सभामुख सापकोटाविरुद्धको ज्यान मुद्दाको सुनुवाइ ‘हेर्न नभ्याइने’मा

इनेप्लिज २०७८ वैशाख ८ गते ११:२६ मा प्रकाशित

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्ध विचाराधीन कर्तव्य ज्यान मुद्दा सर्वोच्च अदालतले आज पनि हेर्न नभ्याइनेमा राखेको छ ।

लामो समयदेखि पेशीमा नचढेको मुद्दा आज संवैधानिक इजलासमा सुनुवाइका लागि पेशीमा राखिएको थियो । तर समय अभावका कारण यो मुद्दा हेर्न नभ्याइएको हो ।

सशस्त्र द्वन्द्वको बेला काभ्रेका अर्जुन लामाको २०६२ वैशाख १६ गते तत्कालीन माओवादीले अपहरण गरी हत्या गरेको थियो । दुई महिनापछि लामाको शव फेला परेको थियो।

हत्यामा सापकोटाको संलग्नता रहेको भन्दै अर्जुन लामाकी श्रीमती पूर्णिमायाले २०६९ मंसिर ७ गते कर्तव्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गर्नु भएको थियो ।

यो रिटको पछिल्लो पटक गत माघ २३ गते संवैधानिक इजलासमा पेशी चढेको भए पनि हेर्न नभ्याइनेमा परेको थियो। यो रिट आजसहित २० औँ पटक पेसीमा चढेको हो ।

काभ्रे प्रहरीले २०६५ साउन २७ गते सापकोटासहित ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दाको उजुरी दर्ता गरेको थियो।

9

प्रतिक्रिया