लघु कथा-आमाको माया

रविना महर्जन २०७८ वैशाख २८ गते ९:४५ मा प्रकाशित

बिहानै वृद्धाश्रमबाट आमा आफ्ना छोराको घर पुग्नुभएछ।
छोरा- किन आयौ ? केही काम थियो?वृद्धाश्रममा नबसेर?कोरोना महामारीको बेला लखर लखर हिँडेको होला।
आमा- आज तिम्रो सारै याद आयो छोरा।फेसबुक तिर मेरो फोटो हालेर प्यारी आमा शुभकामना भनेर राखेका रहेछौ।उता वृद्धाश्रममा सरले देखाउँदै हुनुहुन्थ्यो।
छोरा- अनि के भो त ?
आमा- खुसी लाग्यो।देखाउन भएपनि मेरो फोटो त मोबाइलमा राखेका रहेछौ नि।अँ साँच्ची आज एकाबिहानै आश्रममा तात्तात्तो जेरी बाँड्न आएका थिए । तिमीलाई सानोमा जेरी खुप मन मनपर्थ्यो नि।दुइटा जेरी तिमीले खान्छौ कि भनेर ल्याइदिएको।
छोरा- म किनेर खाइहाल्थेँ नि।किन ल्याउनुपर्या थियो र ? खोइ लेउ यता।
(आमाले गहभरि आँसु पार्दै जेरी दिन्छिन् )
आमा- अनि घरभित्र पनि बोलाउँदैनौ ?
छोरा- कताको बोलाउनु कोरोनाको बिगबिगी भएको बेला।बरु
तिमी आश्रम हिँडेरै जान्छौ कि कारमा पुर्याइदिम् आमै ?
आमा- पर्दैन।हिँडेरै जान्छु।सुखी र खुसी रहनु।मलाई जसरी आश्रम छोडेर आयौ त्यसरी नै तिम्रा सन्तानले तिमीलाई नछोडुन्।मातातिर्थ औँसीको तिमीलाई धेरै शुभकामना छोरा।

-रविना महर्जन
विद्यार्थी
जनप्रशासन क्याम्पस, बल्खु।

प्रतिक्रिया