काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवाले सरकार बनाउन आफुसँग बहुमत नभएको बताएका छन् । शुक्रबार आफ्नै निवास बुढानिलकण्ठमा पत्रकार सम्मेलनको आयोजना गर्दै सभापति देउवाले वैकल्पीक सरकार निर्माण गर्नका लागि आफू सँग बहुमत नभएको बताएका हुन् ।
पत्रकारहरूसँग कुरा गर्दै उनले भने, ‘सरकार बनाउन त बहुमत चाहियो नि । जसपाले निर्णय गरेको छैन । हामीसँग बहुमत छैन के गर्ने ?’ भन्दै प्रश्न समेत गरेका थिए । सभापति देउवाले कोभिड–१९ महामारी रोकथामका लागि निषेधाज्ञालाई पूर्ण रूपमा सदुपयोग गर्न सरकारसँग ११ बुँदे माग समेत गरेको छ ।
कांग्रेसले पर्याप्त अक्सिजन र भेन्टिलेटर आपूर्ति गर्न, उपचारका लागि आईसीयू शय्या, औषधि र स्वास्थ्य सामग्रीको व्यवस्था गर्न, कन्ट्याक्ट ट्रेसिङलाई प्रभावकारी बनाइ परीक्षण गर्न, सीमा नाकामा गरिएको परीक्षणको नतिजा नआउन्जेल होल्डिङ सेन्टरमा राख्न, स्वास्थ्य जनशक्तिको बीमा र भत्ता तत्काल उपलब्ध गराउनुपर्ने लगायतका माग राखेको छ ।
यस्तै, रिक्त रहेको प्राविधिक स्वास्थ्य सचिवको व्यवस्था गर्न, खोप र स्वास्थ्य सामग्रीको आपूर्तिका लागि कुटनीतिक पहल गर्न, निषेधाज्ञामा किसानका कृषिउपज सामग्रीको आपूर्तिलाई सहज बनाउन, पीसीआर परीक्षण गर्ने अस्पतालको संख्या बढाउन, निषेधाज्ञामा मारमा परेकोहरूलाई राहत र सहयोगको कार्ययोजना ल्याउन र स्वास्थ्य सुरक्षाका मापदण्ड कडाइका साथ लागू गर्न अनुमगमन संयन्त्र मजवुत बनाउन माग गरेको छ ।
प्रतिक्रिया