स्थित रेडियो मधेस मसला एफएमका संस्थापक तथा स्टेशन म्यानेजर, जनकपुर टुडे दैनिकका गरुडा सम्वाददाता र बज्जिका खबर ब्लग स्पटका सम्पादक चौधरी बहुमुखी प्रतिभाका धनी थिए।बज्जिका साहित्य संगम रौतहटका कोषाध्यक्ष,बज्जिकार्पण साहित्यिक त्रैमासिकका पूर्व व्यवस्थापक रहेका पत्रकार चौधरी लायन्स क्लब गरुडाका अध्यक्षको रुपमा वर्षेनी सामाजिक तथा सांस्कृतिक कार्यक्रमहरु संचालन गरिरहेका थिए।

गरुडा स्थित मध्यरौतहट बहुमुखी क्याम्पसका लेखापाल र श्री माध्यमिक विद्यालय गरुडाका पनि लेखापाल चौधरी गरुडा गाउँमा कसैको बिहे,छेका,पूजा र भोजभतेरजस्ता कार्यमा दिनरात नभनी कार्य गर्दथे।अधिकांश विपन्न समुदायमा कुनै समस्या पर्दा निरन्तर निस्वार्थ सहयोग गर्ने प्रकृतिका चौधरीको अचानक मृत्युको खबर आगोझैं फैलिएपछि जिल्लाका सम्पूर्ण सञ्चारकर्मी,सञ्चारगृह तथा सञ्चारसँग सम्बद्ध संस्थाहरूले अपत्यारिलो र अविश्वसनीय भन्दै शोक व्यक्त गर्दै श्रद्धाञ्जलि अर्पण गर्न थाले।समाजसेवी,युवा,शिक्षक,प्राध्यापक,विद्यार्थी,विभिन्न पदमा रहेका राजनीतिकर्मीसमेतको श्रद्धाञ्जलिले सामाजिक सञ्जाल भरियो।४१ वर्षीय पत्रकार चौधरीको अन्त्येष्टिको खबर पुग्नासाथ गाउँमा कैयौँ मुर्छा परे। अन्तिम दर्शनका लागि गाउँ नै त्यहाँ पुगे जहाँ अत्येष्टि गरिन लागिएको थियो।स्थानीय पत्रकार राजेश्वर पाण्डे भन्छन् – “मनोज दाइको दुःखद देहान्तको खबरले पूरा गाउँ शोकमा डुबेको छ,कैयौँ मानिस मुर्छित बने,नब्बे प्रतिशतभन्दा बढी घरमा चुलो बलेन।”

गत वर्ष कोरोनाको कहरको समय होओस् वा केही वर्ष पहिले आएको भूकम्पको समयमा होओस्,गाउँको कुनै पनि विपद्मा चौधरी सबैका साझा सहारा थिए।गत वैशाख १० मा हल्का ज्वरो र रुघाखोकी लागेपछि घरमै उपचार गराएका पत्रकार चौधरीलाई वैशाख १५ मा असहज भएपछि नारायणी उपक्षेत्रीय अस्पताल वीरगंजमा भर्ना गरिएको थियो।करिब २४ घन्टा इमर्जेन्सी वार्डमा राखेर उपचार गरिएका पत्रकार चौधरीमा कोरोना पोसेटिभ देखिएपछि १६ गते आइसियुमा राखी उपचार गरिएको भए पनि भर्ना गरिएको १३औँ दिनमा उपचारकै क्रममा मृत्यु भएको हो।

पत्रकार चौधरीका ५ वर्षका छोरा र ८ वर्षकी छोरी छन्।दुई अबोध छोराछोरी घरिघरि बुबालाई सोधिरहेका छन्।३५ वर्षकी श्रीमती पूनम चौधरी घरि मुर्छा पर्ने र खुल्ने तथा फेरि बेहोस हुने भइरहेको छ।पत्रकार चौधरीका दाजु रामकृष्ण चौधरीमाथि त दुःखको पहाड नै टुटेको छ।आफ्नो छोराजत्तिकै पालेर राखेका पत्रकार भाइको मृत्युले घरको मियो नै भास्सिएको लागेको छ।

बहुमुखी प्रतिभाका धनी पत्रकार चौधरीको अल्पायुमा भएको निधनले एकातिर गाउँ नै शोकमा डुबेको छ भने अर्कोतिर सन्त्रास छाएको छ।

गढीमाई नगरपालिकाका मेयर श्यामप्रसाद यादवले शोक विज्ञप्ति निकालेर जिल्लाको समाजसेवामा अपूरणीय क्षति भएको जनाएका छन्।

नेपाल पत्रकार महासंघ रौतहट शाखा तथा केन्द्रले पनि शोक विज्ञप्ति प्रकाशित गरेका छन् भने प्रदेश शाखाले प्रदेश सरकारसित तत्काल राहतको माग पनि गरेको छ।

प्रतिक्रिया