भानु पोखरीका भ्यागुताहरु (लघुकथा )

—मित्र ‘उराठी’ गौतम २०७८ वैशाख २१ गते ६:५२ मा प्रकाशित

हिमवत खण्डको लुम्बिनी क्षेत्रमा एउटा पोखरी थियो ।त्यस पोखरीमा भानु प्रजातिका भ्यागुताहरु रहन्थे त्यसैले पोखरीको नाम भानु पोखरी रहेको थियो ।केही वर्ष पहिले बाटो विराएर अलपत्र परेका केही भ्यागुताहरुलाई भानु पोखरीको मुखियाले शरण दिइ आफ्नै पोखरीमा राखेको थियो ।रहँदा बस्दा ति भ्यागुताको रुप रङ पनि भानु प्रजातिय भ्यागुता जस्तै बन्दै थियो।

एक दिन अनयासै भानु पोखरीमा सङ्कटको कालो बादल मडारीयो।अगाडि रहेको ठूलो शिकार फुत्कने अवस्थामा पुग्यो ।मुखियाले सबैलाई एकजुट भै सङ्कटको सामना गर्न आव्हान गर्यो।

नजिकै मिश्रित प्रजातिका भ्यागुताहरु रहेको विजातिय पोखरी थियो ।भानु पोखरीमा सङ्कट देखिएको बेला विजातिय पोखरीका भ्यागुताहरु पनि त्यही सिकारको तयारीमा थिए।अब सिकारको ठूलो भाग त्यतै मिल्छ भनि भानु पोखरीका आगन्तुक भ्यागुताहरु विजातिय पोखरीमा हाम फाले।

भानु पोखरीको मुखिया चलाख थियो सिकार उम्कन दिएन आफ्नै नियन्त्रणमा पारीछाड्यो ।सिकार भानु पोखरीमा परेको देखेर ति आगन्तुक भ्यागुता जिल्ल परे ।जिल्लिएका आगन्तुक भ्यागुताहरु भानु पोखरीमा आएर भन्दै छन् – “हामी त विजातिय पोखरीमा गएकै थिएनौ, खाली उनीहरुले हामी माथि विजातिय पोखरीको रङ पोतिदिएका मात्र हुन् हामीलाई शरण देऊ मुखिया।”

—अस्तु—

—मित्र ‘उराठी’ गौतम
अमरपुर, गुल्मी
[email protected]

 

प्रतिक्रिया