शुक्रबार, वैशाख २४ २०७८
काठमाडौं ००:५५
वासिङटन डिसी 15:10

राष्ट्रिय भावनाप्रति जागरुक बनाउन सम्पूर्ण नागरिकहरुलाई स्काउटमा जोड्नु पर्छ–मन्त्री राई

इनेप्लिज २०७८ वैशाख ६ गते २२:११ मा प्रकाशित

 


विराटनगर,६ बैशाख।प्रदेश नं १ की सामाजिक विकास मन्त्री उषाकला राईले सम्पूर्ण नागरिकहरुलाई राष्ट्रिय भावनाप्रति जागरुक गराउन स्काउटसँग जोड्नु पर्ने बताउनु भएको छ।

नेपाल स्काउट प्रदेश समितिद्वारा आज यहाँ आयोजित दीक्षान्त समारोहमा प्रदेश स्काउट प्रमुख समेत रहनु भएको मन्त्री राईलाई दीक्षित गरे पश्चात उहाँले उमेरको बन्देज हटाई स्काउटप्रति समर्पित गरेमा नागरिक अनुसासित र नैतिकवान भई समतामुलक समाज निर्माण हुने धारणा राख्नु भयो।मन्त्री राईले प्रदेशका संस्थागत विद्यालयमा स्काउट शिक्षा लागु गराउनका प्रतिबद्ध रहेको बताउँदै मानव जीवनलाई समृद्ध बनाउने काम स्काउटले गर्छ भन्नु भयो।

उहाँले युवामा राष्ट्रवान, भेदभाव विहीन, प्राणिजातलाई माया, बिनम्र , आज्ञाकारी र मन,वचन एवं कर्ममा कटिवद्ध बनाउन स्काउटको भूमिका महत्वपूर्ण रहेको बताउनु भयो।दीक्षान्त समारोहमा नेपाल स्काउटका राष्ट्रिय तदर्थ समितिका संयोजक लोकबहादुर भण्डारीले महिला शसक्तिकरण र हिंसात्मक घटना न्यूनिकरणमा स्काउट शिक्षा महत्वपूर्ण रहेको चर्चा गर्दै यसबाट मुलुकमा सुशासन कायम हुने विचार व्यक्त गर्नु भयो।

नेपाल स्काउटका राष्ट्रिय निर्देशक रामप्रसाद भट्टराईले बालबालिका तथा युवाहरुलाई असल चरित्रवान एवं राष्ट्रप्रेमी बनाउन मुलुकका सम्पूर्ण विद्यालयमा स्काउट शिक्षाको अभियान सञ्चालन गर्ने बताउनु भयो।प्रदेश संयोजक रबि खनालले सिमित विद्यालयमा रहेको स्काउट अहिले ठुलो सङ्ख्याका विद्यालयमा फैलिएको चर्चा गर्दै प्रदेशका पाँच सय बढी व्यक्तिहरुलाई स्काउट लिडरको तालिम प्रदान गरिएको जानकारी दिनुभयो।

दीक्षान्त समारोहमा प्रदेशका १४ जिल्लाका स्काटउका पदाधिकारीहरु , सामाजिक विकास मन्त्रालयका सचिव गोविन्दबहादुर कार्की, उप सचिव अम्विका चौलागाई,स्काउटका सल्लाहकार लगायतको सहभागिता रहेको थियो।

 

प्रतिक्रिया