‘आमा भएर हो कि?

रजनी मल्ल न्यु जर्शी अमेरिका। २०७८ वैशाख २५ गते १८:४८ मा प्रकाशित

हरपल चिन्तित रहन्छु आफ्ना सन्तानको लागि
आमा भएर हो कि?

तिनले हासिदिदा मेरो मन रमाउछ

तिनले रोइदिदा मेरो आशु झर्छ

तिनलाई चोट लाग्दा मेरो मुटु दुख्छ

तिनलाई खुशी मिल्दा मलाई सन्तोष मिल्छ

 

आमा भएर हो कि ?

 

तिनको मौनता भित्र मेरो प्रश्न उठ्छ

तिनको उदाशिनतामा मेरो मन रुन्छ

तिनको चंचलतामा मेरो मन रमाउछ

तिनको मुस्कानमा मेरो मन हराउछ

आमा भएर हो कि ?

तिनले खाना खाइदिदा मेरो पेट भर्छ

तिनले पानी पिदिदा मेरो तिर्खा मेट्छ

तिनको बिसन्चो मा रातको निद भाग्छ
तिनकै बारेमा सोच्दा सोच्दै आफैलाई भुल्छ

आमा भएर हो कि ?

आफ्नो ज्यान त् कता हो कता तिनकै ज्यानको ख्याल छ

यो कस्तो खालको निस्वार्थ माया बुझ्न नै मुस्किल छ
यो रहस्यमय अथाह माया तिनकै लागि लुकेको छ
किन हो कुन्नि यो माया किन असिमित र अनन्त छ

आमा भएर हो कि ?

तिनको हरेक पाइलामा सधै सफलता मिलोस् झैँ लाग्छ

तिनले हिड्ने गोरेटोमा कहिल्यै काडा नबिझोस झैँ लाग्छ
तिनको जिबनमा सधै स्वस्थताले बास बसोस् झैँ लाग्छ
तिनको जीवनको उकाली ओरालीमा कहिल्यै ठेस नलागोस झैँ लाग्छ

आमा भएर हो कि ?

तिनको जीवनको गोरेटोमा सधै सहि मार्ग छानोस् झैँ लाग्छ

मानब भइ मानवतालाई कहिल्यै नबिर्सोस झैँ लाग्छ

सत्य अनि न्यायको पक्षमा सधै साथ दीरहोस् झैँ लाग्छ
हरबखत सबैबाट आशिर्वाद अनि शुभकामना मिलिरहोस् झैँ लाग्छ ।

आमा भएर हो कि?

-रजनी मल्ल न्यु जर्शी अमेरिका।

 

प्रतिक्रिया