राम:केही मिथक केही यथार्थ

सञ्जय मित्र, रौतहट २०७८ वैशाख ८ गते २२:५४ मा प्रकाशित

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।

हिन्दू धर्मशास्त्रअनुसार भगवान विष्णु प्राणीका कल्याणकारक हुन्।प्राणी मात्रको कल्याण तथा सृष्टिको रक्षाको उद्देश्यले नै विष्णुका अवतारहरु हुने गरेका छन्। जब जब पृथ्वीमा धर्म माथी आक्षेप आउँछ तब तब धर्मको रक्षाको लागि विष्णुको अवतार हुने शास्त्रहरुमा मानिएको छ।भगवान श्रीकृष्णले गीतामा यही कुरालाई अझ स्पष्टताका साथ व्यक्त गरेका छन्।

हिन्दू धर्मशास्त्रअनुसार विष्णुका दश अवतार छन्।यी मूल दश अवतारलाई दशावतार पनि भन्ने गरिएको पाइन्छ।विष्णुका दशावतार क्रमशःयी हुन् :मत्स्य अवतार,कूर्म अवतार,वराह अवतार,नृसिंह अवतार,वामन अवतार,परशुराम अवतार,राम अवतार,कृष्ण अवतार,बुद्ध अवतार र कल्कि अवतार।यी दशावतार मध्ये नौ अवतार अवतरण भइसकेको र कल्कि अवतार हुन बाँकी रहेको बताइन्छ।हिन्दू धर्मशास्त्रहरुले विष्णुका दशावतारलाई मूल अवतार मानेका छन् भने अंशावतारसमेत गरी विष्णुका चौबिस अवतारको बारेमा पनि चर्चा गर्ने गरिन्छ।

हिन्दू समाजमा रामलाई त्रेता युगको मान्ने गरिएको छ।यसबाट यो सम्झना हुन्छ कि चार युग सत्य,त्रेता,द्वापर र कलि मध्ये रामावतार त्रेतामा भएको थियो। रामावतार भएको समयलाई करिब सात हजार वर्षदेखि आठ हजार वर्षको बिचको अवधि हुुनुपर्छ भनिएको छ।यसबाट यो अनुमान लगाउन सजिलो हुन्छ कि करिब साढे सात हजार वर्ष पहिले रामावतार भएको थियो।यद्यपि रामको जन्म नभएको र यो कुनै ऐतिहासिक पात्र नै नभएको भनेर आलोचना गर्नेहरु पनि छन्।रामलाई मान्नेहरुले रामको जन्म र पुराणहरुलाई शतप्रतिशत सही मान्दछन् भने नमान्नेहरुले रामायण महाकाव्यको कल्पना भन्दछन्।वाल्मीकीय रामायणमा रामायण इतिहास हो कि धर्मशास्त्र भन्ने विषयमा पनि चर्चा गरिएको छ।रामायणको समय र भूगोलको विषयमा विभिन्न अध्ययनहरु भएका छन्।यी सबै आफ्नै ठाउँमा छन् तर रामायण र रामकथा प्रति अटूट लोकविश्वास सर्वत्र व्याप्त छ।रामप्रति अनास्था राख्ने सायदै कुनै हिन्दू होला।हरेक हिन्दूको राम प्रति आध्यामिक,धार्मिक,दार्शनिक वा राजनैतिक तथा सामाजिक कुनै पनि दृष्टिकोणले आस्था रहेकै हुनुपर्छ।

आज चैत शुक्ल नवमी तिथि हो।यसै तिथिमा रामको जन्म अयोध्यामा भएको थियो भनिन्छ।रामको जन्म यस तिथिमा भएको हुनाले नै यस तिथिलाई रामनवमी भन्ने गरिएको पाइन्छ।यस विषयमा वाल्मीकीय रामायणमा यसरी उल्लेख गरिएको छ :

ततो यज्ञे समाप्ते तु ऋतूनां षट् समत्ययुः ।
ततश्च द्वादशे मासे चैत्रे नावमिके तिथौ ।।
नक्षत्रेऽदितिदैवत्ये स्वोच्चसंस्थेषु पञ्चसु ।
ग्रहेषु कर्कटे लग्ने वाक्पताविन्दुना सह ।।
प्रोद्यमाने जगन्नार्थ सर्वलोकनमस्कृतम् ।
कौसल्याजनयद् रामं दिव्यलक्षणसंयुतम् ।।

अयोध्याका राजा दशरथले पुत्रेष्टि यज्ञ गरेका थिए।त्यस यज्ञको समाप्ति पश्चात् जब छ ऋतुहरु बिते तब बाह्रौं महिनामा चैतको शुक्ल पक्षको नवमी तिथिको पुर्वसु नक्षत्र एवम् कर्क लग्नमा कौसल्या देवीले दिव्य लक्षणहरुबाट युक्त, सर्वलोकवन्दित जगदीश्वर श्रीरामको जन्म दिनुभयो।त्यसवेला सूर्य,मंगल,शनि,गुरु तथा शुक्र यी पाँच ग्रह आफ्नो उच्च स्थानमा विद्यमान थिए तथा लग्नमा चन्द्रको साथ वृहस्पति विराजमान थिए।

यसरी रामको बारेमा वाल्मीकीय रामायणमा स्पष्ट उल्लेख गरिएको छ।कतिपयले वाल्मीकिकृत रामायणलाई नै मूल रामायण मानेका छन्।यसकारण यसपछि लेखिएका अन्य रामायणहरुले रामको जन्म,जीवनी,आदर्श र दृष्टिकोणलाई आफ्नै किसिमले प्रस्तुत गरेका छन् र राम प्रति आस्था तथा श्रद्धा जगाएका छन्। रामायण र रामकथाको लोकप्रियता बढाएका छन्।

हिन्दू समाजमा सबैभन्दा बढी जपिने नाम नै राम हुनुपर्छ।यस कारण रामको विषयमा अनेक कुराहरु प्रचलनमा रहेका छन्।

लोकमत के रहेको छ भने रामको बिहे भएपछि राम कहिल्यै फर्केर जनकपुर आएनन्।सीता पनि माइती कहिल्यै आइनन् तर वाल्मीकिकृत रामायणमा भने बिहेपछि राम र सीता जनकपुर आएको र लामो समय बसोबास गरेको कुरा उल्लेख गरिएको पाइन्छ।

रामको जन्म नै विवादमा रहेको छ।यहाँ विवादको तर्क गर्नु उचित हुँदैन।रामको जन्म अयोध्यामा भएको थियो।अयोध्या अहिले कहाँ छ?यस विषयमा व्यापक विवाद नै रहेको छ।सामान्यरुपमा दक्षिण एसियामा अयोध्या उत्तर प्रदेशमा रहेको मान्नेहरुको संख्या बढी छ।अयोध्या नेपालमा पनि रहेको मान्यता रहेको छ। बागमती प्रदेशको चितवन जिल्लामा पर्ने माडी उपत्यकामा पनि अयोध्यापुरी गाविस रहेको थियो जुन अहिले माडी नगरपालिकामा विलय भइसकेको छ। आज रामनवमीको तिथिमा माडीस्थित अयोध्यापुरीमा राम जानकीको भव्य प्रतिमा स्थापना हुँदैछ।अब यतातिर पनि आकर्षण बढ्दै जाने देखिन्छ इन्डोनेसियामा पनि अयोध्यापुरी भएको वा यस सित मिल्दो नाम भएको सुनिन्छ र रामको जन्मसम्बन्धी कुराहरु त्यहाँ पनि निकै चलेको पाइन्छ।विश्वको सबैभन्दा ठूलो विष्णु मन्दिर त्यहीँ भएको त्यहाँ पुग्नेहरुले संस्मरणमा उल्लेख गर्ने गरेका छन्।

त्रेतायुगमा विष्णुका वामन तथा परशुराम अवतार पनि भएको देखिन्छ तर मानव रूपमा विष्णुको पूजा हुने पहिलो अवतारको रुपमा रामलाई लिइएको पाइन्छ। विष्णुका सहस्र नाम बताइन्छ।यी नामहरु मध्ये रामको स्थान ३९४ औँ रहेको छ ।कतिपयले शास्त्रहरुबाट के मत निकालेका छन् भने भगवान शिवले ध्यानावस्थामा राम नामकै जप गर्दछन्।लंका जानु अघि रामले रामेश्वरममा शिवलिंग स्थापना गर्दाको प्रसंगमा शिवले रामलाई र रामले शिवलाई आराध्य भनेको प्रसंग पाइन्छ।

रामको अपहरण भएको थियो ? कतै कतै लोकजीवनमा यो मिथक पनि प्रचलनमा रहेको पाइन्छ कि रामको अपहरण अहिरावणले गरेका थिए। अहिरावण चाहिँ रावणका भाइ थिए।उनले राम र लक्ष्मणको अपहरण गरेका थिए ।अपहरण गर्नुको उद्देश्य थियो महामायादेवीलाई बलि दिनु।अपहरण गरेर पाताल लोकमा पुर्याएका थिए तर हनुमानले अहिरावणलाई मारेर राम र लक्ष्मणलाई मुक्त गराएका थिए।

रामको दिदी र बहिनीको विषयमा अन्यौल पाइन्छ।अधिकांशले यस विषयमा खासै उल्लेख गरेका छैनन् तर कतिपयले रामका दिदी र बहिनी पनि रहेको उल्लेख गरेका छन्।राम दशरथ र कौसल्याका पुत्र थिए।दशरथ र कौसल्याकै पुत्री थिइन् शान्ता।चार दाजुभाइ भन्दा जेठी दिदी शान्ता जन्मेको केही वर्षपछि केही कारणले राजा दशरथले अंगदेशका राजा रामेपदकहाँ पठाएका थिए।त्यहाँ नै एक ऋषिलाई दानमा दिइएको उल्लेख पनि पाइन्छ।रोमपद दशरथका साढु थिए। महारानी कौसल्याकी बहिनीको नाम वर्षिणी थियो।वर्षिणीका पति थिए अंगदेशका नरेश रोमपद।रामकी दिदी शान्ताको पालनपोषण उनका मौसामौसीले नै गरेका थिए । रामकी बहिनी भनेर कुबकीलाई मानिएको उल्लेख पाइन्छ तर कुबकीबारे खासै जानकारी कतै पाइन्न।

रामले सीताको परित्याग गरेका थिएनन् भन्ने मत पनि पाइन्छ।रामकथालाई दुःखान्त बनाउन उत्तरकाण्डको रचना निकै पछि गरिएको पनि विश्लेषकहरुको भनाइ छ।

रामले असोज पूर्णिमाको दिन जलसमाधि लिएका थिए।सरयू नदीमा रामले अयोध्याबासीकै अगाडि सबैलाई जानकारी दिएर जलसमाधि लिएका थिए। उनी सँगै भरत,शत्रुघ्न,उर्मिला,मान्डवी तथा श्रुतकीर्तिले पनि जलसमाधि लिएका थिए भन्ने उल्लेख पाइन्छ।

लंकाबाट फर्केर आएपछि राम अयोध्याका राजा बने।उनले जति वर्ष वा काल राज्य गरे,त्यस अवधिलाई रामराज्य भनिन्छ।अहिलेसम्म हिन्दू समाजमा सबैभन्दा प्रचलित शासन व्यवस्थामा रामराज्य नै रहेको छ।रामराज्यमा कस्तो थियो देश र जनताको स्थिति ? यस विषयमा सर्वसाधारणलाई धेरै जानकारी रहेको पाइँदैन। रामराज्यको विषयमा तुलसीकृत रामायणमा यस्ता केही श्लोकहरु भेटिन्छन् :

दैहिक दैविक भौतिक तापा ।
राम राज नहिं काहुहि ब्यापा ।।
सब नर करहिं परस्पर प्रीती ।
चलहिं स्वधर्म निरत श्रुति नीती ।।

अर्थात् रामराज्यमा दैहिक,दैविक र भौतिक ताप कसैलाई पनि व्याप्दैन । सबै मानिस परस्परमा प्रेम गर्दछन् र वेदमा बताइएको नीति मर्यादामा तत्पर रहेर आ–आफ्नो स्वधर्मका पालन गर्दछन्।धर्म आफ्नो चारवटै चरण सत्य,शौच,दया र दानले जगतमा परिपूर्ण भइरहेको छ।सपनामा पनि कहीं कोही पाप गर्दैनन् । पुरुष र महिला सबै रामभक्तिका परायण छन् तथा सबै मोक्षका अधिकारी पनि छन्।

तुलसीदासले अझ यसरी लेखेका छन् :
अल्पमृत्यु नहिं कवनिउ पीरा ।
सब सुंदर सब बिरुज सरीरा ।।
नहिं दरिद्र कोउ दुखी न दीना ।
नहिं कोउ अबुध न लच्छन हीना ।।

रामराज्यमा कोही पनि अल्पायुमा मर्दैनन्,कुनै पीडाबाट कोही कम आयुमा मर्दैनन्।सबैको शरीर सुन्दर छ अर्थात् निरोग छ।रामराज्यमा न कोही विपन्न छन् र न कोही दुःखी नै छन्।कोही दरिद्र छैनन्।यहाँ कोही पनि मूर्ख छैनन् तथा शुभ लक्षणबाट हीन पनि कोही छैनन्। रामराज्यको राज्यको आदर्श,अर्थनीति था न्याय व्यवस्थाको विषयमा पनि धेरै चर्चा भएको पाइन्छ।

सामान्य रामकथा सबैलाई थाहा छ।रामकथाको विस्तार जहाँ जहाँ हिन्दूहरु पुगेका छन्,त्यहाँ सम्म पुगेकोमा सबैको सहमति रहेको छ।

रामायणमै उल्लेख गरिएको छ–हरि अनन्त हरि कथा अनन्ता।हरि भनेका विष्णु हुन् र विष्णुको एक रुप राम हो।रामको बारेमा पनि अनन्त कुराहरु छन्।जनमानसमा अनेक मिथकहरु प्रचलनमा रहेका छन्।यी सबैले रामको प्रियतालाई प्रदर्शन गर्दछन्।रामको बारेमा जति धेरै लेखिएको छ,अझ धेरै लेखिन बाँकी नै छ जस्तो लाग्दछ।

-सञ्जय मित्र, रौतहट

प्रतिक्रिया