झुल्कियोस् नब्य किरणका लहरहरु
नविन दिनको प्रारम्भ होस्
उघारियोस् नुतन समय
ढाकोस् बिश्वासको बसन्तले
मौलाओंस् सद्भाव र भरोशा ।
मेटाएर सारा पिडाका धब्बाहरु
बगाएर चोटका कसिंगर
पखालेर रोगका बाछिटा
उडाएर व्यर्थहिनका बाणीहरु ।
फाटेका मनहरु सिलाएर सिङ्गो आकारमा
चिरीएका हृदयहरु फूल झैं कोमल पार्दै
सुकेर बिघ्न बाधाका यो खहरे संकट
फुलेर त्यंही ढकमक लालीगुराँस,
सुनगाभा र सुवासित चमेलीहरु ।
हाँसेर हिमाल,चुलीएर शिखर,
गर्व गर्दै सगरमाथा
मुस्कुराउँदै पहाडी थुम्काहरु
पाखो बारीहरु र हरिया फाँटहरु
आनन्दमा नाच्दै झुम्दै तराई
र सङ्लिएर नागबेली नदीहरु ।
रोग-शोक र कष्टदायी
पवनलाई बिपरित पारेर
हृदयहरु भरी मानवता हुर्काउँदै
समृद्धि,सुख-शान्ती र बिकासको विमानमा
दिनको घाम र रातको जुनतारा संग
शुस्वागत छ नयाँ वर्ष तिमीलाई
तिम्रो अभिनव समय र नूतन पललाई ।
(बिमला ढुंगाना,
हाल भर्जिनिया युएसए)
नयाँ वर्षको हार्दिक मंगलमय शुभकामना!!
प्रतिक्रिया