बङ्गलादेशकी इभान्जेलिना बल प्रथम अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता सम्पन्न

समाचारदाता २०७८ वैशाख १८ गते १९:१९ मा प्रकाशित

बोस्टन ,अमेरिका।गैरआवासीय नेपाली सङ्घको भाषा ,साहित्य ,संस्कृति तथा सम्पदा समिति र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज ( अनेसास ) को आयोजनामा गैरआवासीय नेपाली युवाहरू बिच सम्पन्न अन्तर्राष्ट्रिय बाल तथा किशोर कविता प्रतियोगिता आज सम्पन्न भएको छ।जसमा बङ्गालदेशकी इभान्जेलिना बलले प्रथमहुँदै एकहजार अमेरिकी डलरको पुरस्कार हात पारेकी छिन्।त्यसैगरी अभिनव गिरी ,जापानले द्दितीयहुँदै पाँच सय अमेरिकी डलरको पुरस्कार जितेका छन् भने पोर्चुगलकी मानस्वी खरालले तीन सय डलरको तृतीय पुरस्कार जितेकी छिन्।त्यसैगरी अङ्ग्रेजी भाषाका कवितातर्फ उत्कृष्ट भइ अमेरिकाकी ओजस्वी पसछेले दुई सय डलरको पुरस्कार जितेकी छिन्।

कार्यक्रममा प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले विजेता कविहरूलाई बधाईदिँदै दोश्रो पुस्ताका गैरआवासीय नेपालीहरूको पुस्ताले नेपाली भाषा, साहित्य र संस्कृतिलाई प्रवासमा प्रवर्धन गर्न विशिष्ट भूमिका खेल्नु पर्ने र यसमा एनआरएनए र अनेसास लगाएतका संस्थाले अग्रणी भूमिका खेल्नु पर्नेमा जोड दिनु भयो।उहाँले यसका लागि नेपाल प्रज्ञा प्रतिष्ठानले सक्दो सहयोग गर्नेछ भन्नु भयो।

कार्यक्रममा विशिष्ट अतिथी पूर्व कुलपति एवम् मूल्यांकन समितिका प्रमुख बैरागी काँइला ,नेपाल सङ्गीत तथा नाट्य प्रतिष्ठानका पूर्व कुलपति सरुभक्त , एनआरएनएका अध्यक्ष कुमार पन्त,अनेसास ट्र्ष्टी सभापति गीता खत्री,पूर्व अध्यक्ष जीवा लामिछाने र भवन भट्ट,अनेसासका संस्थापक अध्यक्ष होमनाथ सुवेदी , वरिष्ठ साहित्यकारहरू अशेष मल्ल,दिनेश अधिकारी ,प्रकाश सायमी र डा.बिन्दु शर्माले आआफ्ना रचना वाचन र शुभकामना मन्तव्य दिनु भएको थियो।
त्यसैगरी अतिथी कविहरू रबिन शर्मा ( जापान ), हिमान्शु निभा कुँवर ( अमेरिका ) ,तीर्थ सङ्गम राई ( कतार ),गणेश खडका ( अफ्रिका ) ,इसिका अधिकारी ( युरोप ), केशव सिग्देल ( नेपाल ) ,गोवर्ध्दन पूजा ( अमेरिका ) र प्रविणा बराल ( जापान ) ले पनि आ आफ्ना कविता वाचन गरेका थिए।

आयोजकका तर्फबाट एनआरएनएका पूर्व कोषाध्यक्ष एवम् भाषा , साहित्य , संस्कृति तथा सम्पदा समितिका अध्यक्ष हिक्मत थापाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा समितिका सहअध्यक्ष महेश्वर पन्तले प्रतियोगिताको बारेमा जानकारी गराउनु भएको थियो।कार्यक्रममा एनआरएनएका महासचिव डा. हेमराज शर्मा , एनआरएनए अमेरिकाका अध्यक्ष सुनील शाहले शुभकामना मन्तब्य दिनु भएको थियो भने कार्यक्रम संयोजक अनेसासका महासचिव तथा एनआरएनए अमेरिकाका उपाध्यक्ष सर्वज्ञ वाग्लेले धन्यवाद ज्ञापन गर्नु भएको थियो।

मूल्यांकन समितिको तर्फबाट नेपाल प्रज्ञा प्रतिष्ठानका काव्य विभाग प्रमुख प्रा.डा. हेमनाथ पौडेलले नेपाली भाषाका प्रतियोगी र महेश पौडेलले अङ्ग्रेजी भाषाका प्रतियोगी मध्यबाट पुरस्कृत नामको घोषणा गर्नु भएको थियो।

साठीजना प्रतियोगी मध्यबाट अन्तिम चरणमा पुगेका कविहरू अभिनव गिरी ,अंशु सुवाल ,आगत खरेल ,इभान्जेलिना बल ,गुन्जना न्यौपाने,गङ्गा फुयाल , मानस्वी खराल ,समृद्धि नेपाल,सरला बाराकोटी, र सौगात पराजुलीले नेपालीमा र ओजस्वी पसछे, मारिया अधिकारी र प्रेमा पौड्यालले अङ्ग्रेजीमा कविता सुनाएका थिए।

एनआरएनएका एसिया प्रशान्त क्षेत्रीय उपसंयोजक पारसमणि पोखरेलले संचालन गरेको कार्यक्रमको अध्यक्षता अनेसासका अध्यक्ष प्रकाश पौडेल माइलाले गरेका थिए।

प्रतिक्रिया