बधाई दिन असमर्थ छु कमरेड !

इन्दिरा पन्त २०७८ वैशाख ३० गते २:४७ मा प्रकाशित

सास फेर्न नसकेर
अलिकती अक्सिजनको आश गर्दागर्दै
छट्पटिएर मर्न बाध्य मेरा आफन्तलाई
श्रद्धाञ्जली दिंदा दिंदै
तपाँईलाई बधाई दिन असमर्थ छु कमरेड !

महामारीले थलिएका विरामीका लागी
आईसियु र भेन्टिलेटर पाईन्छ कि भनेर
गुहार माग्दा माग्दै थकित छु,
त्यसैले तपाँईको नियुक्ति
र, पुनर्नियुक्तीको ख़ुशीमा सामेल हुन,
बधाई दिन र थपडी बजाउन असमर्थ छु कमरेड !

हिजो तपाँईले जित्दा
म आफैले जिते झैं ठान्थे
र, निक्कै खुशी हुन्थें
आजकाल त खोई किन हो कुन्नी
तपाईंले जितेको सुन्दा
“कौवालाई बेल पाक्यो हर्ष न बिस्मात” झै पो लाग्न थालेको छ
त्यसैले तपाईंलाई बधाई दिन असमर्थ छु कमरेड !

प्रत्येक दिन अस्पतालमा बेड नपाएर,
अक्सिजन नपाएर
मरेका समाचार सुन्छुनि
ति प्रत्येक मृत्युमा
म मेरा निर्दोष सपनाको मृत्यु देख्छु
मेरो आस्था र बिश्वास ढलेको देख्छु
मैले टेकेको धर्ती हाल्लिएको पाउँछु
त्यसैले तपाईंलाई बधाई दिन असमर्थ छु कमरेड !

जव म, तपाँईको यो बिजयको लागी
मैले गुमाएका जीवनका स्वर्णिम पलहरु सम्झन्छु
परिवार र समाजसँग बिद्रोह गरेका ती क्षण सम्झन्छु,
अनि,
कम्युनिष्ट पार्टीमा लाग्दा
मेरा ठुलाबाले सोधेको प्रश्न सम्झन्छु
र, आज तपाईंले जित्दा पनि
मेरा ठुलोबाको त्यो प्रश्नको उत्तर दिन सक्दिननि कमरेड
म आफै लज्जित हुन्छु,
मेरो बिश्वास पराजित भएको
मैले र मेरा सपनाले हारेको पाँऊछु
त्यसैले तपाईंलाई बधाई दिन असमर्थ छु कमरेड !

खै किन हो कुन्नि
त्यति साहशी र निर्धक्क बोल्न सक्ने मान्छे म
आजकल तपाँइका बारेमा बोल्दा
रक्षात्मक बन्दै गएको,
र, पराजित भएको महशुस गर्छु
त्यसैले तपाईंलाई बधाई दिन असमर्थ छु कमरेड
श्रद्धाञ्जली दिंदा दिंदै तपाँईलाई बधाई लेख्न असमर्थ छु कमरेड !!!

(फेसवुकवाट)

प्रतिक्रिया